काठमाडौँ । सार्वजनिक जमिन दुरूपयोगमा समाचारमा छाइरहने बुढानीलकण्ठ नगरपालिकमा प्लटिङलाई फाइदा हुने गरी खहरे खोला नै सारेको नयाँ घटना सार्वजनिक भएको हो । सार्वजनिक जमिन वा खोला नै मिचेर प्लटिङलाई फाइदा गराउने यो खेलमा स्थानीय जनप्रतिनिधिको प्रत्यक्ष एवम् प्रभावकारी हात रहेको स्थानीयले आरोप लगाएका छन् ।
बुढानीलकण्ठ वडा नं ८ मा रहेको एक खहरे खोलाको सिमाना नै परिवर्तन गरेर प्लटिङलाइ फाइदा दिलाउने काम भएको भन्दै वडा नं ८ निवासी युवा संघका नेता निश्चलले आफ्नो सामाजिक सन्जालमा फोटोसहित बिरोध गरेका छन् । निश्चलले लेखेका छन्, ‘बु.न.पा–८ मा खहरे खोला सारेको अवस्था ‘ । उनले यो विषयमा स्थानीय जनप्रतिनिधिको साँठगाँठ हुनसक्ने पनि जनाएका छन् ।
स्थानीय जनप्रतिनिधिको प्रत्यक्ष सहभागिताबिना खोला सार्ने वा सार्वजनिक जमिन मिच्ने काम हुन नसक्ने तथ्यभित्र बुढानीलकण्ठमा धेरै घटना भएकाले पनि निश्चलले स्थानीय सरकार मौन,जनप्रतिनिधीको साठगाठ ? भनेर प्रश्न गरेका छन् ।
मेयरदेखि अधिकांश जनप्रतिनिधिको मुख्य पेशा नै जग्गा कारोबार रहेको बुढानीलकण्ठ नगरपालिकाका १३ वटै वडामा सार्वजनिक जमिन मिच्नेदेखि खोला मास्नेसम्मका गतिबिधि बेरोकटोक चलिरहेको छ । नगरपालिकामा यसखाले बिबिध असंगति विसंगति हुँदा पनि विपक्षी दलले यस्तो विषयलाई विषय मान्ने गरेको छैन । विपक्षी दल यस नगरपालिकामा जनप्रतिनिधिको सच्चा पहरेदारजस्तो भएको स्थानीयले बताउँदै आएका छन् ।
Comments