चुनाव विशेषः
काठमाडौं । काठमाडौैं क्षेत्र नं ४ बाट चुनाव लडेको १० वर्ष हुनै लाग्दासम्म पनि यस क्षेत्रका एमाले उम्मेदवार डा. राजन भट्टराईलाई आफ्नो क्षेत्रले आकर्षण गरेको छैन । उनी करिब पाँच कोश पर रहेको भैंसेपाटीमा बसेर काठमाडौंको सुदूर उत्तरी भेगमा राजनीति गरिरहेका छन् । त्यसैले त उनी आफूले दुई वटा चुनाव लडिसकेको र अर्काे चुनाव लड्ने तयारी गरिरहेको यो क्षेत्रको बारेमा अझैसम्म पनि बेखबर छन् ।
उनी आफ्नो क्षेत्रका समस्याहरुको बारेमा कति बेखबर छन् ? र यो समस्याले उनलाई कतिसम्म समस्या पारिरहेको छ ? भन्ने कुरालाई केही उदाहरणहरुमार्फत् अध्ययन गरौं । केही समयअघि कपनमा एउटा भीषण आगलागी भयो । यही क्षेत्रका प्रतिनिधि सभा सदस्य उम्मेदवार गगन थापा घटनास्थलमा पुगेर घाइतेलाई अस्पताल पु¥याइसकेपछि अर्का सांसदका उम्मेदवार डा.भट्टराई पनि घटनास्थल आइपुगे । ललितपुरको भैंसेपाटीमा बस्ने भट्टराईले सायद घटना घटेको ढिला थाहा पाए । थाहा पाउने बित्तिकै हिँडे पनि उनी आफ्नो चुनावी क्षेत्रमा आइपुग्दा आगलागी निभिसकेको थियो ।
त्यो आगलागी त एउटा भवितव्य घटना हो । हरेक वर्ष उनकै क्षेत्रमा पर्ने कपन डुब्छ । धोबीखोलामा भेल बढ्न थाल्छ । धोबीखोलाको किनारामा घर रहेका गगन थापा खोलामा बाढी आएको देखेपछि खुररर कपन पुग्छन् । तर राजनलाई भेलको बारेमा थाहा पाउन या त सामाजिक सञ्जालमा भिडियो सार्वजनिक हुनुपर्छ या त आफ्ना सहयोगीहरुले फोन गरेर सुनाएको हुनुपर्छ । वर्षामा ठूला बाढी आउँछन्, नेताजी भैँसेपाटीदेखि आइपुग्दा सबै बगिसक्छ, बाढी रोकिइसकेको हुन्छ ।
आसन्न निर्वाचनमा यिनै मुद्दाहरु डा. भट्टराईको लागि प्रतिकुल बन्ने अवस्था रहेको बताइएको छ, उनको भैंसेपाटीको बसाइँ, यस क्षेत्रभित्र रहेको भट्टराईवाद र ईपीजी प्रतिवेदन । भैंसेपाटीमा बस्दाको असर त माथि उल्लेख भइ नै सक्यो । त्यहाँ व्यवयायी ईच्छाराज तामाङले दिएको घरमा बसेका भट्टराईले यो क्षेत्रमा आएर घर किन्न उपयुक्त ठानेनन् । त्यसैले उनी कोशौं पर बसेर राजनीति गरिरहेका छन् ।
अब चर्चा गरौं उनलाई प्रतिकुल असर गर्ने अर्काे भट्टराईवादको समस्याको । डा. भट्टराईको बोलवाला चल्ने बुढानीलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिकाको केही वडामा पार्टीको विभिन्न पद होस् या जनप्रतिनिधिको रुपमा पनि भट्टराईलाई नै अघि बढाउने गरेका छन् । त्यो पनि आफ्नै परिवार र नाताभित्रका । केन्द्रिय सदस्य शार्दुल भट्टराइबाट शुरू हुने बंशवादको उदांगो चित्र बुनपाभित्रको कपनमा सर्वत्र हेर्न पाइन्छ । काठमाडौं महानगरपालिकाको वडा नं ७ मा गत स्थानीय चुनावमा वडाध्यक्षको टिकट कृष्णमणि भट्टराई दिए। उनी भट्टराईको आफन्त पर्छन् । बुनपातिरका वडा कमिटी अध्यक्षसहित जननिर्वाचित वडाध्यक्षलगायत अनेक पदमा भट्टराईले भट्टरार्ई बन्धुहरूलाइ लगातार जिम्मेवारी दिइरहेका छन् । यही कारणले पनि उनीप्रति धेरै रुष्ट छन् । जसको असर यो चुनावमा देखिने अवस्था देखिएको छ ।
यसका उदाहरणहरूमा बुनपा १० को वडाध्यक्ष नवराज भट्टराई(लगातार २ कार्यकाल वडाध्यक्ष), नवराज भट्टराइकी श्रीमतीलार्ई अनेमसंघमा जिम्मा दिइएको छ । वडा नं ११ को वडा कमिटी अध्यक्ष कृष्ण भट्टराई, १२ नं का वडाध्यक्ष शम्भु भट्टराई(दुइ कार्यकाल वडाध्यक्ष तथा दुई कार्यकाल नगरपालिकामा सुशासन समितिको संयोजक) र १२ नं कै वडा कमिटी अध्यक्ष शंकर भट्टराई जो शम्भु भट्टराईका आफ्नै भाइ हुन् । वडाध्यक्ष भट्टराइका दुइजना बुहारी पनि पार्टीको पदीय महत्वमा पुर्याइएको छ । वडा नं १२ मै वडा सचिव कृष्ण भट्टराइ हुन् वा आफ्नै स्वकीय सचिव पुष्प भट्टराई सबै ठाउँमा पहिलो रोजाइ भट्टराइ नै हुन पुगेका छन् । यी सबै उनको नजिक टाढाको आफन्त हुनुको साथै सिन्धुपाल्चोक पुर्ख्यौँली भएका व्यक्तिहरू हुन् ।
त्यसो त भट्टराईको बन्धु मोह क्षेत्रमा मात्रै नभएर जिल्ला समितिसम्म पनि पुगेको छ । जहाँजहाँ भट्टराईको प्रभाव बढी हुन्छ त्यहाँ उनले आफ्ना बन्धुहरुलाई बढी प्राथमिकता दिने गरेका छन् । जस्तो काठमाडौँ जिल्ला सदस्यमा शिव भट्टराईदेखि ध्रुव भट्टराइसम्म पर्दछन् । त्यसैगरी डा भट्टराइको साथ पाएकामा वुनपा १२ की वडा सदस्य इश्वरी भट्टराइदेखि बुनपा नगर सदस्य सावित्री भट्टराईमात्र नभै बुनपा युवा परिषद् अध्यक्ष रूपेश भट्टराईको नाम छुटाउन सकिन्न । एमाले काठमाडौँ जिल्ला अधिवेशन प्रतिनिधि रहेका ध्रुव भट्टराइलाइ किर्ते कागज बनाएर मतदाता दर्ता गरिरहेको बेला रंगेहात समातिएको थियो । डा भट्टराइलाइ जिताउन सकिन्छ कि भनेर भट्टराइ बन्धुका वडाहरुमा व्यापकरूपमा किर्ते मतदाता बनाइएको भेटिएको छ । यसरी हरेक पदमा भट्टराईलाई मात्रै छान्ने डा. भट्टराईको व्यवहार उनलाई नै गलपासो बन्ने अवस्था देखिएको छ ।
त्यस्तै, डा. भट्टराईको लागि यो चुनावमा प्रतिकुल बनेको अर्काे मुद्दा हो, नेपाल भारत प्रबुद्ध समितिको प्रतिवेदन गोप्य रुपमा चीनलाई बेचेको आरोप । उनले १५ लाख रुपैयाँमा सो प्रतिवेदन बेचेको आरोप लागिरहँदा पनि अहिलेसम्म खण्डन गर्न सकेका छैनन् । यसले गर्दा यो चुनावमा उनलाई यो पनि प्रतिकुल हुने देखिएको छ । कुनैपनि नेताले कुन देशसँग निकट सम्बन्ध राख्छ भन्ने कुरा महत्वपूर्ण होइन । तर, एउटा छिमेकीसँगको गोप्य प्रतिवेदन सुटुक्क अर्काे छिमेकीलाई बेच्नु आपराधिक कार्य हो । ईपीजी दुई छिमेकीबीचको गोप्य प्रतिवेदन थियो । राजन भट्टराईले उक्त प्रतिवेदन बुझाएको कुरा भारतीय गुप्तचरहरुले थाहा पाएर यो विषय सार्वजनिक गरेका थिए । यदि यो गुप्तचर रिपोर्टको तथ्य सहि हो भने डा. भट्टराईले देशद्रोही अपराध गरेका हुन् । यही अपराधको कारणले अहिले पाँच वर्षसम्म पनि भारतीय प्रधानमन्त्रीले ईपीजी बुझ्न मानेका छैनन् । यसको मुख्य दोष डा. भट्टराईमाथि लाग्ने गरेको छ ।
सन् १९५० मा भएको सन्धि बमोजिम नेपालले भारतको अनुमति नलिई कुनै तेस्रो मुलुकबाट हतियार किन्न नपाउने उल्लेख छ । यो सन्धि पुनरवलोकनको लागि दुवै देश सहमत हुनै पर्छ । त्यो सन्धि पुनरवलोकन गरेरै भएपनि नेपालसँग सम्बन्ध सुधार गर्न चाहेको भारतले ईपीजीमा नै यस्तो गम्भीर धोखा पाएपछि झन् सशंकित बन्दै अहिलेसम्म प्रतिवेदन नबुझेको हो । अहिले नेपालको लागि भारतको राजदूत समेत बनेर आएका क्वत्राले वैशाख ३० गते भारतले सो प्रतिवेदन नबुझ्ने संकेत मात्रै गरेनन् । उनले घुमाउरो पाराले चीनसँग यो प्रतिवेदन रहेकोले यो कार्यान्वयनमा पनि नआउने संकेन पनि दिए ।
यसरी यी मुद्दाहरुका कारण डा. राजन भट्टराई यो चुनावमा आफैं रक्षात्मक अवस्थामा छन् । यी मुद्दाको बारेमा जानकारी भएका मतदाताले उनलाई चुनावमा मत दिने सम्भावना नभएकोले उनी अहिलेदेखि नै पराजित मानसिकता बोकेर हिँड्ने गरेको संकेत उनका भाषणहरुमा देखिएको हारको मानसिकताले समेत बोल्ने गर्छ ।
Comments