- राजनीति/आकाश शर्मा
काठमाडौं । बुढानीलकण्ठ नगरपालिका यतिखेर विपक्षहीन छ । प्रमुख प्रतिपक्षी दल भनिएको कांग्रेस गतिबिधिहीन हुँदा नगरपालिका पूर्णतः भ्रष्टाचार र अनियमितिताको केन्द्र बनेको छ । गत ०७९ मा भएको स्थानीय चुनावमा ठूलो मतान्तरले नेपाली कांग्रेस पराजित हुँदा मतदाताले कांग्रेसलाई नपत्याउनुसँग कांग्रेस हुनुको अनुभूति नगर्नु नै थियो। कांग्रेसले नगरपालिकाभित्रका जनजिवीका, जनसरोकार तथा जनसमस्याका बारेमा एकशब्द पनि नबोल्नु नै कांग्रेस हारको मुख्य कारण थियो ।
कांग्रेस महामन्त्री गगन थापाको ढोका चहारेकै भरमा टिकट पाउने वा नपाउने निणर्य हुने भएकाले पनि यहाँका नेताहरूमा जनतामाझ काम गर्न पर्छ भन्ने सोच विकास हुन नसकेको सहजै भन्न सकिन्छ । गगन थापाको गणेशभक्ति गरेकै भरमा नेता बन्न पाउने सामान्य नियम बसेपछि नेताहरू काम नै रातोपुल(गगन थापा निवास) धाउनु नै मुख्य विषय मान्ने गर्छन् । स्थानीय नेता तथा कार्यकर्ता गगन थापाको मुख ताक्दैमा ठिक्क छन् । उनीहरू आफ्नै आत्मबलले कुनै काम गर्ने अबस्थामा नै देखिदैनन् । विपक्षी दलको भूमिकामात्र नभै सांगठनिक भूमिकामा पनि गगन थापाको मुख ताकेर नै बिताएको देखिन्छ ।
बुढानीलकण्ठका कांग्रेस नेताहरूले नगरपालिकाभित्रको भ्रष्टाचार, अनियमितताका बारेमा बोलेको वा लेखेको एउटा पनि घटना नदेखिनुमा पनि धेरैले महामन्त्री गगन थापामाथि पनि आक्षेप लगाउने गराएका छन् । आरोप लगाउनेहरूले थापा स्वयम् पनि नगरपालिकाका भ्रष्टाचार एवम् अनियमितताका बारेमा बोल्न प्रेरित गर्ने गर्दैनन् भनिन्छ ।
थापामाथि यसरी आरोप लाग्नुको पछाडि स्थानीय चुनाव तथा प्रदेशको चुनावमा कांग्रेसको डरलाग्दो हार तथा संघको चुनावमा भने थापा स्वयम् मार्जिन मतान्तरले बिजय हुनु हो । थापालाई जिताउन बुढानीलकण्ठ नगरपालिकामा एमालेबाट जनप्रतिनिधि भएकै व्यक्तिहरूदेखि एमाले संगठनका कतिपय परिचितहरू नै लागेका कारण थापा नैतिकरूपमा नगरपालिकाको बिरोधमा आफ्नो पार्टी पङ्क्ति प्रयोग गर्न चाहँदैनन् भन्ने गरिन्छ ।
पार्टी संगठनको साना बैठकदेखि तालिमलगायतका सबैखाले काम गर्न अघि महामन्त्री थापाको स्वीकृति तथा लगानी आवश्यक झैँ गरेसँगै पार्टीका गतिबिधि सुन्यप्रायः छ । महाधिवेशन सकिएको साढ़े दुइवर्षमा क्षेत्रीय समितिले कुनै पनि देखिने वा सुनिने कार्यक्रम आयोजना गरेको छैन । क्षेत्रदेखि इकाईसम्मका सांगठनिक अंगहरू अपांगझैँ बनेका छन् । गत चौधौं महाधिवेशनमा महामन्त्री थापाका नाममा सर्वसहमत बनेर पदासिन भएको क्षेत्रदेखि इकाईसम्मका नेतृत्व २ वर्षदेखि महामन्त्रीको मुख ताकेर नै अपांग बनेको छ ।
Comments