राष्ट्रियविकाससमसामयिक

नेपाली कृषिमा किसानहरू किन टिक्न सकिरहेका छैनन् ?

0

नेपालकाे कृषि निरन्तर ओरालो लाग्दै गएकाे मात्र नभै किसानहरू पनि नियमित पलायन हुँदै गएका छन्। नेपालको आफ्नै विशेषतायुक्त र जीवन संस्कृति बनेको कृषि प्रणालीलाई व्यावसायिकका नाममा व्यापारिक बनाइनु र किसानलाई उपेक्षित गरेर बिचौलियालाई पोसिनु नै यो धराशायी हुनुकाे कारण हो।अहिले कृषि कर्म महिलाको भरमा छ। जमीन बाँझो छ। ताप्लेजुङदेखि दार्चुलासम्मका किसान गाउँ छोडेर शहर पसेका छन्। शहरमा टिक्ने शहरमा टिकेको छ, सक्ने विदेश गएको छ, त्यहाँ पनि जान नसक्ने कालापहाडमा, पिथौरागढमा, कुमाउ, गढवाल र दिल्लीमा चौकिदार भएर जिन्दगी गुजारिरहेको छ। त्यस्ता मान्छेहरूको जिन्दगीका बारेमा विचार गरे मात्रै कृषिमा रुपान्तरण किन गर्ने भन्ने विषयमा प्रष्ट हुन्छौं।
यसरी शहर पसेका र विदेशिएका मानिसलाई उतै रगत–पसिना बगाउन लगाउने हो कि घरपरिवार र समाजसँगै बसेर जिन्दगी बिताउने वातावरण बनाउने हो ? अहिले भनिने गरेको समृद्धि बालुवाटार, सिंहदरबारसँग सोझो पहुँच भएका सीमित व्यक्तिको वरिपरि मात्रै आउने हो कि आम मानिसका लागि पनि हो भन्ने जवाफ खोज्दा मात्रै किसानको उत्थान किन चाहिन्छ भन्ने प्रश्नको जरोमा पुगिन्छ।
तेस्रोे, हामीले आज जे खाँदैछौं, कस्तो खाँदैछौं भन्ने कुराको पनि जवाफ खोजौं। नसर्ने ६ वटा दीर्घ रोेग निरन्तर बढेको छ। अस्पतालमा भीड छ। धेरैजसो स्वास्थ्य समस्या विषादीयुक्त खानेकुरासँग जोडिएको छ।
अब, कुरा आउँछ, कृषि प्रणालीमा सुधार र रूपान्तरण कसरी गर्ने ?
कृषि प्रणालीबारे सोच्नेले के बिर्सन हुँदैन भने कृषि आज जस्तो छ, आजको भोलि नै रातारात सुधार हुँदैन। त्यो बन्न वर्षौं लाग्छ, जसरी बिग्रन ४०/५० वर्ष लाग्यो। आजको भोलि कृषि हराभरा हुँदैन, अहिलेको प्रवृत्ति पनि फेरिंदैन।
कृषि प्रणालीलाई सुधारका सन्दर्भमा हामी दुई चरणबाट विचार गरौं, संक्रमणकालीन र दीर्घकालीन। संक्रमणकालमा अहिले जे छ, त्यसैलाई उन्नत बनाउने कुरा सोच्ने हो। किसानले ऋण, अनुदान पाएका छन् ? छैनन् । किसानले दूध पोखेका हुन् ? होइनन्। दूध पोख्ने र कुखुराका चल्ला मार्ने काम बिचौलियाले गरेका हुन्। त्यसैले बिचौलियालाई होइन, किसानलाई अनुदान, ऋण र अरु के के सकिन्छ, शुरूमा त्यसमा सहयोग र लगानी गर्नुपर्छ।
यसका लागि किसान को हो भनेर परिभाषा गर्नुपर्छ। जुन पहिचानको लागि सम्बन्धित गाउँपालिका र वडालाई जिम्मा दिन सकिन्छ। त्यसमा नागरिक समाज, सञ्चारकर्मी र आम मानिसको सहयोगले पनि काम गर्छ।
संक्रमणकालीन अवस्थाको कुरा गर्दा, कृषिको विभिन्न आयामलाई बिर्सन मिल्दैन। शुरुमा एउटा किसानलाई कसरी टिकाउने, खेती गर्न योग्य कसरी बनाउने भनेर हेर्नुपर्छ। बीउ, मल, सिंचाइको उपलब्धता के कस्तो छ भन्ने पाटो पनि बिर्सन मिल्दैन। कृषि प्रसार गर्ने कर्मचारीको हालत, किसानलाई सघाउन जाने संघसंस्थाको ज्ञान र क्षमताको हालत हेरौं, यी हरेक आयाममा उत्तर खोजौं। बीउका कारण कति नोक्सान भएको छ ? बाली थन्क्याउन नजानेर वा प्रविधि नपुगेर कति नोक्सानी भएको छ ? जमीन कति बाँझो छ ? ती सबैको हिसाब निकालेर चुस्त दुरुस्त बनाउने संयन्त्र तदारुकताका साथ बनाउनुपर्छ।
कृषि उत्पादनको आयात, निर्यात, आयात प्रतिस्थापन, भू–राजनीति, यससँग सम्बद्ध संघसंस्था, राज्यको लगानी क्षमता, जनस्वास्थ्य, शिक्षा, वन जस्ता विषयसँग जोडेर एकीकृत ढंगबाट हेरे मात्रै कृषिले आधार पाउँछ। यसले संक्रमणकालीन योजना बनाउन सघाउँछ। यसबाट दीर्घकालमा कृषिबाट नेपाललाई कस्तो बनाउन खोजेको भनेर दिशाबोध हुन्छ। नेपालीलाई खान पुग्ने बनाउन खोजेको कि, कृषि उत्पादन निर्यात गरेर आम्दानी गर्ने बनाउन खोजेको कि, नेपाललाई औद्योगिक देश बनाउन खोजेको कि भन्ने प्रश्नमा प्रष्टता दिन्छ।

बाग्लुङः जहाँकाे ८० प्रतिशत खेतियाेग्य जमिनमा सिंचाइ छैन

Previous article

नेपाल व्यायम मन्दिरका सन्दिप र दीपकलाई गोल्डमेडलसहित इन्टरनेसनल प्रो कार्ड

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *