नदीनालाराष्ट्रियविकास

बाग्लुङः जहाँकाे ८० प्रतिशत खेतियाेग्य जमिनमा सिंचाइ छैन

0

बागलुङ खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन। खेतीयोग्य जमिन नभएर होइन, सिँचाइको सुविधा पुग्न नसक्दा परनिर्भर पर्नुपरेको हो।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङबाट चालु आर्थिक वर्षमा १३७ वटा योजना परेका छन्। यी सबै प्रदेश तथा सङ्घीय सरकारबाट अनुदान प्राप्त योजना हुन्।

सिँचाइका लागि केन्द्र सरकारले सात करोड ५७ लाख र प्रदेश सरकारले ११ करोड ६७ लाख विनियोजन गरेका छन्। तर, प्रभावकारी काम हुन सकेको छैन। जिल्लामा अधिकांश क्षेत्र पाखोबारी र केही भाग मात्रै समथर भूभाग भएको हुँदा सिँचाइको व्यवस्थापन गर्न कठिन देखिएको सिँचाइ डिभिजन बागलुङका निमित्त प्रमुख झकलमान ओझाले जानकारी दिए।

उनले कार्यालयबाट जनताको चाहनाअनुसार काम हुन नसकेको स्वीकारे। “अहिलेसम्म बागलुङमा खेतीयोग्य जमिनको २० प्रतिशत मात्रै सिँचाइ गर्न सकेका छौँ। जिल्ला भौगोलिकरुपमा विकट छ। खेतीयोग्य जमिन धेरै ठाउँमा छरिएर रहेको हुँदा जनताले चाहेअनुसार सिँचाइको व्यवस्थापन हुन सकेको छैन”, ओझाले भने। सिँचाइको पहुँच पुगेका ठाउँमा धान फल्ने क्षेत्रफल पनि बढेको छ।

पोहोर पाँच हजार ८०० हेक्टर क्षेत्रफलमा धान लगाइएकामा यस वर्ष छ हजार हेक्टर बढीमा रोपाइँ भएको थियो। बागलुङ नगरपालिका–४ का टीकाराम सापकोटाले जिल्लामै बढी धान उत्पादन हुने फेदीमा सिँचाइको राम्रो व्यवस्थापन हुन नसकेको बताए। “यहाँ धान फल्ने ठूलो फाँट छ। तर सिँचाइको समस्या छ। धान रोपेपछि पानी पाउनै मुस्किल हुन्छ। कहिले त आकाशे पानीको भरमा खेतमा धान रोप्नुपर्ने अवस्था हुन्छ”, उनले भने, त्यसैले उत्पादन वर्षेनी घटिरहेको छ।”

स्थानीय यामबहादुर केसीले खेतीयोग्य जमिनमा सिँचाइको राम्रो प्रबन्ध नहुँदा परनिर्भर बन्नुपरेको बताए। खोलाबाट खेतसम्म ल्याउने कुलो राम्रो नहुँदा बाली लगाउने बेला सिँचाइकै पिरलो हुने उनले सुनाए। धान, मकै र गहुँ यस क्षेत्रमा राम्रो उत्पादन हुने भए पनि सिँचाइ अभावका कारण हरेक वर्ष उत्पादन घट्दै गएको उनको भनाइ छ। “हाम्रो गाउँ ठाउँमा बालीनाली निकै राम्रो हुन्छ। मान्छे बढ्दै गएपछि खेती गर्ने ठाउँ पनि बढेको छ। पहिले निर्माण गरेका कुलो अहिले साँघुरा भए”, केसीले भने।

बागलुङमा ४६ हजार १४८ हेक्टर खेतीयोग्य जमिन छ। ज्समध्ये ३० हजार ५२३ हेक्टरमा मात्रै खेती हुँदै आएको छ। छ हजार १४८ हेक्टरमा मात्रै सिँचाइको सहज पहुँच छ। ८० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइको सुविधा पुगेको छैन।

बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार ७७५ हेक्टर छ। पछिल्लो समय बसाइँसराइले समेत खेतीयोग्य जमिन बाँझिदै गएका छन्।

बुढानिलकण्ठः ६० वर्षअघि खुल्ला थियाे, उजाड थियाे, अहिले अब्यबस्थित बस्ती छ हरियाली पनि छ

Previous article

नेपाली कृषिमा किसानहरू किन टिक्न सकिरहेका छैनन् ?

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *