राजनीतिविचार/लेख

“शुभकामना” दिन अफिस बिदा लिएर बसेँ

0

  • सपना कायस्थ

काठमाडौं । बिहान साढे ५ बजे ब्युँझिएर मोबाइल स्क्रोल गर्दैगर्दा आज आफ्नो वडामा गगन थापा चुनावी घरदैलोमा आउन लागेको खबर पढेँ । घरको सबै धन्दा सकेपछि छोराछोरीलाई विद्यालय पठाएपछि किनकिन आज अफिस जान मन लागेन । श्रीमानज्यूलाइ आज अफिस नजाने बिदा लिने सुनाएँ । श्रीमान् पनि अचम्ममा परेनन्। “गगन थापाकाे घरदैलाे भएर हाेला हैन ?” श्रीमानजीले बुझिहाले । मलाइ गगन थापा मन पर्छ भन्ने उनलाइ थाहा छ ।

म काठमाडौंको एउटा निजी बैंकमा काम गर्छु । महिनामा साप्ताहिक बिदाबाहेक २ दिन अतिरिक्त बिदा पाइन्छ । मेरो दुईदिनको अतिरिक्त बिदा बाँकी नै थियो । त्यसैले आइतबार पूर्वनिर्धारित कार्यालय समय अनुसार साढे ९ बजेभित्र कार्यालय पुग्नुपर्ने म त्यतिबेलासम्म घरमा नै थिएँ । छिमेकीहरु पनि आज बिदा हो र ? भन्दै सोध्दै कुराकानी गर्न आए । मैले सबै बेलिबिस्तार लगाएँ ।

गत असारमा सबै सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर राख्नुपर्ने समाचार आएको थियो । इम्बोस्ड गुणस्तर र भाषाको हिसाबले पनि मलाई मनपरिरहेको थिएन । म अनिवार्य भएपछि पनि कारबाही गर्न नथालेसम्म नहाल्ने सोचमा थिएँ । सामाजिक सञ्जालमा यसको व्यापक विरोध भइरहेको थियो । तर यातायात कार्यालय भने जसरी पनि लागू गर्ने पक्षमा थियो । तर त्यो आवाज सदनमा उठाउने कोही सांसद भेटिएका थिएनन् । त्यही बेला संसदमा गगन थापाले एक मिनेटमा सटिक तरिकाले यसको विरोध गरे । अन्ततः यातायात विभाग घुँडा टेक्न बाध्य भयो । यो एउटा उदाहरण मात्रै हो । जनजीविकाका सवालमा जति पनि कुराहरु उठ्छन् म त गगन थापाले नै उठाएको देख्छु । मलाइ यसैयसै गगन थापा मनपर्छ । तर अहिलेसम्म भाेट हाल्ने साैभाग्य भने पाइएकाे छैन ।

त्यसैले पछिल्लो पाँच वर्ष गगन थापाकाे क्षेत्रमा बिधिवत घरधनी भएर बसे पनि उनलाइ भाेट हालेकाे थिइनाै ।गत स्थानीय चुनावपछि  गगन थापाको कार्यशैली देखेपछि यसपालि दुवै भोट रुखमा हाल्ने निष्कर्षमा हामी बुढाबुढी अलि अघि नै पुगेका थियौं । म धेरै एक्साइटेड भएर कार्यालयमा बिदा नै बसेर उनलाई शुभकामना दिएँ । तर श्रीमानजीले आफ्नो पनि शुभकामना सुनाइदिन भन्दै अफिस जानुभयो ।

पेशाले म बैंकर भए पनि म घरकी गृहिणी पनि हुँ । छोरी मान्छे भएपछि घरको सबै काम गर्नु नै पर्‍यो । मेरा श्रीमान् एउटा मल्टिनेसनल कम्पनीमा काम गर्नुहुन्छ । उहाँको कार्यालय टाढा भएकोले मैले घरको सबै काम सकिसकेपछि बल्ल उहाँ घर आइपुग्नु हुन्छ । त्यसैले एकमानेमा भन्दा दिनभरि म बैंकर हुँ । साँझबिहान म एउटी आमा, श्रीमती र गृहिणी हुँ । तर सामाजिक सञ्जालमा नै सबै सूचना आउने भएकोले म यस्ता राजनीतिक गतिविधिप्रति पूरा सचेत छु ।

५ वर्षअघि काभ्रेबाट काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा घर बनाएर सरेका हामीहरुले अघिल्लो चुनावमा नै मतदाता नामावली काभ्रेबाट काठमाडौं सारिसकेका थियौं । त्यसैले यो काठमाडौं क्षेत्र नं ४ को दोस्रो भोट थियो । त्यसैले अघिल्लो चुनाव हामीले उम्मेदवारको व्यक्तित्व र पहिचान नबुझी मतदान गरेका थियौं । तर यसपालि भने हामीहरु सक्षम र योग्य उम्मेदवारलाई टिकट दिने पक्षमा लागेका छौं ।

धेरैलाई लाग्दो हो कार्यालय नै नगई नगई चुनावी प्रचारमा बस्नुको पछि कुनै स्वार्थ अवश्यपनि हुन सक्छ भन्ने । यही क्षेत्रको मतदाता भएको पाँच वर्षसम्म पनि आजसम्म गगनसँग भेट भएको थिएन । एउटा केन्द्रीय सांसद भएको हैसियतले उनीसँग भेट हुने काम पनि विरलै पर्छ । त्यसैले आजसम्म प्रत्यक्ष भेट पनि भएको छैन । तर उनको युवामैत्री सोच र संसदमा उनको प्रस्तुति देखेर उनी मलाई मन परेको हो ।

हाम्रो पालामा त मुलुक जसोतसो चलिहाल्यो । तर हाम्रा बालबच्चालाई अवसर र अध्ययनको लागि कतै पठाउन नपरोस् भन्ने सोच हो । त्यसको लागि राजनीति स्तरीय हुनुपर्छ । तर अहिलेको नेतृत्वबाट त्यो सम्भव छैन । पछिल्लो असारमा उनले प्रधानमन्त्रीको उम्मेदवार बन्ने उद्घोष गरेपछि उनलाई भेटेरै शुभकामना दिन मन लागेको थियो । त्यसको लागि चुनावी घरदैलोको समय नै उपयुक्त हुने देखेर कार्यालय नै बिदा लिएर बसेकी हुँ । आज शुभकामना पनि दिएँ । उनी प्रधानमन्त्री बनून् । विकृत राजनीतिलाई सही ट्रयाकमा ल्याउन सकून् । यही छ शुभकामना ।

आँट, उर्जा र शैली

Previous article

धान पकेट क्षेत्रका किसान चामल किनेर भात खान्छन् !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *