काठमाडौं । आज देशभर विभिन्न कार्यक्रमगरी धान दिवस मनाइँदै छ । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ शनिबार २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो।विक्रम संवत् २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रियधान दिवस मनाउन थालिएको हो ।
कृषि मन्त्रालयले पहिलोपटक राष्ट्रिय धान दिवस काठमाडौं उपत्यकाबाहिर मनाउन लागेको छ । मन्त्रालयले शनिबार चितवनको बछौलीमा डेढ बिगाहामा रोपाइँ गरेर २१औं धान दिवस मनाउन लागेको हो ।मन्त्रालयले चितवनबाट औपचारिक रूपमा सुरु गर्न लागेको २१औं धान दिवस तथा रोपाइँ महोत्सवमा प्रधानमन्त्रीसहित कृषि मन्त्री ज्वाला साह, स्थानीय जनप्रतिनिधिहरू र किसानहरू सहभागी हुनेछन् ।कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेशा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । असार १५ का दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
Comments