सामान्य दिनहरूमा दैनिक घरेलु काममा पुरुषभन्दा बढी समय खटिने महिलाहरू चाडपर्वका समय झनै बढी व्यस्त हुने गर्छन्। चाडपर्व शुरु नहुँदैदेखिको तयारी, सरसफाई, सामाग्रीहरू जोडजाम तथा पाहुनाहरूको स्वागत सत्कार लगायतका अधिकांश घरेलु काममा बढी खटिनुपर्ने हुँदा कतिपय महिलाहरू चाडपर्वको रंगरमाइलोमा भुल्लिन समेत समय पाइरहेका हुँदैनन्। भनिन्छ, चाडपर्वहरू वर्षभरीको थकान मेटाउन र दुःख पिर भुलेर मनोरञ्जनमा समय बिताउन मनाउने गरिन्छ। तर चाडपर्वमा बढ्दो कामको बोझले महिलाहरूको हकमा भने यो थकान मेटाउने र रमाइलो गर्ने भन्दा बढी थकित र दुखी हुने समयजस्तो बन्न पुग्छ।
पेड र अनपेड कामको बोझ
पितृसत्तात्मक समाजमा घरभित्रको काम महिलाहरूको लागि ‘ठेक्का’ नै मानिन्छ। यसवापत महिलाले न त कुनै मूल्य नै पाउँछन्, न कुनै सम्मान वा प्रशंसा। बिना मूल्य वा बिना पारिश्रमिकका यस्ता कामले महिलाहरूमा मानसिक समस्या नै निम्तिने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। चाडपर्वमा घरेलु कामको बोझ बढ्ने भएकाले महिलाहरूमा यो समस्या झनै बढी देखिन्छ। घरेलु कामका कारण महिलाहरूको मानसिक स्वास्थ्यमा पर्ने असरलाई नजरअन्दाज नै गर्ने गरिन्छ। यस विषयमा कमै अनुसन्धान भएको पाइन्छ।
हालैको एक अध्ययनले भनेको छ, बिना तलव काम गर्ने मानिसले मानसिक स्वास्थ्यसँग जोडिएको समस्याको बढी सामना गर्नुपर्छ। लिङ्गमा आधारित भूमिका निर्वाह गर्नुपर्ने र बिना तलब काम गर्नु परेका कारण महिलाहरू बढी यसबाट प्रभावित हुन्छन्। विश्वभरमा महिलाहरूले घरेलु काममा पुरुषले भन्दा बढी समय बिताउँछन्।
‘ल्यासेन्ट दि पब्लिक हेल्थ’को एक अध्ययन अनुसार अनपेड वा बिना पारिश्रमिकका कामका कारण महिलाहरूले खराब मानशिक अवस्थाको सामना गर्नुपरेको छ। कुल १९ अध्ययनहरूको समिक्षा गरी गरिएको यो अध्ययनले अनपेड लेवरका कारण महिलाहरूमा डिप्रेशन र मनोवैज्ञानिक तनावको लक्षणहरू देखिने बताएको छ।
बिना पारिश्रमिकको काम खासगरी लिङ्गको आधारमा विभाजन गर्ने गरिएको छ। पुरुषहरू देनिक ०.५ देखि २ घन्टा बिना पारिश्रमिकको काम गर्छन् भने महिलाहरू प्रतिदिन ३ देखि ६ घन्टासम्म यसखालको काममा समय बिताउँछन्। यति मात्र होइन पेड र अनपेड अर्थात् पारिश्रमिक पाउने वा नपाउने दुवै काममा महिलाहरूले समय गुजार्ने गर्छन।
रिसर्चका अनुसार यदि एक हप्तामा एक घन्टा अतिरिक्त बिना पारिश्रमिकको कामको भार बढ्छ भने थोरै नै भएपनि महिलाको मानसिक स्वास्थ्यमा पर्ने असर थपिन्छ। यदि १० घन्टाको बिना पारिश्रमिकको काम बढ्छ भने यसबाट मानिसमा डिप्रेसनको स्कोर ०.२ देखि ०.४ प्वाइन्टसम्म बढ्ने अनुसन्धानले देखाएको छ। यस समस्याबाट महिलाहरू बढी ग्रसित हुने गर्छन्। त्यसैले चाडपर्वमा घरेलु काम थपिने हुँदा त्यसबाट महिलालाई अरु सामान्य दिनको तुलनामा मानसिक समस्या थप हुनेगर्छ। यसले गर्दा महिलाहरूमा रिस उठ्ने, चिडचिडापन र डिप्रेसन बढ्ने बताइन्छ।
स अनुसन्धानका प्रमुख जेन इरविनले भनेका छन्, “विश्वभरका ३५ भन्दा धेरै देशमा लैंगिक भेदभावका कारण हरेक भौगोलिक स्थिति र समयमा महिलाहरूलाई बढी बिना पारिश्रमिकको श्रम गर्नुपर्छ।” उनले भने, “पेड र अनपेड कामको दोहोरो बोझले महिलाहरूलाई समयको अभाव हुने र उनले खराब मानसिक स्वास्थ्यको सामना गर्नुपर्ने देखिन्छ। र महत्वपूर्ण कुरा, महिलाहहरू पेड काम (जागिर वा व्यवसाय)पछि पनि लगातार अनपेड काम गर्छन्।”अध्ययनले यो समस्याको समाधानका लागि बिना पारिश्रमिकको काम खासगरी घरेलु कामलाई लिङ्गको आधारमा नभएर न्यायिक हिसाबले विभाजन गर्न सुझाएको पनि छ।
Comments