राजनीतिविशेषसमसामयिक

“प्रधानमन्त्रीमा गगन” भन्ने विषयले पलाएको ‘आशा’ !

0

  • आभुषण पन्त/विचार-दृष्टिकाेण

कक्षा १२ मा पढ्दै गर्दा साथीहरुको लहैलहैमा लागेर मैले पनि न्यूरोडमा डिभी भर्नको लागि जाने निधो गरेँ । मसँगै मेरै सहपाठीले पनि डिभी भर्ने निधो गरेका थिए । त्यतिबेला मलाई डिभी किन भर्ने ? अमेरिका गएर के हुन्छ ? नेपालमा बसेर के हुँदैन ? भन्ने केही पनि जानकारी थिएन । त्यतिबेलासम्म डीभी भर्नको लागि फोटो खिचेबापत १०० रुपैयाँ लिने चलन थियो ।

त्यतिबेलासम्म मलाई न त राष्ट्रवादको भूत चढेको थियो न त विदेश पलायन हुने हुटहुटी नै । साथीभाइको लहैलहैमा लागेर न्यूरोडमा डिभी भर्न भनेर गएँ । गाउँबाट एक वर्षअघि काठमाडौं आएकोले जागिर खाने कुरै थिएन । सरकारी होस्टेलमा बस्थें । त्यसैले खाजाको लागि पनि कहिले सीमित रकम हुन्थ्यो त कहिले भोकै बस्नु पर्ने । त्यो दिन १०० रुपैयाँ लिएर डिभी भर्न भनेर निस्किएँ । तीनधारा संस्कृत छात्राबासबाट न्यूरोड गएको मैले असनमा पुग्दा डिभीको मोहले भन्दा पनि मःमको बास्नाले बढी तान्यो । म डिभी भर्न छाडेर त्यही मःम खाएर फर्किएँ । सँगैको साथीले गएर भ¥यो । उसको पनि परेन ।

यो प्रसंग यसकारण जोड्दैछु कि मलाई डीभी भर्ने, अमेरिका जाने भन्दा पनि नेपालको यही सिस्टमसँग जुधेर नेपालमा नै केही गर्ने हुटहुटी थियो । म राष्ट्रवादलाई मिथ्या मान्छु । तर मातृभूमिको विकासमा आफूले केही योगदान दिनुपर्छ भन्ने मलाई लाग्छ । त्यसैले मैले विदेश पलायन हुने सोच कहिलै राख्दा पनि राखेको थिइनँ । तर पछिल्लो एक वर्षदेखि मेरो मन भड्किन थालेको छ । मलाई नेपालको सिस्टमदेखि यति विरक्त लाग्न थाल्यो कि जतात्यतैको अव्यवस्थाले बरु विदेशै जानुपर्छ कि के हो जस्तो लाग्न थालेको छ । तर यो सोचलाई पनि केही महिनाअघिदेखि फरक ढंगले सोच्न थालेको छु ।

म अहिले चुनावको सम्मुखमा गगन थापाको चुनावी अभियानमा आफ्नै सुरमा दौडधूपमा छु । घर चितवन भएकोले मैले उनलाई भोट हाल्न त पाउँदिन । उनीसँग मेरो अहिलेसम्म चिनजान भएको पनि छैन र भेटेको पनि छैन । तर पछिल्लो घरदैलो कार्यक्रममा हरेक दिन म पनि सहभागी हुने गरेको छु । यसको कारण हो म उनी प्रधानमन्त्री भएको देख्न चाहन्छु । त्यसैमा आशाको दियो बल्नेछ भन्ने विश्वास बोकेर म चुनावमा झण्डा बोकेर हिँडेको छु ।

पारिवारिक पृष्ठभूमिलाई हेर्ने हो भने मेरो घर चितवनको क्षेत्र नं १ मा पर्छ । मेरो परिवार पहिलेदेखि नै एमाले । अहिले पार्टी फुटेपछि स्वतन्त्र भएर बस्नु भएको छ । तर एमालेमा पटकपटक एउटै व्यक्तिले अवसर पाउने गरेको देखेपछि मलाई लाग्यो कि एउटै स्वाद पटकपटक किन खाने ? तर एमालेमा ओलीलाई टक्कर दिने हिम्मत कसैमा देखिएन । गत असारमा काँग्रेस महामन्त्री समेत रहेका गगनले प्रधानमन्त्रीको दाबी गरेपछि भने म उनीप्रति थप आकर्षित भएँ । कमसेकम एउटा युवामा त प्रधानमन्त्री हुन्छु भन्ने आँट रहेछ । भनेर म उनकै लागि दैनिक भोट माग्न जाने गरेको छु ।

परिवार कट्टर एमाले भएपनि मैले जतिपनि भोट हालेको छु उम्मेदवार बनेर भोट हालेको छु । अहिले पनि गगनको चुनावी अभियानमा हिँडेको समाचार सुन्दा धेरैले मलाई धिक्कार्लान् या पार्टीका नेता कार्यकर्ताले लोभ र डर पनि देलान् । तर नेपालमा केही हुँदैन भनेर हिम्मत हारिसकेको ममा ऊर्जा थप्ने काम र आशावादी बनाउने काम गगनको प्रधानमन्त्री पदको घोषणाले गरेको छ । यो भ्रष्ट सिस्टममा बस्न रमाएकाहरुले यही पालि गगनलाई प्रधानमन्त्री दिन्छन् दिँदैनन् ? भन्ने कुरा तपसिलको कुरा होला । तर गगन थापाले आँटेपछि यो पूरा भएरै छाड्छ भन्ने कुरा उनले पार्टीको महामन्त्री बन्दाको समयमा पनि देखाइसकेका छन् ।

त्यसैले मेरो आशाको केन्द्र गगन थापा हुन् । उनले प्रधानमन्त्री बन्न सके पनि नसके पनि युवाहरुमा आँट दिएका छन् । सिधै अब हामी पनि राम्रो एजेण्डा बोकेर प्रधानमन्त्री नै ताकेर हिँड्नुपर्छ भन्ने हिम्मत गगनले नै दिएका छन् । त्यसैले उनलाई प्रधानमन्त्री बनाउनुमा मुलुक र मुलुकवासीको लागि फाइदा छ । सबैले बुझ्नु जरुरी छ ।

काठमाडाैँमा ४ आनाभन्दा कम कित्ताकाट नहुने भएपछि घरजग्गाकाे काराेबार घट्याे

Previous article

घरदैलोमा प्रधानमन्त्री बन्न आशीर्वाद !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *