मुख्य समाचारविकाससमसामयिक

बि.सं.१९९५ मा बनाइएको टेकू दोभानको ‘कालो पुल’ र ‘राजघाट तीर्थ’ को कथा

0

काठमाडौं । काठमाडौं उपत्यकाको सुरुवाति इतिहासका कुरा गर्दा बागमती नदीको महत्व सबैभन्दा पहिले आउँछ । बागमतीको पूण्यको कथा इच्छुमती टुकुचाको संगम कालमोचन घाटबाट शुरु हुन्छ । मञ्जुश्रीले स्थापना गरेको शहर मञ्जुपाटनको सीमा मानिन्छ । त्यस पछि बागमती र विष्णुमतीको दोभान टेकू दोभानको आउँछ । पवित्र तिर्थस्थलको रुपमा लिइने टेकू दोभानलाई नेपालको नामाकरणका प्रमुख कारणको रुपमा लिइने ने मुनी ऋषीको बासस्थानका रुपमा लिने गरिन्छ । बागमतीको पवित्र ठाउँ भएको हुँदा यहाँ घाटहरु पनि धेरै छन् ।

थापाथली नजिकै कालमोचन घाट, चन्द्र घाट, जुद् घाट, पुरेत घाट, कैटा घाट, हनुमान घाट, मिसा घाट, पञ्चनारी घाट, टेकु दोभान घाट लहरै घाटहरु छन् । साथै पवित्र मन्दिरहरु पनि छन् । भन्ने नै हो भने पशुपति भन्दा पवित्र ठाउँ हो टेकू दोभान । तर यहाँ न त सरकारले संरक्षणको चासो दिएको छ न त त्यहिका स्थानीयले नै महत्व बुझेको छ । उपत्यकाको बस्ती बिकासको ३००० वर्ष देखि चोखो र निर्मल पानी बहदै आएको बागमतीमा पछिल्लो ५० वर्षमा बागमतीको दूर्गती भएको छ । न त यहाँ चोखो पानी बग्ने गर्दछ न त यहाँको वातावतरण नै शुद्ध भएको छ । नदी यसरी प्रदूषित हुन थाल्यो कि बस्ती नदी किनार पनि दूर्गन्धित हुन थालेको छ ।

उपत्यकाको महत्वपूर्ण नदीका बिभिन्न स्थानमा चन्द्रशम्शेरको शासनकालमा पक्की झोलुङ्गे पुलहरु बने । तर टेकूको कालो पुल भने चन्द्रशम्शेरको समयमा बनेको थिएन । यो पुल भने जुद्धशम्शेरले बनाउन लगाएका थिए । पाटनबाट कृषकहरुले आफ्नो उत्पादित तरकारी बिक्रीको लागि सहजै काठमाडौमा ल्याउन तथा पवित्र तिर्थहरुको दर्शन गर्न सहज होस भनेर पनि यो पुल बनाइएको थियो । थापाथलीमा रातो रङ लगाएको हुँदा रातो पुल अर्थात ह्याउँ ता भनिए झै टेकूको पुलमा कालो रङ लगाइएको हुँदा यसलाई कालो पुल अर्थात हाकु ता भनिने गरियो । हुन त धोबीखोलामा पनि ज्ञानेश्वरबाट सिफल जाने बेलामा चन्द्रशम्शेरले नै बि।सं। १९६३ मा बनाइएको पुललाई पनि कालो पुल भन्ने गरिन्छ । तर यो पुलको नामाकरण भने पछि भएको हो । नेवाः भाषामा भने हाकु ता भन्ने गरिन्छ ।

शुरुमा स्कटल्याण्डको एबरडीन शहरबाट लुइस एण्ड हार्पर कम्पनीबाट स्टीलका सामग्रीहरु ल्याएर स्वदेशी इञ्जिनियर कर्णेल कुमार नरसिंह राणाको रेखदेखमा आधुनिक पक्की झोलुङ्गे पुल बनाउन शुरु गरिएको थियो । पछि जोन एम हेन्डरसन कम्पनी, एबरडीनबाट सामग्रीहरु ल्याएर झोलुङ्गे पुलहरु निर्माण गर्न थालियो । चन्द्रशम्शेरको शासनकाल पछि भने स्कटल्याण्डबाट सामग्री ल्याएर झोलुङ्गे पुलको निर्माण गर्ने कार्य रोकियो ।

बिसं १९९५ फागुनमा जुद्धशम्शेरले टेकू दोभान नजिकै बागमती नदीमा झोलुङ्गे पुल बनाउन जमर्को गरे । ४०० फुट लामो आधुनिक पक्की झोलुङ्गे पुलमा काठमाडौबाट पचली भैरवको पारी ललितपुर तर्फ राज तीर्थमा नुहाउन जानेहरु धेरै हुन्थे । पहिले पक्की पुल नहुँदा निकै समस्या थियो । हिउँदे मौसममा बनाइने काठे पुल वर्षातमा भत्किने गर्दथ्यो । जसले गर्दा बलियो पुलको आबश्यकता हुँदा जुद्धशम्शेरले थापाथलीमा जस्तै पुल बनाउने जमर्को गरे । तर यस पटक भने पुलको निर्माण सामग्री स्कटल्याण्डबाट होइन फ्रान्सबाट ल्याइयो ।

टेकू दोभानको पाटन तर्फ रहेको घाटलाई राज घाट भनिन्थ्यो । यहि राज घाटलाई राज तीर्थ पनि भनिन्थ्यो । पहिले पहिले राजाहरुको मृत्यु पश्चात १३ दिने क्रिया यसै घाटमा गर्ने गरिन्थ्यो । क्रियापुत्रीले यसै घाटमा बसेर सम्पूर्ण बिधि पुरा गर्दथे । तर पछि शाह र राणाहरुको समयमा भने कालमोचन घाटमा क्रिया कर्म गर्न थालियो । यहि राज घाटमा एक कुण्ड थियो जसलाई राज कुण्ड भनिन्थ्यो । यस कुण्डमा बिरेनूनको स्वाद आउने पानी आउने गर्दथ्यो ।

बिरेनूनको औषधीय गुणको कारणले सो कुण्डमा नुहाउँदा पुरानो घाउँ खटिरा, दाद दूबी तथा अन्य छालाको रोगहरु निको हुने हुँदा सो कुण्डमा नुहाउनेहरुको भिड नै लाग्दथ्यो । साथै दशैको टीकामा मेला नै लाग्दथ्यो । यहि कुण्डमा नुहाउन जानेहरुको सहजताको लागि पनि जुद्धशम्शेरले पक्की झोलुङ्गे पुल बनाइदिएका थिए ।

आज बागमती, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

Previous article

गिरीबन्धुमा ओलीलाई चाोख्याउने प्रयत्नमा देउवानिकट कांग्रेस बुद्धिजिवी अरूण सुवेदी !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *