काठमाडौं । आकाश शर्मा
बुढानीलकण्ठ नगरपालिकाभित्र कति धेरै अनियमितता, अव्यवस्था तथा भ्रष्टाचार छ भन्ने कुरा हालै महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनबाट छर्लङ्ग हुन सकिन्छ । नगरपालिकाको कुनै पनि यस्तो विषय, विभाग तथा पक्ष छैन जहाँ सहज र प्रभावकारी काम भएको होस् । तथापि नगरपालिका कार्यालय, मेयर एवम् वडाध्यक्षहरूलाई भने जेजति नराम्रो गरे पनि आवाज उठाएर. बिरोध गरेर, धर्ना दिएर वा तनाव दिएर हुने खालका कुनै पनि समस्या झेल्न भने पर्दैन । यस नगरपालिकाको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नगरपालिकाका यी सब अनियमिततालाई सहजै पचाइदिन्छ । कांग्रेसलाई नगरपालिकाभित्रका यस्ता अनियमितता, अव्यवस्था एवम् भ्रष्टाचारजस्ता विषय खासमा विषय नै लाग्दैन ।
यसको अर्थ, यहाँ नेपाली काँग्रेस सक्रिय छैन वा अब बुढानीलकण्ठमा कांग्रेस नै बाँकी छैन भन्नेचाहिँ पटक्कै हैन । नगरपालिकाका सबै वडामा कांग्रेस सक्रिय छ । सबै वडामा नेता नै नेता छैन । तर उनीहरूको काम भनेको संघको चुनावमा गगन थापालाई जिताउने अनि बाँकी समय आफू आफू नै लडेर बस्ने ! कसैले कसैलाइ नगन्ने ! एकले अर्काको खुट्टा तान्ने ! उचाल्ने अनि पछार्ने ! यस्ता कर्ममा बुढानीलकण्ठ नगरपालिकाभित्रका अधिकांश कांग्रेस नेताको दैनिकी हो ।
६ वटा गाविस मिलेर ०७० सालमा बुढानीलकण्ठ नगरपालिका बनेपछि भएका ०७४ र ०७९ दुवै चुनावमा काङ्ग्रेसले ‘बेजेती’ तरिकाले हार बोहोरेको थियो । तर यही नगरपालिकाको ठूलो हिस्सा रहेको काठमाडौं क्षेत्र नं ४ मा नेपाली कांग्रेसले ४ वटा चुनावदेखि लगातार शानदार तरिकाले जितिरहेको छ । सुप्रभा घिमिरेले एकपटक तथा गगन थापाले ३ पटक चुनाव जित्दा पनि बुढानीलकण्ठ नगरपालिकामा कांग्रेसले शानदार प्रदर्शन देखाउन सकेको छैन ।
१० कक्षा पास नगरेका एमाले उम्मेदवारले २ विषयमा स्नातकोत्तर गरेका कांग्रेस उम्मेदवारलाई सहजै पराजित गर्दा पनि यहाँका स्थानीय कांग्रेस नेताहरू एकले अर्कालाई सक्नमै व्यस्त छन् । पार्टी संगठन तथा नगरपालिकाभित्र प्रमुख प्रतिपक्षको भूमिकामा सिन्को नभाँचेका स्थानीय कांग्रेस नेताहरू ०८४ को चुनावको टिकटका लागि अहिलेदेखि नै मारमारमा उत्रिएको छर्लङ्ग देख्न सकिन्छ । त्योसँगै करिब २ वर्षपछि हुने पार्टीको महाधिवेशनमा कसरी पार्टीलाई मजबुत बनाउने हैन “कसलाई कसरी सक्ने” भन्ने विषयमा उनीहरू व्यापकरूपमा सक्रिय छन् ।
नगरपालिकाको अनियमितताजस्ता विषयमा सामाजिक सन्जालमासमेत एक शब्द लेख्न नसक्ने स्थानीय नेताहरू ०८४ को चुनावमा “मलाई टिकट नदिए पनि त्यसले टिकट ल्याउनु हुन्न” भन्ने मेसोमा मारामार गर्न सुरू गरिसकेका छन् । जनताका समस्या, जनताका भावनामा कांग्रेसका स्थानीय नेताहरूले कुनै आवाज उठाएको एउटा उदाहरण खोजे पनि भेट्न गारै पर्छ ।
कतिपय स्थानीय नेताहरू जो ०८४ को चुनावमा मेयरको दावी गरिरहेका छन् उनीहरूको सबैभन्दा ठूलो चिन्ता नै उनका गतिबिधि एवम् अभिव्यक्तिले हालका मेयर मिठाराम अधिकारी रिसाउँछन् कि भन्ने ‘पिर’ धेरै देखिन्छ । उनीहरू खुलेर मेयर वा नगरपालिकाका भ्रष्टाचार तथा अनियमितताबारेमा दुई शब्द पनि उठाउन सक्दैनन् मात्र हैन चाहँदैनन् । उनीहरूमा आत्मबल नै देखिदैन । कांग्रेसी स्थानीय नेताहरूमा देखिने यस्ता सुस्तता, अर्घेल्याइँ एवम् आत्मबलको कमीजस्ता विषय जनताले भने चुपचाप बुझिरहेका छन् । अनि जनताले चुनावमा त्यसको राम्ररी हिसाबकिताब गर्ने गरेका छन् ।
यता काठमाडौं क्षेत्र नं ४ का सांसद गगन थापा तथा उनको सचिवालय(?) क्षेत्रभित्रका स्थानीय नेताहरूको यो दरिद्र दृष्यलाई हेरेर सदैव ‘मौन मनोरन्जन’ गरिरहेको देखिन्छ । दरिलो एवम् भरपर्दो नेता निकाल्न गगन थापा स्वयं तथा उनको सचिवालय(?)ले कतै पनि चाहेको पाइदैन । थापा तथा उनको सचिवालय स्थानीय नेताहरूले आफ्नाे ‘जी-हजुरी गरे पुग्यो’ भन्ने खालको आत्मरतिमा मग्न देखिन्छन् ।
पार्टीको केन्द्रिय महामन्त्रीसमेत रहेका थापाले स्थानीय नेताहरूलाई काम र सक्रियताका आधारमा गणना गर्ने गरेको पाइदैन । गगन थापाका भिडियो शेयर गर्ने वा थापा निवासमा पुग्नेहरू नै नेता बन्ने गुणको पर्याय बनेको देखिन्छ । यसै सेरोफेरोमा केही नेता भनिनेहरू मरिहत्ते गरेर गगन थापाको ‘गणेश भक्ति’ मा समर्पित भैरहँदा बाँकी नेता भनिनेहरू उनीहरूसँग डाडिएर ‘बिरालोले खाँबो चिथोरे’ को उखानझैँ बनिरहेको स्पष्ट देख्न सकिन्छ ।
Comments