“कविता”/पार्वती अधिकारी पारू
“मन“
यदि साँच्चै नै बुझ्न चाहन्छौं भने
मेरो मौनतालाई बुझेर हेर
केही बोल्दिन म
मेरो अन्तरहृदयलाई सुनेर हेर ।
उसै पनि यी हातका औंलाहरु
थाकीसके, गलीसके
गुनासा लेख्दालेख्दै
यदि पढ्न सक्छौं भने
त्यही खाली डायरी पढी हेर !
आजकल त धमिल्लिन थालेको छ
मुहारको छाँया चित्र पनि,
सक्छौं भने महशुस गरिदेउ
छल्किरहने आँसुलाई
अनि आँसुकै तीब्र बेगलाई !!
हुन त मैले सोचे जस्तो
तिमीले बुझ्नैपर्छ भन्ने पनि छैन
बस् ! बुझि दिने हो भनें
हृदयको दुखाई थोरै कम हुने थियो !
आखिर !
मन भित्रका रहरहरुको अन्त्य त छैन !
तथापि
फेरि भड्किन चाहन्नन् र मात्रै
मेरा यी पाईतालाहरु !
– कपन, बुढानीलकण्ठ–११
Comments