मूलपानीनजिकैको मनोहरा खोलाले भक्तपुर र काठमाडौंको सिमाना छुट्याउँछ । सधैँजसो तरकारी खेती हुने खोला–किनारका फाँटहरूमा अहिले पनि तरकारी खेती मौलाएको छ । काँठको यो बस्ती बिस्तारै सहरीकणतिर उन्मुख हुँदै छ । स्थानीयका अनुसार एक दशकअघिसम्म यो क्षेत्रमा प्रायः मौसमी खेतीपाती मात्रै हुन्थे ।
मूलपानी बिस्तारै सहरी क्षेत्र बन्दै गए पनि स्थानीयहरूको आम्दानीको स्रोत तरकारी खेती हो । यहाँका स्थानीय किसान चिसोको पर्वाह नगरी बिहानैदेखि खेतबारीमा जान्छन् । मनोहरा खोलाको पीपलबोटनजिकै एउटा जीर्ण पुल छ । त्यो पुल अहिले पनि धेरै किसानका लागि मूलबाटो बनेको छ । खेतबारीमा आवतजावत गर्न किसान त्यही जीर्ण पुलको सहारा लिन्छन् ।
काठमाडौं, भक्तपुर ओहोरदोहोर गर्ने बटुवा र किसान त्यो पुलबाट खोला तरिरहेको देख्न सकिन्छ । त्यो पुलले गन्तव्य छोटो बनाइदिएको छ । बार पनि नभएको त्यो पुलमा मानिस दोहोरो हिँड्न मिल्दैन । त्यसमाथि एउटा पानीको पाइपले पुल झनै साँधुरो बनाएको छ । बिहानको शीतले पुल चिप्लो हुन्छ । र पनि बच्चाबच्ची बोकेका आमा, कोदालो वा खर्पनमा तरकारी बोकेका किसान र कलेज हिँडेका किशोरकिशोरी बिहानैदेखि त्यो पुलमा हिँडिरहेको देख्न सकिन्छ ।
चिसो मौसममा बिहानीको हुस्सुभित्र कहिलेकाहीँ पुल लुक्छ । हुस्सुमा लुकेको पुल पहिल्याउँदै किसान र बुटुवाहरू पुग्छन् । सहर पुग्न लम्किएका बटुवा र खेतमा हिँडेका किसानलाई पुलले तारिदिन्छ । जीर्ण भए पनि त्यो फलामे पुल त्यहाँका स्थानीयको साथी भएको छ । मूलपानी चोकमा बिहानै चिया पिइरहेका एकजना वृद्ध भन्दै थिए, ‘अब पहिलेको जस्तो हुस्सु लाग्न छोड्यो । घर बाक्लियो, हुस्सु पातलियो ।’ नयाँपत्रिका ।
Comments