राजनीतिराष्ट्रियसमसामयिक

के नक्कली शरणार्थी प्रकरणमा आरजु समातिन्छिन् भनेर देउवाले ओलीलाई प्रम अफर गरेका हुन् ?

0

काठमाडौं । कुनै आकस्मिक घटना परिघटना भएन सत्ता समिकरण एकदुई दिनभित्र परिवर्तन हुनेछ । असम्भवझैं लागेको सत्ता समिकरण कसरी एकएका परिवर्तनको तहमा  पुग्यो ? भन्ने विषयमा व्यापक चर्चा परिचर्चा सुरू भएको छ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिको उपल्लो तहको नेक्ससको सम्भावनासहित भारतीय नागरिक बेचन झा पक्राउ परेपछि सम्भावित सत्ता समिकरण परिवर्तनको हल्लाले राजनीतिक वृत्तमा तरङ्ग ल्याएको हो ।

बेचेन झा समातिएको अर्कोदिन एकाएक श्रीमती आरजुसहित ओली भेट्न बालकोट पुगेका देउवा र उनीहरूबीच लगभग ३ घण्टा लामो वार्तालापसँगै ‘दालमे कुछ काला’ भन्ने आसय चारैतिर फैलिएको छ । नक्कली शरणार्थी प्रकरणमा देउवा पत्नी आरजु तथा साला भुषण राणाको संलग्नता आधार भएको मानिँदै आएको अबस्थामा सत्ता परिवर्तन गराएर आरजुलाई शक्तिशाली मन्त्री बनाउने देउवाको दाउ हुनसक्ने कुरामा धेरैजना सहमत हुनसक्छन् ।

 नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दा गत वर्ष खुलेको थियो । गत वर्ष नै प्रहरीले गरेको अनुसन्धानले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, निवर्तमान गृहमन्त्री बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डेसम्मलाई जेल पुर्यायो । गत वर्ष पक्राउ परेका व्यक्तिहरूलाई मुद्दा चलाएर जेल चलान गरिए पनि प्रहरीले फाइल भने बन्द गरेको थिएन ।  दोस्रो चरणको अनुसन्धान थालेको एक वर्षपछि उच्च तहका बिचौलिया मानिएका बेचन झा पक्राउ गर्न प्रहरी सफल भयो । शुक्रबार भारतबाट पक्राउ गरिएका झालाई आइतबार जिल्ला अदालत काठमाडौँ उपस्थित गराइएको थियो । बेचन झा तिनै हुन्, जसले भुटानी शरणार्थीको आरोपी रामशरण केसीले दुई करोड रुपैयाँ लिएको बयान दिएका थिए । 

उनीविरुद्ध प्रहरीले संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराध र लिखत किर्ते मुद्दामा अनुसन्धान अघि बढाएको छ। पूर्वगृहमन्त्री  खाँण र सचिव पाण्डेलाई ठगी गिरोहसँग उनले नै भेट गराइदिएका थिए। हाल सोही मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सचिव पाण्डेले लिखित बयानमै यो तथ्य खुलाइसकेका छन् । 

अहिले गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर देशबाहिर छन् । अर्याल र कुँवर नभएका बेला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूनिकटका डीआईजी मनोज केसीमार्फत झालाई पक्राउ लगाएका हुन् । गृहसचिव अर्याल अहिले प्रहरी आईजीपी कुवारसँगै सशस्त्र प्रहरीका आईजीपी राजु अर्याललाई लिएर अमेरिका पुगेका छन् । डीआईजी केसी तिनै प्रहरी अधिकृत हुन्, जसले उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख हुँदा नक्कली शरणार्थी प्रकरणको फाइल खोलेका थिए । 

तत्कालीन समयमा निवर्तमान गृहमन्त्री खाँणलाई पक्राउ गरेर चर्चामा आएका डीआईजी केसीलाई पछि सरुवा गरिएको थियो । तत्कालीन समयमा कांग्रेस, माओवादी र साना दलको गठबन्धन सरकार थियो । खाँणलाई पक्राउ गरेपछि कांग्रेसका सभापति देउवाकै दबाबमा केसीको सरुवा भएको चर्चा चलेको थियो ।

बेचन झाका बारेमा डीआईजी केसीले अपराध अनुसन्धान कार्यालयमै रहेका बेला राजनीतिक कनेक्सन पत्ता लगाएका थिए । त्यसैले अहिले गृहसचिव र आईजीपी देशबाहिर रहेका मैका छोपेर उनलाई पक्राउ गरिएको हो । त्यसो त प्रहरी अधिकृतको सरुवाबढुवा र हाइप्रोफाइल व्यक्ति पक्राउ गर्न दिएको निर्देशनबारे आईजीपी कुँवरले अन्य शीर्ष नेतालाई रिपोर्टिङ गर्ने गरेको भन्दै गृहमन्त्री लामिछानेले आइजीपी हटाउने प्रयास गरेका थिए । गृहमन्त्री लामिछाने प्रहरी प्रमुख परिवर्तन गर्न सक्रिय भएपछि प्रधानमन्त्रीप्रचण्डले नै सम्भव नरहेको जवाफ दिएका थिए ।

नक्कली शरणार्थी प्रकरणमा अहिले पक्राउ परेका बेचन झा यस्ता व्यक्ति हुन् जसले पूर्वगृहमन्त्री खाँडभन्दा माथिको नेक्सस खुलाउन सक्नेछन् । उनले नै नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना मन्त्रिपरिषद्बाट निर्णय गराउने जिम्मा लिएका थिए ।

अहिलेसम्मको अनुसन्धानबाट, नक्कली शरणार्थी प्रकरणमा यसअघि पनि नाम जोडिएकी आरजु राणा देउवातर्फ शंकाको सुई घुम्न सक्छ । किनभने यसअघि पनि सन्देश शर्मा नाम गरेका अर्का आरोपीले पनि आरजुकै नाम लिएर पैसा असुल गरेको अडियो बाहिर आएको थियो । जुन अडियो प्रयोगशाला परीक्षणबाटै पुष्टि भइसकेको छ ।

बेचन झा पक्राउ परेपछि सत्तारुढ र विपक्षी दलका नेताहरूको घरदेखि सिंहदरबार र बालुवाटारसम्म शीर्ष नेताहरूको भेटघाट पनि बाक्लिएको छ । शनिबार कांग्रेस सभापति देउवा पत्नी आरजुसहित ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए । आइतबार मात्रै ओली, प्रचण्ड र रविबीच सिंहदरबारमा छलफल भएको थियो । 

त्यस्तै सोमबार पनि प्रचण्ड र ओलीबीच भेटवार्ता भएको छ । पक्राउ परेका झा आरजु र कांग्रेस नेता कृष्ण सिटौलानिकट मानिन्छन् । आरजुका भाइ भूषण राणासँग बेचनको व्यावसायिक चिनजान थियो । उनीहरू व्यवसायी साझेदारसमेत हुन् । भूषणमार्फत नै उनी आरजुसँग पनि जोडिएका हुनसक्ने आशङ्का गरिएको छ । 

बेचन झामार्फत दोस्रो चरणको अनुसन्धान अगाडि बढाउन खोज्नुले पनि यो मुद्दामा उच्चस्तरीय राजनीतिक नेक्सस रहेको आशंका देखाउँछ  । तर, एक वर्षसम्म प्रमाण नष्ट भएको हुनसक्ने सम्भावना पनि उत्तिकै रहेको देखिन्छ । प्रहरीले बेचनसँग नक्कली शरणार्थी प्रकरणमा राजनीतिक सम्बन्ध कहाँसम्म छ, भन्ने प्रमाणसहित खुलाउन सक्छ कि सक्दैन ? त्यो भने प्रतीक्षाको विषय बनेको छ ।

कफीखेती गर्नेलाई विशेष प्राथमिकताः ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रम

Previous article

केपि ओली नयाँ प्रधानमन्त्री हुने निश्चित, के आरजु गृहमन्त्री हाेलिन् ?

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *