राजनीति

उबेलाकी सुशीला, अहिलेकी आरजु

0

प्रधानमन्त्री देउवाकाे पत्नी आरजू यतिखेर सबैभन्दा विवादित आलाेचित पात्र हुन् । प्रम देउवाकाे हाेसहवास नरहेकाे सत्ता सबै आरजु राणाले चलाउने गरेकाे आराेपबीच केही दिनअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले पत्नी आर्जु राणाको चाहनामा निर्णय गर्ने गरेको आरोप लगाउँदै भनेका थिए, ‘सरकार म्याडमले चलायो या सरले, त्यो थाहा भएन तर यस्तै पाराले सरकार चलायो भने देश श्रीलंका बन्न धेरै समय लाग्दैन ।’

ओलीको यो भनाइले कार्यकारी पदमा रहेका व्यक्तिको निर्णयमा पत्नीले भूमिका खेल्ने गरेको दृष्टान्त प्रस्तुत गरेको छ । नेपालका धेरैजसो प्रधानमन्त्री र मन्त्रीका निर्णयमा श्रीमती हाबी हुने गरेको आरोप लाग्दै आएको छ ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवामाथि पनि यस्तो आरोप लाग्दै आएको छ । प्रधानमन्त्री देउवाको निर्णयमा पत्नी आर्जु राणाले  भूमिका खेल्ने गरेको नेपालको राजनीतिक वृत्तमा चर्चा भइरहन्छ ।

तर, प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाकी पत्नी सुशीलाले भने कोइरालाको कुनै पनि निर्णयमा हस्तक्षेप गर्दिनथिन् । उनले जीवनकालमा आफ्नै परिवारवाट जेठाजु (मात्रिका प्रसाद कोइराला), श्रीमान् बीपी र देवर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको हेर्न पाइन् । तर पनि राजनीतिक मामिलामा कहिल्यै हस्तक्षेप गरिनन् । बरु दुईतिहाई बहुमत प्राप्त दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका आफ्ना पति बीपीलाई प्रधानमन्त्री नबन्न दबाब दिँदै अनसन बसेकी थिइन् ।

नेपाली कांग्रेसका एक पुराना नेता केशवनन्द जोशीका अनुसार सुवर्ण समशेर राणा राजासँग निकट भएकाले प्रधानमन्त्री र पार्टी सभापति सुवर्णलाई छोडिदिन सुशीलाले बीपीलाई आग्रह गरेकी थिइन् । बीपीलाई श्रीमती सुशीलाले पार्टी सभापति छोडेर पार्टी संगठन बलियो बनाउन सुझाव दिएको जोशी बताउँछन् ।

सुवर्ण समशेर राणा परिवारका निकट सदस्यको रुपमा हेरिँदै आएका केशवनन्द जोशीको बुझाई पनि बीपीकी श्रीमती सुशीलाले पार्टी सभापति पद सुवर्णलाई छोडिदिन आग्रह गर्ने गरेको आफूले थाहा पाएको बताए ।   नेता जोशीले भने “मैले सुने अनुसार सुशीला भाउजुले बीपीलाई बारम्बार छोडिदिनुहोस्, प्रधानमन्त्री र संसदीय दलको नेता बन्न, सुवर्ण समशेरको राजासँग निकटता छ, उहाँलाई छोडेर तपाईं पार्टी संगठनलाई बलियो बताउनु लाग्नुस् भन्ने गर्नुहुन्थ्यो भन्ने सुनेको थिएँ ।”

त्यस्तै तत्कालीन समयमा नेपाली कांग्रेसले दुई तिहाईका साथ जिते पनि तीन महिनासम्म संसदीय दलको नेता चुन्न सकस भइरहेका बेला संसदीय दलको नेतामा उठ्न बीपीलाई सुशीलाले रोकेको बीपीका पुत्र प्रकाश कोइरालाले बताएका छन् । सबै पद आफूले लिँदा इज्जत र प्रतिष्ठामा आँच आउने डरले सुशीला चिन्तित भएको छोरा प्रकाश कोइरालाले बताए ।

“चुनावमा पार्टीले दुई तिहाई मतका साथ जिते पनि तीन महिनासम्म संसदीय दलको नेता चुन्न सकस भइरहेको थियो । त्यो अवस्थाले मेरो आमालाई एकदमै चिन्तित बनाइरहेको थियो । बीपीलाई सरकार चलाउन पार्टी भित्रैबाट असहयोग हुनेछ र उहाँलाई असफल बनाउने काम हुनेछ भन्ने आमालाई लागेको थियो,” प्रकाशले भने, “त्यस्तो अवस्था आयो भने त्यो बेलासम्म  बीपीले जति पनि नाम र इज्जत कमाउनुभएको छ त्यो पनि मेटिएर जानसक्छ भन्ने डर आमालाई थियो ।”

बीपी कोइरालाले आफ्ना परिवार वा आफन्तको आग्रह नमानी देश र जनताको हितलाई ध्यानमा राखेर निर्णय गर्थे । पत्नी सुशीलाले पनि व्यक्तिगत तथा पारिवारिक लाभभन्दा पनि माथि उठेर काम गर्न बीपीलाई प्रेरणा दिने गरेकी थिइन् ।

पशुपति क्षेत्रकाे नयाँ गुरूयाेजना बन्याे, गुरूयाेजना संस्कृति तथा पर्यटनमन्त्रीलाइ हस्तारण ।

Previous article

आरडी वर्मन र पञ्चम दुवैका नवरत्न थिए भुपिन्दर सिंह

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *