– बलदेव सुनार
म डकर्मी हुँ । सानाेतिनाे घर बनाउने ठेक्का पनि लिने गरेकाेे छु । अहिले याे घरमा चाहिँ अरू नै ठेकदारकाे काममा मिस्त्री बनेर आएकाे हुँ । अब दुइ दिन बाँकी छ याे घरकाे काम सकिन । चुनावकाे बेला छ फाेनहरू आइरहेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सम्बन्धित पक्षले बेलाबेला फाेन गरिरहेका छन् । मंसिर ४ गते चुनाव हुने बारेमा अलि चासाे त छ तर धेरै जानकारी भने मलाई छैन । अघिल्लाअघिल्ला चुनावमा चुनावको अघिल्लो दिनसम्म पनि केही चासो नहुने गरेको मलाई यसवर्ष भने चुनावप्रति केही चासो भने बढेको छ ।
झण्डै ८ वर्षको उमेरमा काम खोज्दै काठमाडौं छिरेको मैले पढाइलेखाइको नाममा दुई कक्षासम्म मात्रै पढ्न पाएँ । हाम्रो बेलामा हाम्रो गाउँमा एकाधबाहेक पढेलेखेका कोही पनि मान्छे हुँदैन थिए । म पनि त्यसमा अपवाद बन्न सकिनँ । खासै पढ्न नआउने भएकोले म जहिलेदेखि मजदुरी गर्न सक्ने भएँ यही पेसामा छु । मलाई दिनभरि कमाएर साँझको हातमुख जोड्नपर्ने र त्यसैबाट बचाएर घरमा खर्च पठाउनु पर्ने भएकोले मलाई अरु कुरामा भन्दा आफ्नै कामप्रति चासो हुने गर्छ । कुनै पनि चुनावको माहोलले खासै तान्ने गरेको छैन । तर यसपालि किन हो किन भोट हाल्न जाऊँ जस्तो अनुभूति भइरहेको छ ।
मेरो घर रामेछाप जिल्लामा पर्छ । सानैदेखि काठमाडौंमा बसेको र गाउँमा त्यति धेरै चिनजान नभएको भएपनि मेरो मतदाता नामावलीमा नाम भने रामेछापबाटै छ र म भोट हाल्न पनि रामेछाप नै जाने तयारीमा छु । यो भोट म आफ्नै भविष्यको लागि काम लागोस् भनेर हाल्न जान लागेको हो । कुनै अमुक पार्टीको कार्यकर्ता नभएर आफूले परिवर्तन गर्न सक्छन् भनेर विश्वास गरेको शक्तिलाई यो भोट हाल्न लागेको हुँ ।
म सामान्य मजदुरी गरेरै भएपनि छोराछोरीलाई गाउँमा निजी स्कुलमा पढाउने गरेको छु । सामान्य मोबाइल चलाउन पनि नजान्ने मलाई छोराछोरीले नै मोबाइल चलाउन सिकाएका हुन् । अहिले म मोबाइलमा फेसबुक र युट्युबसम्म हेर्न सक्ने बनेको छु । सामाजिक सञ्जाल चलाउन सक्ने भएपछि देशको अवस्था हेरेर साह्रै दुःख पनि लाग्ने गरेको छ । म साह्रै चित्त नबुझेको कुरालाई सामाजिक सञ्जालमा लेखेर रिस पोख्ने पनि गर्छु ।
गत महिना सामाजिक सञ्जाल हेर्दैगर्दा प्रधानमन्त्री पदमा गगन थापाको उम्मेदवारी रहेको भन्ने समाचार सुनेँ । प्रधानमन्त्री बदलिँदैमा देशको हालत बदलिन्छ कि बदलिँदैन भन्ने यकिन त छैन । तर गगन थापा प्रधानमन्त्री बन्न लागे भन्ने सुनेपछि कताकति मेरो मनमा पनि खुसी पैदा भयो । युवा भन्ने हिसाबले मात्रै नभएर उनी प्रधानमन्त्री बन्दा केही न केही बदलाव हुन्छ भन्ने लागेर नै मनमा खुसी लागेको हो ।
म अहिले आफ्नो दुःखबाट स्वास्थ्य बिमा गरेर परिवारका सबै सदस्यले लाभ लिईरहेका छौं । त्यो सबै गगन थापा स्वास्थ्यमन्त्री भएको बेलामा सुरु भएको हो र यो उनकै योजना अनुसार सुरु भएको हो भन्ने समाचार पढेको थिएँ । त्यही कारणले पनि मलाई गगन थापाले जितेपछि केही परिवर्तन हुन्छ भन्ने अनुभूति भएको हो । पछिल्लो ४ महिनादेखि मैले गगन थापाको फेसबुक पेज पनि लाइक गरेको छु । उनको फेसबुक पेजमा आएका विभिन्न योजनाहरु हेर्दा उनको कार्यकालमा केही न केही परिवर्तन हुन्छ भनेर नै प्रधानमन्त्री पदमा गगन थापा हेर्न चाहेको हो । म रामेछापको मतदाता भएकोले प्रधामन्त्री वा सांसदको लागि मतदान गर्न सक्दिन । तर म एउटा शुभेक्षुकको हैसियतले प्रधानमन्त्री बनून् भन्ने शुभेक्षा राख्न सक्छु ।
नेपालमा दुःखै धेरै तर आम्दानी कम भएर पटकपटक विदेश जान पनि लागेको थिएँ । एकपटक दलालको फन्दामा परेपछि विदेश जाने मोह पनि त्यसै हरायो । त्यसपछि म नेपालमै मजदुरी गरेर जीविकोपार्जन गर्ने गरेको छु । मलाई अब विदेश जान मन छैन । यस्ता श्रमिकहरुको पक्षमा बोल्ने सांसदको रुपमा मैले गगन थापालाई नै चिनेको छु । उहाँले संसदमा गरेको भाषण र विभिन्न मञ्चहरुमा उहाँले श्रमिकको पक्षमा उठाएको आवाजको म प्रशंसक हुँ । त्यसैले गगन थापा प्रधानमन्त्री बनून् । यही नै मेरो शुभकामना छ।
बाग्मतीटुडेले गरेको कुराकानीका आधारमा
Comments