काठमाडौं । नेपाली लेखक संघ, काठमाडौं जिल्ला कार्य समितीको आयोजनामा साहित्यकार पुनम घिमिरेको नविनतम उपन्यास दृढ पाइलाको विमोचन कार्यक्रम श्रावण १२ शनिवारका दिन प्रज्ञा भवन कमलादीमा सम्पन्न भएको छ । नेपाली लेखक संघका अध्यक्ष बिसु कुमार के.सी. को सभपतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथीका रूपमा वरिष्ठ साहित्यकार स्व. भिमनिधी तवारीकी सुपुत्री डा. वेन्जु शर्मा उपस्थित थिइन् । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसाललगायत डा.रत्नमणि नेपाल, डा. शैलेन्दु प्रकाश नेपाल र डा. ज्ञानु अधिकारी आदि उपस्थित थिए ।
कार्यक्रमलाई सम्बाेधन गर्ने प्रमुख अतिथि बेञ्जु शर्माले उहिले महिला साहित्यकारहरु औंलामा गन्न सकिने मात्र थिए । आजभोलि साहित्य लेखनमा धेरै महिलाहरु जागरुक भएर लाग्नु भएको देखेर खुशी लाग्छ भन्नू भयो र नयाँ उपन्यास लिएर आएकोमा पुनम घिमिरेलाई धन्यावाद दिदै नविनतम कृतिको सफलताको कामना गरेकी थिइन ।
कार्यक्रमका विशिष्ट अतिथी गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालले आफ्नो नगरमा धेरै साहित्यकारहरु बसोवास गर्ने बताउँदै तीमध्ये पुनम घिमिरे पनि एक भएको र उनको नयाँ कृति विमोचनमा सहभागी हुन पाएकोमा खुशी प्रकट गरेका थिए । गोकर्णेश्वर नगर पालिकाले स्थानीय साहित्यकारहरुले प्रकाशित गर्नु भएको कृतिहरु खरिद गरिदिने गरेको, स्थानीय साहित्यिक संस्थाहरुलाई वार्षिक पाँचलाख सम्म अनुदान दिने गरेको र स्थानीय तथा राष्टृयस्तरका साहित्यकारहरुलाइ हरेक वर्ष रु. एक एक लाख राशीको पुरस्कार दिने प्रवन्ध गरेको कुरा वताएका थिए ।
विशिष्ट अतिथी डा. रत्नमणि नेपालले साहित्य लेखनी र साहित्यकारहरुको हितमा मेयर रिसालले गरेको कार्यको लागि नेपाली लेखक संघका तर्फबाट सम्मान र आभार प्रकट गरेका थिए । नेपाली लेखक संघका सह अध्यक्ष डा. नेपालले लेखक संघकी सदस्य पुनम घिमिरेको प्रस्तुत कृति दृढ पाइलाको सफलताको कामना गर्दै भविश्यमा अझ राम्रा राम्रा सिर्जनाहरु गर्न हौस्याएका थिए ।
विमोचित कृतिको वरिष्ठ साहित्यकार तथा समिक्षकहरु डा. शैलेन्दु प्रकाश नेपाल र डा. ज्ञानु अधिकारीले विवेचना र समीक्षात्मक गरेका थिए । समिक्षक द्वयले नै पुनम घिमिरेको साहित्यिक चेत, अभिव्यक्ती र प्रस्तुती उत्कृष्ट रहेको बताउनु भयो भने केही कमि कमजोरीहरुलाई सुधार गर्ने हो भने नेपाली साहित्य भण्डारमा एउटा उम्दा कृतिको रुपमा दृढ पाइला आएको बताएका थिए । पाठकहरुले एउटा पढ्नै पर्ने उपन्यास हो भनेर समेत उनीहरुले सिफारिस गरेका थिए ।
समिक्षककारूपमा साहित्यकार शुसिला पौडेलले पुनम घिमिरेको उपन्यास पढ्दाको अनुभव विचारहरु पाठकीय प्रतिकृयाको रुपमा राखेकी थिइन् । सो अवसरमा उपन्यास समाजका अध्यक्ष श्री शंकर भारती, कथाकार हरिश कल्पित, कृतिकारका पति ध्रुवराज घिमिरे समेतले शुभकामना मन्तव्य राखेका थिए ।
शिखा बुक्सद्वारा प्रकाशित दृढ पाइला उपन्यासकी लेखिका पुनम घिमिरेले पुस्तक लेखन प्रकाशन तथा विमोचन कार्यक्रममा साथ सहयोग र योगदान दिने सबैलाई सविस्तार धन्यावाद ज्ञापन गर्नु भयो। लेखक संघ काठमाडौंकी उपाध्यक्ष विमन्सु पौडेलले संचालन गरेको सो समारोहमा उपस्थित अतिथिहरु तथा आमन्त्रित सहभागीहरुलाई सचिव गणेश भट्टले मन्तव्य सहित स्वागत गरेका थिए ।
Comments