काठमाण्डौ । नेपालमा नेपाली कांग्रेस पार्टी मात्र यस्ता़ पार्टी हो जहाँ क्षेत्रीय सभापतिले केन्द्रिय महामन्त्रीलाई सिधै ललकार्न सक्छ । अनि सो घोषित चुनौतिवापत उसले तत्काल कुनै मूल्य चुकाउनु पनि पर्दैन । काठमाडौं क्षेत्र न ५ का सभापति श्याम खड्काले क्षेत्रीय सचिव पञ्चकुमारी श्रेष्ठलाई महामन्त्री गगन थापा तथा केन्द्रिय सदस्य प्रदीप पौडेल सम्मिलित एक कार्यक्रममा सहभागि भएको भन्दै स्पष्टिकरण सोधेर सचिवलाई मात्र तनाव दिएनन् महामन्त्रीलाई समेत लल्कारेका छन् ।
काठमाडौं क्षेत्र नं ५ अन्तर्गत कामपा वडा नं ३ मा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो । सो तालिमस्वरूपको सो कार्यक्रममा महामन्त्री थापा तथा केन्द्रिय सदस्य पौडेल सहभागि थिए । वर्तमान राजनीतिक अबस्थामा नेपाली कांग्रेसको भूमिका नामक सो कार्यक्रम व्यापक प्रचारप्रसार गरेर आयोजना गरिएको थियो ।
कामपा ३ का सभापति विषम केसीले आयोजना गरेको सो कार्यक्रममा क्षेत्रीय सभापति श्याम खड्कालाई पनि अतिथिकोरूपमा बोलाइएको थियो तर खड्का भने गएका थिएनन् । आफू नगएको कार्यक्रममा सचिव पञ्चकुमारी श्रेष्ठ गएको भन्दै सभापति खड्काले पत्र काटेर स्पष्टिकरण सोधेका छन् । यद्यपि सभापतिको स्पष्टिकरणलाई सचिव श्रेष्ठले सिधै अस्वीकार गरेकी छिन् । सचिव श्रेष्ठले तपाइँले कुन विधानको कुन धारा अन्तर्गत स्पष्टिकरण सोधेको भनेर प्रतिप्रश्न गर्दै सामाजिक सन्जालमा लेखेकी छिन्, “मैले आफ्नै जिम्मेवारीको दायरामा रहेर सहभागिता हुँ ।“
यसअघि सभापति श्याम खड्काले क्षेत्रीय सभापतिको अधिकार प्राप्त नगरी सो कार्यक्रममा गएर बसेको तथा सम्बोधन गरेकोभन्दै २ दिनभित्र चित्तबुझ्दो स्पष्टिकरण पेश गर्न चेतावनी दिएका थिए । सभापति खड्काले आफ्नो हस्ताक्षरित स्पष्टिकरण पेश गर्ने बारेको पत्रमा चित्तबुझ्दो स्पष्टिकरण पेश नगरे अनुशासनको कार्बाही गर्ने धम्की दिएका थिए ।
पत्रप्राप्त भएपछि सचिव श्रेष्ठले सामाजिक सन्जालमा सो पत्रसहित लेखेको स्टाटस भाइरल भएको छ । क्षेत्र नं ५ नेपाली कांग्रेसका अधिकांश नेता कार्यकर्तालाई ट्याग गरिएको सो स्टाटसमा सभापति खड्कालाई चुनौति दिँदै उनले लेखिन्, “मनोगत विषयमा कसैलाई स्पष्टीकण सोध्ने अधिकार विधानको कुन धाराले कुन तहको नेतृत्वलाई दिन्छ?”
निर्वाचित सचिव पञ्चकुमारी श्रेष्ठको स्टाटसभित्र ६३ वटा कमेन्ट भएका छन् । कमेन्ट गर्ने अधिकांश नेपाली कांग्रेस क्षेत्र नं ५ का परिचित अनुहार देखिन्छन् । सो स्टाटसमा कमेन्ट गर्दै नेपाली कांग्रेस काठमाडौं जिल्ला उपसभापति गोकर्ण केसी लेख्छन्, “तपाइँको साथमा छु” । त्यसैगरी काठमाडौं क्षेत्र नं ५ प्रदेश ख सभापति राजु खड्काले “म तिम्रो साथमा छु” भनेर लेखेका छन् । त्यसैगरी पूर्व क्षेत्रीय सभापति रमेश खड्काले “म तपाईको साथमा छु” भनेर लेखेका छन् ।
सचिव श्रेष्ठको सोही स्टाटसमा लामो कमेन्ट गर्दै नेपाली कांग्रेस कामपा ३ का सभापति विषम केसीले क्षेत्रीय सभापति श्याम खड्कालाई सोधेका छन्, “महामन्त्री प्रमुख अतिथि रहेको कार्यक्रममा तपाईं किन अनुपस्थित हुनुभयो र तपाईंको नजिक्कालाई किन रोक्नुभयो? के तपाईंले पार्टी प्रबक्ता बाहेक अरुलाई नटेर्ने हो?”
कमेन्ट गर्ने सबैले क्षेत्रीय सभापति खड़काका यस्ता खाले विवादस्पद र गैरजिम्मेवार अभिव्यक्तिका कारण संगठन प्रभावित बनेको भनेर चिन्ता गरेका छन् ।
Comments