डुबानका घटना देशभरी हुने गरे पनि कपनकाे डुबान सँधैभरी विशेष हुनेगर्छ । यसकाे कारण यहाँ डुबानकाे विषयमा राजनीति हुनेगर्छ । डुबानकाे पृष्ठभूमिदेखि समाधानका उपाय केहि थाहा नभएका राजनीतिकर्मीहरूले डुबानलाइ तल्लाेस्तरकाे राजनीति गर्दा कपनप्रति मानिसकाे दृष्टिकाेण नै बिग्रिँदै गएकाे छ । कपन डुबानको समाधानका लागि खोजिएका आजसम्मका अल्पकालीन उपायले प्रभावकारी काम नगरेपछि दीर्घकालीन समस्या समाधानका लागि अब भने महत्वपूर्ण काम हुने भएकाे छ ।
काठमाडाैँ क्षेत्र नं ४ का सांसद गगन थापाको पहलमा केन्द्र सरकार मातहत हुनेगरी एक दीर्घकालीन आयोजना बनेसँगै याे डुबानकाे समस्या पनि हल हुनेतिर लम्मेकाे हाे । ०५५ सालपछि कपनकाे तल्लाे फाँट क्षेत्रमा व्यापकरूपमा बढेकाे बस्तीसँगै खाेला नासिने क्रमले अन्ततः खाेलालाइ सडकमा परिणत गरिदियाे । सङ्ला पानी बग्ने खाेला सडकमा परिणत भएपछि वर्षामा खाेलाले ताण्डव नृत्य गर्ने र त्याे नृत्यमा राजनीतिले पाैडी खेल्न थालेपछि कपन बदनाम बस्तीकाेरूपमा परिणत भैरह्याे । यद्यपि काठमाडाैँमा डुबानकाे विषयमा कपनभन्दा भयावह अरू एकदर्जनभन्दा धेरै ठाउँ छ ।
कपनक डुबानकाे विषयमा यसरी राजनीति हुनुमा कपन नेपाली काँग्रेसका नेता गगन थापाकाे निर्वाचन क्षेत्र पनि भएकाेले हाे । डुबान राेक्न थापाले गरेकाे केहि प्रयास असफल भएपछि यसमा विपक्षी पार्टीले चुनावी राजनीति गर्दै आएकाे छ । तत्कालिन अध्यक्ष मिठाराम अधिकारीले स्थानीय खाेला किनारवासीकाे मागअनुसार कपनका सबै खाेलामा जबर्जस्ती ढल हाल्ने निर्णय गराएपछि सुरु भएको डुबान समस्या समाधान गर्न अल्पकालीन उपायको लागि केन्द्र सरकारकै झण्डै १ अर्ब रुपैयाँभन्दा धेरै खर्च भइसकेको छ । एउटा ढलले नपुगेर २ वटा ढल थप्नेदेखि बक्स कल्भर्ट बनाउनेसम्मका अनेक उपाय अपनाउँदा पनि समस्याको समाधान नभएपछि अहिले यसलाई ठूलै आयोजना खडा गरेर समाधान गर्न लागिएको हो ।
अहिले आनीगुम्बा आसपास क्षेत्रमा बक्स कल्भर्ट बनाउने काम भइरहे पनि यसले डुबान राेक्ने सम्भावना न्यून देखिएसँगै नयाँ पहलकाे शुरूवात गरिएकेा थियाे । यसअघिका सबैखाले प्रयास दीर्घकालको लागि समाधान नभएको भन्दै यो पटक समस्याको दीर्घकालीन समाधान खोज्न लागिएको हो ।
यसको दीर्घकालीन समस्या समाधानका लागि यहाँका खहरे खोलालाई खुला गर्नुको विकल्प नरहेको सो क्षेत्रका जानकारहरू बताउँदै आएका छन् । नेपाली काँग्रेस बुनपा १० इकाइ सभापति नारदमणि घिमिरे मिलनचोकदेखि दक्षिणको भागमा कामनपा ६ हुँदै बग्ने यो क्षेत्रमा खोलाले आकाश देख्नुपर्छ भन्ने पुरानो मान्यता रहेको बताउँछन् । साविक यज्ञमती र चखुन्चा खाेलामा ढल हटाएर खोला खुला गर्नुपर्ने आवाज पनि उठिरहेको छ । नयाँ आयाेजनाले स्थानीयकाे माग र भाेगिरहेकाे समस्यालाइ सबैभन्दा पहिले बुझ्ने प्रयास गर्नेछ । खहरे तथा खाेलाका वरपर बनेका घरकाे अध्ययन गरेर खोलालाई आफ्नो बाटोमा बग्न दिनुपर्छ भन्ने मान्यतालाइ याे आयाेजनाले मजुबत तरिकाले अध्ययन गर्ने बताइएकाे छ ।
खहरे खोलालाई तत्कालीन जनप्रतिनिधिले खोल्सा सम्झिएर ढलमा सीमित बनाउन खोज्दा वर्षको ९ महिना शान्त बसेको खोलाले ३ महिना कसैलाई चैनसँग बस्न दिँदैन । त्यसैले बाँकी ९ महिनाको अवस्था हेरेर यसलाई विश्लेषण गर्दा कपनवासीले अहिलेको नियति भोग्नुपरेको विज्ञहरूकाे आरोप छ । यज्ञमती र चखुँचा खोलालाई खोल्साको रुपमा बुझ्दा तथा व्याख्या गर्दा अहिलेको समस्या भएको स्थानीयको आरोप छ ।
अहिले सांसद गगन थापाको पहलमा सुरु हुन धाेविखाेला करिडाेर र कपन बुढानिलकण्ठ डुबान नियन्त्रण आयोजनामा खोलालाई आकाश देखाउने गरी खुला बनाउने र यसलाई आवश्यक फराकिलो पनि बनाउने उद्देश्य राखिएको बताइएकाे छ । यसको लागि आवश्यक परेको खण्डमा कति घर हटाउनु पर्ने हो ? त्यसको लागि मुआब्जा कसरी दिने ? भन्ने विषयमा पनि यही आयोजनाले अध्ययन गर्ने बताइएको छ ।
कपन डुबानको दीर्घकालीन समस्या समाधानका लागि ठूलो बजेट आवश्यक पर्ने भएकोले केन्द्र सरकारद्वारा नै आयोजना सञ्चालन गरेर अघि बढ्न लागेको बताइएको छ । एकसाता भित्रै घोषणा हुने तयारी भइरहेको सो आयोजनाले स्थानीय छपने, यज्ञमती र चखुंचा खोलालाई पुरानै अवस्थामा फर्काएर दीर्घकालीन समस्या समाधान खोज्ने बताइएको छ ।
बुढानीलकण्ठ नगरपालिकास् वडा नं १२, ११ र १० तथा काठमाडौं महानगरपालिकाको ६ नं वडावासीले डुबान समाधानका लागि खोलालाई आकाश देखाएर वारीपारी बाटाेका साथै बाटाेमा ढल हाल्नुपर्ने माग यतिखेर उठिरहेकाे छ । विगत भएकाे ४८ इन्चको पाइपभित्र सिंगै खहरे खोला समेट्न सकिन्छ भन्ने गलत साेच असफल भइसकेकाेले दीर्घकालीन समाधानमा सांसद थापाकाे पहल प्रभावकारी रहने विश्वास गरिएकाे छ ।
Comments