- केशव पाठक
देशभर काँग्रेसले जितिरहेकाे छ । जित्नै नसकिने भनिएका पालिकाहरूमा पनि धमाधम काँग्रेस आइरहेकाे छ । देशभित्रकै एउटा पालिका जाे राजधानीकाे मुटुमा छ त्याे हाे बुढानिलकण्ठ । बुढानिलकण्ठमा चाहिँ काँग्रेसकाे हालत दयालाग्दाे अबस्थामा पुगेकाे छ । काठमाडाैकाे ७ देखि ८ वटा नगरपालिकामा शानदार विजय हासिल गरिरहेकाे नेपाली काँग्रेस बुढानिलकण्ठमा चाहिँ किन यस्ताे ?
बुढानिलकण्ठमा काँग्रेसकाे संगठन नभएकाे पनि हाेइन, कार्यकर्ता नभएकाे पनि हाेइन, लाेकप्रिय जनाधार नभएकाे पनि हाेइन । याे नगरमा काँग्रेसका नेताचाहिँ भएनन् । ठूला नेताका हुक्के र बैठकेमात्र भएका याे नगरपालिकाे पाँचवर्ष यताकाे अबस्थालाइ निर्मम समिक्षा गर्ने हाे भने काँग्रेसमा नेता भएनन् मात्र हैन यहाँ राम्रा र गतिला नेता बनाउन वातावरण नै बन्न दिइएन । अवश्यमेव याे कुरामा राताेपुल दरबार र नारायणस्थान दरबारकाे हात छ ।
काँग्रेसले ०७४ यताका ५ वर्षमा जनताका कुनै समस्या, पीरमर्का व खुशीमा साथमासाथ दिन सकेन । ५ वर्षअघिकाे चुनावमा मेयरमा हारेका तत्कालिन काँग्रेस क्षेत्रीय सभापति राजु श्रेष्ठले पाँचवर्ष नगरपालिकामा टेकेनन् भने पनि हुन्छ । एकदुइवटा कर्मकाण्डीय ज्ञापनपत्र दिने काममा बाहेक जनताका कुनै काममा उनी कतै देखिएनन् । जनताले चाहेकाे बेला उनकाे फाेन सँधै स्विच अफ भयाे । पाँचवर्षसम्म क्षेत्रीय सभापतिसहित तथा मेयरमा हारेका उम्मेदवार नै माेबाइल स्वीचअफ गरेर चीर निन्द्रामा सुतेपछि अरू नेता तथा कार्यकर्ता दृ्ष्यमा देखिने कुरै भएन ।
यसरी सुतेर बसेकाे काँग्रेसलाइ उद्धव खरेलका यावत् विसंगति एवम् भ्रष्टाचारलाइ देख्दै देखेन, यी विषय उसकाे एजेन्डा नै बनेन । काँग्रेससँग नगरपालिकाभित्र कहाँ के छ ? केे भएन ? के हुनुपर्थ्याे ?जस्ताे तथ्याङ्क नै थिएन । यसाे भनाै फेरि स्थानीय चुनाव आउँछ त्याे चुनावमा लड्नुपर्छ वा जित्नुपर्छ भन्ने हेक्कानै भएन काँग्रेसलाइ ।
माेबाइल स्विच अफ गरेर सुत्दासुत्दै अर्काे स्थानीय निकायकाे चुनाव आयाे । चुनाव आएकाे भन्ने थाहा हुननेबित्तिकै एकहुल आकाँक्षीहरू नेताका घर कुर्न पुगे । ५ वर्ष जनताकाे दरबारमा कतै नदेखिएकाहरू काेही राताेपुल दरबार, काेही चाक्सीबारी दरबार, काेही नारायणस्थान दरबार धाउन थाले टिकटका लागि । यहि क्रममा राताेपुल दरबारकाे कृपाले एकजनाले टिकट पाए मेयरमा । राताेपुल दरबारकाले टिकट पाएपछि स्वभाविक हाे अरू दरबारकाे ढाेके, हुक्के, बैठकेहरू बेखुशी भए ।
वडामा चुनाव उठ्नका लागि पनि हरेक वडामा थुप्रै आकाँक्षीहरू देखिए । उनीहरूकाे पनि आकाँक्षाकाे आधार जनताकाे दरबारकाे गएर काम गरेकाेभन्दा कुन दरबारकाे हुक्केहरुकाे निकट हाे भन्ने मात्र थियाे । त्यसै क्रममा एकदुइ वडाबाहेक सबै वडामा अन्तिम अबस्थासम्म टिकट कस्ले पाउने वा किन पाउने बारे अन्याैल रहिरह्याे । त्यसकाे एक महत्वपूर्ण कारण क्षेत्र नं ४ का सभापतिकाे अकर्मण्यता अनि क्षेत्र नं ५ काे भष्मासुर प्रवृत्ति । क्षेत्र नं ४ का सभापतिले ककसलाइ किन वडाकाे चुनावमा उम्मेदवार बनाउने बारे आफ्नाे धारणा बनाउनै सकेनन् उनी महामन्त्री गगन थापा तथा उनका पेटी ठेकेदारका लहैलहैमा कता थिए उनलाइ थाहा नै भएन । उता, क्षेत्र नै ५ का सभापतिकाे विध्वंसात्मक रूप यस्ताे थियाे कि महाधिवेशनमा आफ्नाे टिममा नरहने जाे काेहीलाइ पत्तासाफ बनाउने सक्रिय थिए । त्यसैले गतिलाले भन्दा अगतिलाले टिकट पाए ।
चुनावमा फलानाेलाइ टिकट किन दिएकाे ? भन्ने स्पष्ट जवाफ दिन सकिने अबस्था नभएका पात्रहरू चुनावी मैदानमा उत्रिए । एकाध वडामा इकाइले नै सर्वसम्मति गरेर वडाध्यक्षकाे उम्मेदवारकाे टुङ्गाे लागेकाेले ती वडामा काँग्रेसभित्र घात अन्तर्घात देखिएन । बाँकी सबै वडामा प्रत्यक्ष पराेक्षरूपमा काँग्रेसले नै काँग्रेस नउठ्नेगरी सक्न लागि परे । फलतः कसैगरी नहार्न पर्ने वडा नं २, ९ मा काँग्रेस नमिठाे पराजित भयाे । यी दुवै वडामा काँग्रेसकै मान्छे वडाध्यक्षकाे उम्मेदवार हराउन मरिहत्ते गरेर लागे । उता वडा नं ३ र ६ पनि काँग्रेसले सजिलै जित्ने वडाहरू अरूलाइ सुम्पियाे ।
मुख्यकुरा, यसै क्षेत्रबाट चुनाव जितिरहेका काँग्रेस महामन्त्रीसमेत रहेका गगन थापाले पार्टीभित्रका असन्तुष्टि के कस्ता छन् तिनिहरूकाे तथ्यांक राखेर काम गर्न सकेकाे देखिएन । चुनाव जित्नपर्छ भन्ने हिसाबले गगन थापालाइ बुढानिलकण्ठमा देखिएन । केही कर्मकाण्डीय कार्यक्रममा बाेल्नबाहेक उनले खासै काम केही गरेकाे देखिएन । कतिले गगन थापाले नजित्नलाइ नै मेयरमा विनाेद चालिसेलाइ उम्मेदवार बनाएका हुन् भनेर आलाेचनासमेत भैरहेकाे छ ।
याे स्थानीय चुनावलाइ गगन थापा र राजन भट्टराइबीचकाे ब्याटल भनेर चित्रित गरिएकाे थियाे । ठूलै रिस्क बाेकेर डा राजन भट्टराइले मिठाराम अधिकारीजस्ताे तुलनात्मकरूपमा कमजाेर व्यक्तिलाइ मेयरकाे उम्मेदवार बनाएका थिए । उद्धव खरेललाइभन्दा मिठाराम अधिकारीलाइ उम्मेदवार बनाउनुकाे फाइदा काँग्रेसले उठाउन सकेन । टिकट वितरणपछि उठेका यावत् असन्तुष्टि मिलाउन गगन थापा वा उनका पेटी ठेकदार साथै राजु श्रेष्ठहरू मैदानमा देखिएनन् ।
चुनावकाे माैन अबधि सुरू हुनु ५ घण्टा अघि माओवादीका रविन अधिकारीलाइ काँग्रेस हुल्नुदेखि मेयरका आकाँक्षीहरूकै वडामा काँग्रेसकाे कमजेार प्रदर्शनसम्मका विषयकाे निर्मम समिक्षाकाे आवश्यक्ता छ । वडा नं २, ६ र ९ मा वडाध्यक्षकाे प्रत्यासीकाे हारसँग जाेडिएका सबै सृंखलाबद्ध कुरा एवम् विषयकाे सतहमा बसेर समिक्षा र समाधान खाेज्न आवश्यक छ । वडा नं ३ मा काँग्रेसका वागीले चुनाव जित्नुका पछाडिका विषय समिक्षाकाे विषय हाे । अधिवेशनका तुषदेखि सबै पाेस्टमा आफू नै जानु पर्ने मानसिकताका शिकार भएका पात्रसम्मका विषय अब सडकमा बसेर निर्मम ढङ्गले उठ्न आवश्यक छ ।
त्यतिमात्र हैन याे स्थानीय चुनावमा बुढानिलकण्ठ नगरपालिकाका लागि नेका महामन्त्री एवम् सांसद गगन थापाकाे इन्ट्रेस्ट एवम् च्वाइसकाे विषय राम्ररी र भुइँमै छलफल हुन आवश्यक छ । यता प्रदेश सांसद न्हुच्छेनारायण श्रेष्ठका गतिबिधि, साेचाइ एवम् लक्ष्यका बारेमा पनि गम्भीर छलफल हुन आवश्यक छ । त्यतिमात्रै हैन प्रदेश माहामन्त्री भएका राजु श्रेष्ठ जसले नेतृत्वमा बसेर पाँचवर्ष माेबाइल अफ गरेर सुतिदिँदा काँग्रेस एजेन्डा र उम्मेदवार हुनु पुग्याे अब त्यसकाे निर्मम समिक्षा हुनैपर्छ ।
Comments