राजनीतिविचार/लेखसमसामयिक

गगनको ह्याट्रिक एवम् विश्वप्रकाश र प्रदीपको शानदार जीतले दिएको सन्देश

0

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नेतृत्वमा चुनिने अपेक्षाका साथ गगन थापा र विश्वप्रकाशले गरेको तयारीले सफलता पायो । उनीहरू दोस्रो बरीयतामा रहेको महामन्त्री पदमा निर्वाचित भए । तेस्रा उम्मेदवार प्रदीप पौडेल विश्वप्रकाश शर्मासँग पराजित भए । महाधिवेशन अघि २०७८ साल भदौ १४ गते आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको काठमाडौं महानगरपालिका ३० नं। वडामा आयोजित क्रियाशील सदस्यहरूको भेलालाई सम्बोधन गर्दै गगन थापाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका थिए । प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसका संस्थापक नेता बिपी कोइरालालाई आठ वर्षसम्म बन्दी बनाइएको स्थान सुन्दरीजल पुगेर महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए ।

दुई प्रभावशाली युवा नेताको उम्मेदवारी घोषणाले अन्य पदाधिकारीमा पनि युवाहरूलाई नै उम्मेदवार बनाउन वा युवाहरूले आँट गर्ने सहज बाटो खुलेको थियो । महाधिवेशन नेतृत्व छनोटको अवसर मात्र होइन, सैद्धान्तिक बहस, नीति, भावी कार्यदिशा निर्माणसहितको नेतृत्व छनोटको अवसर पनि हो। महाधिवेशनमा युवा नेताहरूको अग्रसरता नहुँदा त्यसको मूल्य पार्टीले मात्र होइन, सारा मुलुकले नै चुकाउनुपर्छ। युवा कांग्रेसले आँट गर्नैपर्छ र इमानदार शीर्ष नेतृत्वले गुट–उपगुट बिर्सिएर युवालाई साथ दिनैपर्छ।

त्यसो त १४ औं महाधिवेशनमा नेपाली काँग्रेसको वडा र क्षेत्रीय तहदेखि नै युवाहरुको नेतृत्व हुँदै आएको थियो । यसको प्रभाव केन्द्रसम्म पुग्यो र महाधिवेशन प्रतिनिधिहरुले गगन थापा र विश्वप्रकाश शर्मालाई विश्वास गरे । अझ विश्वप्रकाश शर्माले त झनै स्वतन्त्र उम्मेदवारी दिएर नै चुनावमा महामन्त्री पदमा निर्वाचित भएर देखाइदिए । अहिलेसम्म पार्टीमा एक भएका गगन र विश्वप्रकाश अब संसदमा पनि एक हुँदैछन् । संसदमा उनीहरुको जोडीमा अर्का उम्दा उम्मेदवार प्रदीप पौडेल पनि जोडिने भएका छन् । यी तीनको जीतले अब जनताले युवाको नेतृत्व खोजिरहेका छन् भन्ने सन्देश दिएको छ ।

गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवारी सन्दर्भमा सार्वजनिक गरेका अभिव्यक्तिहरूमा केही समान कुरामा जोड दिएको पाइन्छ । कांग्रेसले तीनवटा निर्वाचन लगातार जितेर देशलाई एउटा बाटो दिनुपर्छ । यी दुई युवा नेताले कांग्रेसको क्रान्तिकारी छविको पुनरावृत्ति गराउने, पार्टीप्रति युवापुस्ताको आकर्षण बढाउने, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको अगुवा बनाउने, क्रियाशील सदस्यता वितरणको भद्रगोललाई सधैँका लागि अन्त्य गर्नेलगायत व्यवस्थापनका अन्य विषय पनि अगाडि सारेका छन् । मूलतः कांग्रेसलाई नीतिगत रूपमा प्रस्ट र कार्यशैलीमा चुस्त पार्ने योजना सुनिन्छ । कांग्रेसमा वैचारिक शून्यता अन्त्यका लागि युवा नेतृत्व आँट र तयारीका साथ अगाडि आउनैपर्छ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्माले भारी मतान्तरका साथ चुनाव जितेका छन् । योसँगै विश्वप्रकाश शर्मा पहिलोपटक संसद छिर्दैछन् भने गगनको यो चौथो पटकको संसदीय यात्रा हो । अहिलेसम्मको संसदीय भूमिकामा गगनलाई साथ दिन मिनेन्द्र रिजाल लगायतका नेता थिए । उनी यसपालिको संसदमा देखिने छैनन् । तर गगन, विश्वप्रकाश र प्रदीप पौडेलको जोडीले संसदीय भूमिकामा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेर मुलुक र काँग्रेसको कोर्स करेक्सनमा भूमिका खेल्छन् भन्नेमा विश्वास गर्ने ठाउँ देखिएको छ ।

नेतृत्व नयाँ पुस्तामा आउनु जरुरी छ । यसको लागि यो निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा दुवैलाई हार्ने छुट थिएन । यदि यसपालि गगन र विश्वप्रकाशले चुनाव हारेका थिए भने थापा र शर्मा संसद बाहिर रहँदा पार्टीको लागि त घाटन थियो नै । मुलुकको परिवर्तनमा समेत ठूलो नोक्सानी हुने अवश्यम्भावी थियो । सामाजिक आन्दोलनमा राजनीतिक दलका युवाको उपस्थिति कमजोर छ । राजनीतिक पार्टीका युवामा अध्ययनको अभाव, राजनीतिको अपराधीकरण र गुटगत राजनीतिको अभियानमा आकर्षण छ ।

अहिले नेपालको राजनीतिमा आलोचनात्मक चेत भएको युवा जमात निकै कम छ । आत्मबल, सोच, कार्यशैली र क्षमता कमजोर छ। गाउँ, बस्तीमा जताततै युवा र आमजनताका मुद्दा छन् । राजनीतिक मुद्दा छरपस्ट छन् । युवा नेताहरूलाई यसमा कुनै रुचि छैन । उमेरले युवा देखिए पनि सोचमा युवापन, कार्यशैली र क्षमता धेरै कम नेतामा छ। विधिको शासन, लोककल्याणकारी राज्यव्यवस्था, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता नागरिकका आधारभूत आवश्यकतामा राज्यलाई जिम्मेवार युवाहरूले दबाब दिनैपर्छ । युवा नेतृत्वको बहस गर्दा कम्तीमा अहिलेको समाजलाई विभिन्न कोणबाट हेर्न सक्नुपर्छ । राजनीति जब भुइँसँग जोडिँदैन, उसको राजनीतिमा वैधानिकता कमजोर हुँदै जान्छ ।

अहिलेका युवा भुइँसँग जोडिएका छैनन् या जोडिन चाहँदैनन् । राजनीतिमा पनि युवा विचार र युवा सोचको उपस्थिति पातलिएको छ। पढेलेखेका युवा जमात राजनीतिदेखि टाढा हुँदै गएका छन् । नेपालमा मौलाउँदै गरेको राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरणले स्वच्छ छवि भएको व्यक्ति भेट्नै मुस्किल छ । त्यसैले यो संसदमा काँग्रेसबाट संसदमा गएका यी तीन जना नेताले विश्वास जगाएका छन् ।

मजदुरलाइ के काे चुनाव, के काे राजनीति !

Previous article

सुन्दर केवै गाउँ

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *