काठमाडौंको दक्षिणीभेगमा रहेकी दक्षिणकाली देवी मध्यकालीन समयदेखि नै राज्यको महत्वमा रहेकी देवी हुन् । यी देवीको महिमा र उत्पत्ति विभिन्न भाषा वंशावली ऐतिहासिक सांस्कृतिक अनुश्रुति हस्तलिखित शिलापत्र ताम्रपत्रहरूमा उल्लेख भएको पाउन सक्छौं । ती ग्रन्थहरूमा उल्लेख भए अनुसार श्री दक्षिणकाली माईको स्थापना राजा प्रताप मल्लले गरेका हुन् ।
यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो । यो ऐतिहासिक महत्वले भरिपूर्ण मन्दिर हो । स्वप्नविषे प्राप्त भएको ज्ञानलाई प्रताप मल्लले याद नगरी हिँड्दा दक्षिणकालीमाई कुमारी कन्यामा प्रवेश भई प्रत्यक्ष आज्ञा भयो ‘ मेरो स्वयम्भु मूर्ति अप्रकाशित छ,’ मलाई मूर्तिमान बनाइ स्थापना गर ।’ यसले ऐश्वर्य पाउनुका साथै माहामारी भएपनि निवारण होला भनेको शिलापत्रमा लेखिएको छ । त्यसपछि प्रतापमल्लले उनको मूर्ति निर्माण गर्न लगाएका हुन् । जब मूर्ति निर्माण कार्य पूरा भयो, तब दोस्रो पटक फेरि स्वप्नविषे प्रशन्न भयो ।
यो मूर्ति त मेरो अप्रकाशित ध्यान हो भनी राजाले उक्त मूर्ति आफ्नो दरवार मोहन चोकमा स्थापना गर्न लगाए । त्यसपछि राजाले तान्त्रिक विद्यामा निपूर्ण गुरु नृसिंह लम्बकर्ण भट्ट डाकी उक्त मूर्ति देखाउँदा यो मुर्ति त प्राचीन कालमा उत्पति भएको बताए । पहिलेपहिले यो मन्दिरमा देवीकै मुखमा नरिवल फुटाइने गरेकाले देवीका मुखाकृतिमा केही चोटहरु देखिन्छ । महापूजा वर्षको दुई पटक गरिन्छ । वैशाख कृष्ण त्रयोदशी र भादै कृष्ण अष्टमीका दिनमा पूजा गर्ने चलन छ । क्रमशः शाह वंशीय राजा त्रिभुवनको पालामा २००७ सालमा ईश्वरी मार्ग नामाकरण गरी काठमाडौंदेखि फर्पिङसम्म मोटर सडकको स्थापना गरी उद्घाटन गरियो ।
श्री ५ महेन्द्रको पालामा दर्शनार्थीलाई सहज होस भन्नका लागि माथिदेखि मन्दिरसम्म कोलो ढुंगको सिडी छाप्ने काम सम्पन्न भयो । राजा वीरेन्द्रको पालामा श्री दक्षिणकाली माईको प्रांगणमा मार्वल छाप्ने काम भयो । यहाँ केवल एक मन्दिरमात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएको स्थल पनि छन् ।
चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ । यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन् । उक्त स्थानमा श्री दक्षिणकाली माईको अष्टमातृका विहार गर्न स्थान बनाइएको हो । उनलाई दक्षिकाली माईको आमा हुन् भनी पूजा आराधना गरिन्छ । पहिला निर्माण गरिएको तीन नेत्र भएको सुन्दरकाली राजाको राजकुल दरबार सुन्दरचोकमा षडाम्नाय, दशानाय, षोडशाम्नाय मुर्तिमा चौषठ्ठी योगिनी आवण देवता भएको स्थानमा स्थापना गरी विराजमान गरिएको हो ।
त्यसपछि नेपालका राजा श्री गीवार्णयुद्ध विक्रम शाहबाट श्री दक्षिणकाली माईको नित्य पूजा तथा महापूजाको लागि फफिङ इलाकका भित्र परेको जग्गा ५ सय ४ मुरी खेत राजगुठीमा राखी त्यहाँको आयस्ताबाट उनको पूजाआजा चलाउन भनी १८५६ मा ताम्रपत्र समेत खडा गरी विधिपूर्वक संकल्प गरी पूजा तथा महापूजा चलाइ राखिएको छ ।
Comments