काठमाडौं । निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको बेला आफूले गर्ने काम भन्दा पनि अरुलाई आरोप लगाएर प्रचारमा उत्रिएको भन्ने उजुरी धेरै आएको भन्दै त्यस्तो गर्नु आचारसंहिता विपरीत रहेको बताए । कुनैपनि उम्मेदवारले यो गरेन भन्ने भन्दा पनि आफूले गर्ने कामको सूची लिएर चुनावमा उत्रिन उनले उम्मेदवारहरुसँग आग्रह पनि गरेका छन् ।
भण्डारीले त्यसो भनिरहँदा यो अभिव्यक्ति काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभा सदस्य उम्मेदवार राजन भट्टराईमाथि लक्षित रहेको देखिन्थ्यो । किनभने भट्टराईको पछिल्ला चुनावी प्रचार हुन् या भाषणहरु सबै गगन थापालाई आरोप लगाउनमा केन्द्रित थियो । तर उनले कुनै पनि विकासको एजेण्डा भने प्रस्तुत गरेको पाइँदैन । गगन थापालाई झूट र आफूलाई सत्यवादी ठानेर भट्टराईले आफ्नै कद घटाइरहेको विश्लेषण एमाले वृत्तबाट नै हुने गरेको छ ।
कुनै पनि राजनीतिक व्यक्तिले आफ्ना प्रतिस्पर्धीलाई कुनैपनि बाहानामा आरोप प्रत्यारोप गर्दैन । आलोचना गर्नुपर्दा पनि सभ्य भाषामा गर्नुपर्ने हो । अझ डा. राजन भट्टराई त झनै विद्यावारिधि गरेका विद्वान व्यक्तिले आफ्नो ओझ राखेर विपक्षीलाई आलोचना गर्नुपर्ने हो । तर उनको भाषणमा गगनमाथि लक्षित गर्दै नालायक, केही काम गर्न नसक्ने जस्ता छुद्र भाषाको प्रयोग गरेर आफ्नो विद्वतामाथि नै प्रश्न उठ्नेगरी प्रस्तुत हुने गरेका छन् । यसमा उनको पराजयको त्रास देखिने गर्छ । यसले उनको कद घटाउने काम मात्रै गरिरहेको छ ।
दुईजना केन्द्रीय नेताहरुको चुनावी भिडन्त हुन लागेको काठमाडौं क्षेत्र नं ४ मा पनि अहिले काँग्रेसका उम्मेदवार गगन थापा र एमाले उम्मेदवार राजन भट्टराईबीच प्रतिस्पर्धा हुँदैछ । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रसँग मिल्दासमेत साढे ३ हजार मतले चुनाव हारेका राजन भट्टराई यसपालि सुस्त सक्रियताकाबीच गगन थापालाई चुनाव हराउने अठोट लिएर अघि बढेका छन् । यसैको लागि उनी पछिल्लो समय यो क्षेत्रमा सानातिना कार्यक्रमहरु राखेर गगन थापालाई गाली गर्ने प्लेटफार्म बनाउँदैछन् ।
त्यसो त जति धेरै कार्यक्रमहरु हुन्छ, ती सबै कार्यक्रमहरुमा एमाले नेता भट्टराईले चुनावी एजेण्डा र आफ्नो प्रतिबद्धताभन्दा पनि काँग्रेस नेता थापामाथि आरोप र कटाक्ष गर्ने अभिव्यक्तिमा बढी समय खर्चिने गरेका छन् । आफ्नो विकासको भिजनभन्दा पनि विपक्षीको आलोचनामा धेरै समय खर्चिँदा चुनावमा फाइदा हुन्छ भन्ने सोच उनमा देखिन्छ । त्यसैले प्रतिस्पर्धीको उछितो काढेर आफ्नो राजनीतिक लाभको लागि उनी उद्धत देखिन्छन् ।
पछिल्लो समय दिइएका केही अभिव्यक्तिहरुमा उनले प्रतिस्पर्धी गगन थापालाई सजिलै हराउने अभिव्यक्ति दिने गरेका छन् । यो अभिव्यक्तिमा आत्मविश्वास त देखिँदैन, तर उनी जुनसुकै कार्यक्रममा पनि गगनलाई जित्छु भन्ने सुगा रटाइ भने रट्ने गरेका छन् । तर, जितको आधार के हो रु उनले पछिल्लो पाँच वर्षमा गरेको काम के हो रु भन्ने कुरा भने यकिन भएको छैन ।
त्यसो त उनले कीर्ते मतदाताको मुद्दालाई मोड्नको लागि पनि केही महिना अघि गगन थापामाथि प्रहार गरेर गाली गरेका थिए । अघिल्लो चुनावमा घरमै लगेर मतदाता नामावलीमा नाम दर्ता गराएपछि विवादमा तानिएको एमालेले यसपालि किर्ते मतदाताको साहारा लिएको थिए । वडा कार्यालयको छाप र वडा सचिवको हस्ताक्षर किर्ते गरेको मुद्दामा एमालेकै नेताहरु संलग्न भएको प्रमाण भेटिएपछि एमाले नेताहरु यसको प्रतिरक्षामा उत्रिएका थिए ।
उनीहरुले किर्ते मतदातामाथि कारबाही प्रक्रिया अघि नबढाउन दबाब दिँदै जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा तोडफोड समेत गरेका थिए । ती मतदातालाई निर्वाचन आयोगले समेत किर्ते भएको ठहर गर्नु र स्वयं भट्टराईकाकै प्रेस कोअर्डिनेटर समेत दोहोरो मतदाताको मुद्दामा संलग्न भएको प्रमाण बाहिर आएका कारण यो विषयलाई भट्टराईले विषयान्तर गर्न चाहिरहेका हुन् । त्यसैले पनि उनी हरेक कार्यक्रममा गगन थापाविरुद्ध आक्रामक शैलीमा प्रस्तुत हुने गरेका छन् ।
Comments