काठमाडौं । बुढानीलकण्ठमा कम्पनी रहेको यात्री मोटरसाइकलले सिप्रदीसँग मिलेर स्वदेशमै विद्युतीय दुई पांग्रे सवारी साधन उत्पादन गर्नका लागि रणनीतिक साझेदारीको रुपमा सम्झौता गरेको छ । देशको बाटो र माटो सुहाउँदो तथा नेपाली ग्राहकवर्गको बदलिँदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गर्ने विश्वासको साथ सिप्रदी र यात्रीले गुणस्तरीय दुइ पांग्रे सवारी उत्पादन गर्न यो सम्झौता भएको हो ।
सिप्रदी मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा सन् १९८२ वर्षदेखि आवद्ध रहेको छ । नेपालमै पहिलो इलेक्ट्रिक मोटरसाइकल पी–० र पी–१ बनाएर चर्चा कमाएको यात्री, नेपाली युवाहरुको बीचमा चर्चित ब्राण्ड हो । यात्री डिजाइन स्टुडियोले उत्पादन गरेको यात्री मोटरसाइकल नेपाली विद्युतीय दुई पांग्रे उत्पादन उद्योगमा कोशे ढुंगा साबित भएको छ ।
देशमा वातावरण मैत्री यातायात प्रणाली विकास एवं विस्तार गर्नुका साथै नेपाली युवा व्यवसायिलाई प्रोत्साहन गर्नका लागि यो सम्झौता प्रभावकारी हुने विश्वास दुवै पक्षले लिएको छ ।
Comments