काठमाडौं । बिभिन्न क्षेत्रमा नेपालीले श्रमिकलाई लगिरहेको दक्षिण कोरियाले होटल–रेस्टुरेन्ट क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने प्रक्रिया अगाडि बढाएको छ। कोरियाले यसै वर्षदेखि सेवा क्षेत्रमा श्रमिक लैजाने प्रक्रिया सुरू भइसकेको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका अधिकारीहरूले बताएका छन्। यसअघि लामो समयदेखि कोरियाले नेपालबाट उत्पादनमूलक र कृषि क्षेत्रमा श्रमिक लैजाने गरेको थियो। त्यस्तै पानीजहाज बनाउने कामका लागि पनि नेपाली लिन थालेको थियो।
अब सेवा र वन क्षेत्रमा पनि श्रमिकहरू लैजाने भएको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले जनाएको छ।कृषि तथा उत्पादनमूलक क्षेत्रका लागि इपिएस परीक्षा उत्तीर्ण गरेर लामो समयदेखि (सूची) रोस्टर मा नाम रहेका तर रोजगारदाताको छनोटमा नपरेका श्रमिकहरूलाई कोरियाले सेवा क्षेत्र परिवर्तन गर्ने अवसर दिएको थियो।
इपिएस शाखाका अधिकृत कमलराज श्रेष्ठका अनुसार रोस्टरमा ९ हजार ४२८ जनाको लिस्ट थियो। रोस्टरमा भएकामध्ये पनि ३१ डिसेम्बर २०२४ मा म्याद सकिन लागेकाहरूले रोजगारीको क्षेत्र परिवर्तन गर्न पाउने अवसर कोरियाले दिएको थियो।
इपिएस भाषा परीक्षा उत्तीर्ण भएकाहरू दुई वर्षसम्म रोस्टरमा रहन्छन्। त्यो अवधिभित्र रोजगारदाताको छनोटमा नपरेको अवस्थामा उनीहरू कोरिया जान पाउँदैनन्। अर्को पटक जाने प्रयास गर्ने हो भने परीक्षा फेरि दिएर उत्तीर्ण गर्नुपर्छ। रोस्टरको म्याद सकिन लाग्दा पनि रोजगारदाताको छनोटमा नपरेका कृषि तथा उत्पादन क्षेत्रबाट सेवा क्षेत्रको रोजगारीका लागि तीन हजार पाँच सय जनाले आवेदन दिएका थिए।
आवेदन दिनेमध्येबाट कोरियाले जम्मा छ सय ९१ जनाको मात्रै क्षेत्र परिवर्तन गराइदिएको छ। बाँकी पुरानै क्षेत्रमा छन्। अहिले छ सय ९१ जना सेवा क्षेत्रका लागि रोस्टरमा छन्। जसमध्येबाट सात जना छनोटमा परेका छन्। जसमध्ये चार जनाको उड्ने प्रक्रिया अगाडि बढेको श्रेष्ठले बताए। बाँकी छ सय ८४ सेवा क्षेत्रतर्फको रोस्टरमा राखिएको छ।
२०२५ मा सेवा क्षेत्रका लागि पनि छुट्टै कोटा बनाएर श्रमिक लैजाने कुरा कोरिया पक्षले राखेको उनले बताए। यो क्षेत्रसँगै कोरियाले वन क्षेत्रमा पनि श्रमिक लैजाने इच्छा देखाएको शाखाले जनाएको छ। गत वर्षदेखि रूट इन्डस्ट्रीमा पनि श्रमिकहरू लैजान थालेको श्रेष्ठले बताए। उक्त उद्योगमा अघिल्लो वर्ष ३० जना श्रमिक लगेको उनले बताए।
कोरियाले सन् २०२४ मा एक लाख ६५ हजार आप्रवासी श्रमिकहरू लैजाने उल्लेख गरेको छ। नेपालसहित विभिन्न १६ वटा मुलुकबाट कोरियाले इपिएसमार्फत् श्रमिकहरू लैजाँदै आएको छ। नेपालबाट १५ हजारभन्दा धेरै श्रमिक लैजाने अनुमान गरिएको छ।
कोरियाले इपिएसमार्फत् श्रमिक लैजान २००७ मा समझदारी गरेको थियो। सन् २००८ बाट नेपाली श्रमिक यो प्रणालीमार्फत् लैजाँदै आएको छ। यो प्रणालीमार्फत् एक लाख २० हजार हाराहारी नेपाली श्रमिक कोरियामा पुगिसकेका छन्। ५० हजार भन्दा बढी हाल कार्यरत रहेको अनुमान छ।
Comments