काठमाडौं । बुढानीलकण्ठका विभिन्न ठाउँमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगन्जको टोलीले एक जनालाई चोरी आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीले असार १२ गते एक जनालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१ निलोपुलबाट सुनिल महतो भन्ने राम पुनित महतोलाई पक्राउ गरेको हो। महतोविरूद्ध चार वटा चोरीका आरोप छन्।
२०८० कात्तिक ६ गते टोखा–४ धापासीस्थित गार्डेन भ्यु रेष्टुरेन्टबाट विभिन्न ब्रान्डको रक्सी चोरी गरेको आरोप छ। त्यतिबेला ५० हजार बराबरको रक्सी चोरी भएको थियो। त्यस घटनापछि सुनिल फरार रहँदै आएका थिए। २०८० माघ १० टोखा–१० प्रयासनगरस्थित आर केवि ट्रेडर्सबाट पनि ४ लाख १० हजार बराबरको रक्सी चोरी गरेको अनुसन्धानमा खुलेको थियो।
त्यस्तै गत जेठ ९ गते बुढानिलकण्ठ–८ भंगालमा रहेको बालुवा डिपोबाट ब्याट्री, ग्राइन्डर मेसिन लगायत चोरी गरेको आरोप उनीमाथि छ। असार ११ गते बुढानिलकण्ठ–७ गल्फुटारमा फेसन फोटो स्टुडियो पसलमा पसल फोडेर एक लाख ९५ हजार र २ लाख बराबरको दुलही लेङ्गा सेट चोरी गरेको आरोप उनीमाथि छ। उक्त उजुरीपछि प्रहरीले खोजी गरी उनलाई पक्राउ गरेको हो। उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। उनले प्रयोग गरेको बि एसी ८३६० नम्बरको कार पनि प्रहरीले बरामद गरेको छ।
Comments