काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेकपा एमालेले भावी प्रधानमन्त्रीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेर चुनावी मोर्चामा होमिएको छ । अन्य कुनै पनि पार्टीले औपचारिक रुपमा यस्तो घोषणा नगरे पनि अघिल्लो प्रतिनिधि सभाबाट झण्डै दुई तिहाइ मतका साथ प्रधानमन्त्रीमा निर्वाचित ओलीले आफ्नै कारणले साढे २ वर्षमा सत्ताबाट बाहिरिनु परेको थियो ।
एमालेले भावी प्रधानमन्त्रीका उम्मेदवार अघि सारेर चुनावी माहोलमा होमिँदै गर्दा सत्तारुढ गठबन्धनले भने अहिलेसम्म सिटको बाँडफाँट र कसको नेतृत्वमा सरकार बनाउने ? भन्ने समेत यकिन गरेको छैन । केही समयअघि आधा कार्यकाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने र बाँकी आधा कार्यकाल नेपाली काँग्रेसका नेता प्रधानमन्त्री बन्ने सम्झौता भएको थियो । यहीबीच नेपाली काँग्रेसमा पनि कस्ता व्यक्तिलाई प्रधानमन्त्री बनाउने ? भन्ने कुरा चर्चा र चासोको विषय बन्न थालेको छ ।
गत साउनदेखि यकिन नभएको गठबन्धनको साझा प्रधानमन्त्री अहिलेसम्म पनि निर्क्यौल भएको छैन । यस्तो अवस्थामा गत असारमा प्रधानमन्त्रीमा आफू सक्षम भएको र मंसिरको चुनावपछि संसदीय दलमा लड्ने गगन थापाको घोषणाले भने धेरै सम्भावनाको बाटो खोलिदिएको छ । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले चुनाव जित्नुमा पनि धेरै हदसम्म राजनीतिक वितृष्णा मुख्य कारण रहेको बताउने गरिन्छ । त्यसैले अब प्रधानमन्त्रीको चयन गर्र्दा नातावाद कृपावाद गर्ने हो भने काँग्रेस र आम पार्टी पद्धतिप्रति नै जनताको विश्वास कम हुने जोखिम बढ्न थालेको छ । त्यसैले काँग्रेसले प्रधानमन्त्रीको उम्मेदवार चयन गर्दा अब पुरानै मान्छे दोहोर्याउनुहुन्न भन्ने धेरैको माग छ ।
केहीदिन अघि गगन थापाले घरदैलो कार्यक्रममा नेतृत्व हस्तान्तरण अन्य पार्टीमा अहिलेसम्म सम्भव नभए पनि काँग्रेसमा सम्भावना कायमै रहेको दाबी गरे । गगनले प्रधानमन्त्रीमा उम्मेदवारी घोषणा गरेसँगै काँग्रेसका अन्य नेताहरूले पनि चुनावपछि संसदीय दलमा उम्मेदवारी दिने घोषणा गर्न थालेका छन् । अर्थात् बुढापाका नेताहरूको एकछत्र शासनमाथि गगनले विस्तार हुने झण्डा फहराएका छन् ।
दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क चुङ हीको भिजनबाट कोरिया ६ वर्षको समयमा नै आर्थिक हिसाबले कायापलट भएकाे थियाे । विगतको इतिहास हेर्दा हाम्रो देशले कोरियालाई कुनै दिन खाद्यान्न सहयोग गरेको थियो भनेर सुन्दा पत्याउन गाह्रो पर्न सक्छ । सन् १९४५ मा जापान बाट स्वतन्त्र भएपछि १९५० देखि १९५३ सम्मको दुई कोरियाबीचको युद्धले कोरियाको अर्थतन्त्र तथा सामाजिक अवस्था ध्वस्त भएको थियो । सन् १९६० को दशकमा विश्वमा गरिब भनेर चिनिने कोरियामा आज विश्वभरबाट मान्छेहरु रोजगारीको लागि जाने गर्र्छन् । यो एउटै नेता पार्क चुङ हीको भिजनबाट सम्भव भएको हो । यसरी विश्वमा अनेकौं उदाहरणहरु भेटिन्छ, जुन मुलुक एउटा भिजन भएका नेताहरुले केही वर्षमा नै आमूल परिवर्तन ल्याउन सक्छन् ।
अहिले नेपालमा पनि महाथिर वा पार्क चुङ जस्ता नेताहरुको आवश्यकता देखिएको छ । दशकौंसम्म चलेको पार्टीगत पद्धतिबाट सोचे जस्तो भिजन भएको मान्छे नआउँदा मुलुक जस्ताको त्यस्तै अवस्थामा रह्यो । २०१६ सालमा भिजन भएका वीपी कोइराला आउँदा अन्तर्राष्ट्रिय सम्बन्ध विकास, त्रिभुवन विश्वविद्यालय जस्ता प्राज्ञिक संस्थाहरुको स्थापना, भौतिक विकासको आधार तय जस्ता अनेकौं उल्लेख्य कामहरु भए । पञ्चायती शासन कालमा राजा महेन्द्र, २०५२ मा मनमोहन अधिकारी, २०५६ मा कृष्णप्रसाद भट्टराई, २०७२ मा सुशील कोइराला आदि एकपटक छोटो समयको लागि प्रधानमन्त्री भए पनि उनीहरुले उल्लेखनीय योगदान दिएर गएका छन् । त्यसैले एकपटकको लागि होस् या पटकपटकको लागि भिजन भएका नेताहरुले इतिहास रचेर जाने गरेका छन् । त्यसैले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि यस्तै भिजन भएका नेताहरु आवश्यक पर्ने गरेको छ ।
अहिले नेपाली काँग्रेसमा पनि यस्ता भिजन भएका नेताहरु प्रधानमन्त्रीको रुपमा खोज्नुपर्ने अवस्था आएको छ । काँग्रेसमा अहिले तत्काल सम्भावना भएका नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा छन् । उनीहरुले प्रतिनिधि सभा सदस्य निर्वाचन जितेर फेरि पार्टीको संसदीय दलमा पनि चुनाव जितेको खण्डमा मात्रै उनीहरु प्रधानमन्त्रीको लागि दाबेदार हुन सक्छन् । तर युवा भनिएका नेताहरु समेत अवसरको लागि पुरानै गुटउपगुटमा रमाउँदा काँग्रेसले भावी प्रधानमन्त्रीमा भिजन भएका नेतालाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने सम्भावना अत्यन्त कम छ ।
यसरी भिजन बोकेका गगनले उम्मेदवारी घोषणा गरेसँगै मुलुकभर दोस्रो पुस्तालाई प्रधानमन्त्री बनाउनु पर्छ भन्ने धारणा अघि बढ्न थालेको छ भने काँग्रेसभित्र पनि अर्को पुस्ताले नेतृत्व पाउनुपर्छ भनेर आवाज उठ्न थालेको छ । चुनाव जित्ने निश्चित भएकाहरूले आफू प्रधानमन्त्रीको उम्मेदवार बन्ने भन्दै घोषणा गर्न थालेका छन् । यसले गगनका कारण मुलुकमा नै नेतृत्व परिवर्तनको आँधी आउन थालेको विश्लेषण गर्ने गरिएको छ । यो आँधी गगनको प्रधानमन्त्रीमा उम्मेदवारी घोषणा गर्ने आँटले नै सिर्जना गरेको हो ।
Comments