विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह प्रजातिको बेसरम झारले ढाकिँदै गएको छ ।नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभयआरण्य क्षेत्र)का रुपमा परिचित घोडाघोडीतालको उत्तर क्षेत्र र पूर्वी क्षेत्र बेसरम झारले ढाकेको हो ।
घोडाघोडी तालको सात दशमलव पाँच हेक्टर क्षेत्रफल मिचाह प्रजाति बेसरमले ढाकेको पक्षी संरक्षण सङ्घका सकजकर्ता हिरुलाल डगौराले जानकारी दिए । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवर्द्धन हुन थालेको छ । घोडाघोडी नगरपालिकाले पर्यटन बोर्ड नै गठन गरी काम गर्न थालेपछि वार्षिक रूपमा ८० हजार बढी पर्यटक घोडाघोडी भित्रिरहेका छन् ।
यसैबीच, उक्त मिचाहा प्रजाति तालको केही भागमा हटाइएको छ । सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट डिभिजन वन कार्यालय पहलमानपुरको वार्षिक कार्यक्रमअन्तर्गत बजेट छुट्याएर मिचाहा प्रजाति बेसरम झार हटाएको डिभिजन वनकार्यलय पहलमानपुरका डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले बताए । ‘हाल तीन लाख बजेट विनियोजन गरी मिचाहा प्रजाति हटाएका छौं,’ अधिकृत ठाकुुरले भने, ‘ताल ढाकिएको सम्पूर्ण क्षेत्रमा हटाउनका लागि बजेट अपुग छ ।’
उनका अनुुसार यो सुुरुआती चरण हो । हाललाई दुई दशमवलव पाँच हेक्टर क्षेत्रफलमा सफाइ गरिएको छ । आगामी दिनमा स्थानीय तह, सुरक्षा निकाय र संरक्षणमा सक्रिय सङ्घसंस्थाहरुले मिचाह प्रजाति नियन्त्रण गर्ने लक्ष्य राखिएको छ । यसअघि मिचाह प्रजाति हटाउने कार्य सिमसार संरक्षण सदुपयोग आयोजना र चरा सरक्षण नेटवर्क कैलालीले गरेका थिए । पछि बजेट अभावका कारण नियमित गर्न नसकेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले बताए ।
उनले भने, ‘बेसरम झार सफाइ गरिएन भने सो क्षेत्र घाँसेमैदानका रुपमा परिणत हुुन जान्छ । हामीले सफाइ सुुरु गरेका थियौँ तर बजेटका कारण नियमित गर्न सकेनौं । सात वर्षपछि डिभिजन वन कार्यालय पहलमानपुरले सफाइ सुुरु गरेको छ । यो निकै राम्रो हो ।’ घोडाघोडी ताल सफाइका लागि सिमसार क्षेत्रमा आश्रित १७ जना स्थानीय खटाइएको थियो । घोडाघोडी तालसँगै यसका २३ वटा सहायक ताल पनि सङ्कटमा पर्दै गएका छन् ।
कोरोना कहर बीच पनि दैनिक रूपमा १०० बढी पर्यटकहरूले घोडाघोडीको अवलोकन गरेका थिए । विश्व रामसार सूचीमा सूचीकृत नेपालका तालमध्ये कैलाली जिल्लाको घोडाघोडी ताल धार्मिक र पर्यटकीय सुन्दर स्थल हो । पूर्वपश्चिम राजमार्ग भएर कैलाली पुग्नेमध्ये घोडाघोडी नपुग्ने विरलै हुन्छन् । नाम मात्र सुनेका पर्यटकहरूको ध्यान पनि यो तालले खिचेको हुन्छ । करीब ४ मिटर औसत गहिराइ भएको घोडाघोडी तालको क्षेत्रफल १३८ हेक्टर रहेको छ । तालको आसपासमा रहेका अन्य १३ वटा ससाना तालहरू समेत गरेर घोडाघोडी सिमसार क्षेत्र भएको छ । घोडाघोडीमा तालैतालले ओगटेको क्षेत्रफल मात्र २४८ हेक्टर क्षेत्रफल जमीन पर्दछ ।
यसको कुल क्षेत्रफल २ हजार ५६३ हेक्टर रहेको छ। तालछेउमै धार्मिक क्षेत्र पनि जोडिएको छ । घोडाघोडी ताल र मन्दिरको अवलोकन दर्शन गर्नका लागि ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरेको संरक्षणकर्मी दीपक शाहले बताए । घोडाघोडी घुमघाम गर्नको लागि पर्यटकहरूलाई कुनै असुविधा हुँदैन । घोडाघोडी ताल नजिक सुखड गाउँमा आधुनिक होटलहरु सञ्चालनमा छन । गाउँको परिवेशमा होमस्टेमा बस्न चाहने पर्यटकहरूका लागि माघी गाउँमा होमस्टे सञ्चालनमा छ । घोडाघोडी नगरपालिकाले यसको संरक्षण सम्बर्द्धनका लागि घोडाघोडी पर्यटन बोर्ड गठन गरेर काम गरिरहेको छ ।
यो क्षेत्रमा बढीभन्दा बढी पर्यटकहरू भित्र्याउन नगरपालिकाले गुरुयोजना तयार गरेको छ । घोडाघोडीमा दुर्लभ वनस्पति र चराहरूका प्रजाति संरक्षित क्षेत्रका रुपमा रहेका छन्। त्यस्तै रैथाने प्रजातिका दर्जनौँ माछा, दुर्लभ रातो टाउके कछुवा र दुर्लभ गोहीको प्रजनन स्थल बनेको छ घोडाघोडी ताल । ताल र सिमसार क्षेत्र वरपर अति लोपोन्मुख मानिने जङ्गली धानसमेत पाइन्छ । घोडाघोडीमा ३१ प्रजातिका माछा, १४८ प्रजातिका चरा, ३२ प्रजातिका पुतली, ११ प्रजातिका गोही, ७ प्रजाति घस्रिने जन्तु, ४५० भन्दा बढी प्रजातिका वनस्पति रहेका छन्। सदरमुकाम धनगढीदेखि १ घण्टा र नेपालगन्जदेखि ३ घण्टामा घोडाघोडी पुग्न सकिन्छ ।
Comments