काठमाडौं । पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलन खेलमा बुढानीलकण्ठका दीपक खड्काले १०१ केजी वजन उचाल्दै राष्ट्रिय कीर्तिमान बनाएका छन् । भारोत्तोलनमा दीपकसहित ४ जनाले नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । चारै कीर्तिमान पुरुषको स्पर्धामा बनेको हो । चारमा दुईले आफ्नै नाममा रहेको कीर्तिमान सुधारे भने दुई खेलाडीले अरुको कीर्तिमान तोड्दै स्वर्ण जितेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुष ६५ केजीमा बागमतीका दीपक खड्काले १०१ केजी वजन उचाल्दै राष्ट्रिय कीर्तिमान कायम गरे । उनले ठाकुर श्रेष्ठको ९० केजीको कीर्तिमान भंग गरेका हुन् । प्रतियोगिताको पुरुष ५९ केजीमा सुदूरपश्चिम प्रदेशका सुरेश विष्टले ८६ केजी तौल उठाउँदै राष्ट्रिय कीर्तिमान बनाए । ८५ केजीको कीर्तिमान दीपक तिमल्सिनाको नाममा थियो ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुष ७२ केजीमाथि बागमती प्रदेशका आशिष मानन्धरले १४५ केजी भारवहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे । उनको नाममा १३० केजीको कीर्तिमान थियो । कर्णाली प्रदेशका किरणकिशोर सापकोटा दोस्रो तथा कोशी प्रदेशका सुपर राई तेस्रो भए । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएकोहो ।
Comments