काठमाडौं । मंगलबार ऐतिहासिक तामाङ बस्ती भएको बुढानीलकण्ठ नगरपालिकाको तौलुङमा नेका महामन्त्री गगन थापाले घरदैलो गर्दै पुगे । साथमा थिए प्रदेशतर्फ गठबन्धनका उम्मेदवार कुसुमकुमार कार्की । संयुक्त रुपमा चलिरहेको घरदैलो कार्यक्रममा ठूलो संख्यामा स्थानीयको सहभागिता थियो । सोही घरदैलोको क्रममा केही रोचक घटनाहरु पनि देखापरे ।
बुढानीलकण्ठ नगरपालिकाको १ नं वडामा पर्ने यो क्षेत्रमा स्थानीय तहको मतलाई हेर्ने हो भने एमालेले चुनाव जितेको वडा हो । तर एमालेको सक्रिय कार्यकर्ताको परिवारहरुले समेत गगनलाई न्यानो सत्कार गर्दै प्रधानमन्त्री हुन आशीर्वाद दिएको घटना मंगलबारको घरदैलो कार्यक्रममा देखिएको घरदैलोका एक सहभागीले काठमाडौंखबरलाई जानकारी दिए । उनीहरुले यसपालिको भोट भावी प्रधानमन्त्रीलाई भन्दै आफ्नो भोट खेर नजानेमा ढुक्क रहेको समेत बताएका थिए ।
गगन आफैंमा बालबालिकाप्रेमी मान्छे हुन् । बाटोमा हिँड्दै गर्दा बालबालिका देखे भने गइरहेको गन्तव्य छाडेर बालबालिकालाई चकलेट दिन पुग्छन् । यो चुनावको मुखमा मात्रै होइन, हरेक समय उनको स्वभाव नै यस्तै हो । संसदमा गर्ने उनका भाषणहरुमा बालबालिकाको प्रसंग आइरहेको हुन्छ । यसले पनि उनी बालबालिका प्रेमी हुन् भन्ने देखाउँछ ।
पछिल्लो समय घरदैलोमा हिँड्दै गर्दा उनलाई बालबालिकाले समेत उस्तै शुभेक्षा दिएको पाइन्छ । मंगलबारको घरदैलो कार्यक्रममा एक बालिकाले गगन थापालाई फूल दिँदै प्रधानमन्त्री बनेको देख्न पाइयोस् भन्दै शुभेक्षा प्रकट गरिन् । सँगै रहेकी उनकी बुढी हजुरआमाले पनि गगनलाई टाउकोमा हात राख्दै प्रधानमन्त्री बन्ने आशीर्वाद दिएर पठाए ।
पछिल्लो समय गगन थापाको घरदैलोमा सांसदको लागिभन्दा पनि प्रधानमन्त्री बन्नको लागि आशीर्वाद र शुभेक्षा प्रकट गर्नेहरु धेरै हुने गरेका छन् । गगनले गरेका विकास निर्माणका कारण पनि उनलाई सांसद जित्न कठिन नरहेको धेरैको विश्लेषण पाइयो । प्रधानमन्त्री बन्न आशीर्वाद दिनेहरुमध्ये केहीलाई काठमाडौंखबरले गरेको प्रश्नमा उनीहरुले सांसद जित्न गगनलाई त्यति कठिन नदेखेरै प्रधानमन्त्री बनेको देख्न पाइयोस् भनेर आशीर्वाद दिएको बताएका छन् ।
सरकारको नेतृत्वमा नयाँ युवाको खोजी भइरहेको बेलामा गत असार अन्तिम साता नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चुनावपछि आफू प्रधानमन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका थिए । दोस्रो पुस्ताका कुनैपनि नेताले यो हिम्मत गर्न नसकिरहेको बेलामा उनले चुनाव अघि नै यस्तो घोषणा गरेका थिए । यो घोषणाले उनलाई आफ्नै दलका अरु खेमाका मान्छेले असहयोग गर्ने जोखिम रहेको भनेर विश्लेषण गर्ने गरिएको भएपनि पछिल्लो समय क्षेत्र नं ४ को राजनीति झनै एकीकृत हुँदै गएको छ । बरु गगनलाई भोट माग्न जाँदा भने हरेक दिन प्रधानमन्त्री बन्न शुभकामना दिनेहरुको भने ओइरो लाग्ने गरेको छ ।
यही क्रम मंगलबार ऐतिहासिक तामाङ बस्तीमा पनि देखिएको हो । वडा नं १ को विकासमा विगतदेखि योगदान पुर्याउँदै आएका थापासँगै घरदैलोमा नेपाली काँग्रेस, एकीकृत समाजवादीका साथमा माओवादी केन्द्रका नेता कार्यकर्ता सहभागी थिए । बुढानीलकण्ठको वडा नं १ माथिल्लो र तल्लु गरी दुइ तौलुङ गाउँ तथा आसपासका नयाँबस्ती समेटेर बनाइएको छ । यस वडामा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास पनि रहेको छ ।
Comments