काराेवार/अर्थतन्त्रविकाससमसामयिक

अलैँची टिप्न र थन्क्याउन व्यस्त छन् ताप्लेजुङका किसान

0

ताप्लेजुङका किसानलाई यतिबेला अलैंची थन्क्याउने चटारो छ । दशैँ पर्व सकिएलगत्तै यहाँका किसान अलैंची टिप्न र थन्क्याउनमा व्यस्त बनेका हुन् । यो समय अर्थात् असोज र कात्तिक महिना मुख्य मौसम भएकाले किसानलाई अलैंची टिप्न र थन्क्याउने चटारो भएको हो ।

जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैंची तल्लो औल क्षेत्रमा भदौदेखि टिप्न शुरु गरिन्छ । माथिल्लो लेक क्षेत्रमा मङ्सिर महिनासम्म अलैंची टिप्ने (सङ्कलन गर्ने) गरिन्छ । यसरी भदौ महिनादेखि मङ्सिरसम्म अलैंची थन्क्याउनलाई समय लाग्ने भए पनि अहिले मध्य अर्थात् मुख्य सिजन भएकाले किसानलाई भ्याइनभ्याई भएको छ ।

अलैँची सङ्कलन गर्ने समय भएपछि सङ्कलन गर्न ढिलो भएमा वन्यजन्तुले खाइदिने नोक्सानी गरिदिने हुँदा अलैँची खेतीमा संलग्न किसानले दशैँ तिहारजस्ता चाडपर्व सहज गरी मनाउन पाउँदैनन् । चरा, मुसा र कालाजस्ता जङ्गली जनावरले अलैंची खाएर क्षति गर्ने गर्छन् । त्यसैले चाडपर्व नभनी किसानले अलैंची थन्क्याउन व्यस्त रहन्छन् ।

अलैँचीको मुख्य सिजन भएकाले अलैँची बारी (बगान) मा नै चाडपर्व बितिरहेको फुङ्लिङ नगरपालिका –६ बिहीबारेका किसान केदार पतङ्वाले बताउनुभयो । दशैँ पर्व घरमा बसेर मनाउन पाए पनि तिहार भने अलैंची थन्क्याउने चटारोले जङ्गलमै बितिरहेको उहाँको भनाइ छ ।

यस्तै, फुङ्लिङ नगरपालिका –६ कै अर्का किसान खाङ्डो शेर्पाले पनि अलैंची टिप्न, छोडाउन र सुकाउनमा तिहार पर्व बितिरहेको बताउनुभयो । घरमा बसेर चाडपर्व मनाउन थाल्दा जङ्गली  जीवजन्तुले क्षति गर्ने भएपछि चाडपर्व र तिहार नभनी अलैंची टिप्न र थन्क्याउनमा व्यस्त हुनुपरेको शेर्पाले बताउनुभयो ।

जिल्लाको नौ स्थानीय तहका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका –७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैंची खेती गर्ने गरिन्छ । जिल्लामा करिब चार हजार ४५० हेक्टर क्षेत्रफलमा अलैंची खेती गर्ने गरिएको छ ।

माैलिकता गुमायाे देउसी-भैलाेले, गाउँमै बज्दैनन् मादल र खैँजडी, नाचिँदैन सोरठी र मारुनी

Previous article

मुस्ताङः जहाँ भुगाेल नै त्यहाँका बासिन्दाकाे आम्दानीकाे अमूल्य स्राेत बन्याे

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *