बीपी राजमार्गको धुलिखेल–नेपालथोक सडक खण्डको खरिबोट(चौकी डाँडा) । मुन्तिर रोशी खोलाको दोभान । चरंगे खोला यहीँ आएर मिसिन्छ । नमोबुद्ध वडा नं ६ मा अवस्थित यो क्षेत्रमा दिनहुँचसो ढुंगा, गिटी बोकेका टिपर आवातजावत गर्छन् । दोभान नजिकै सानो बस्ती छ । स्थानीय ‘न्यौपाने टोल’ भनेर चिन्छन् । टोलमै रहेको क्रसरका कारण स्थानीयको ‘निद हराम’ भएको छ ।
क्रसरबाट आउने घ्यारघ्यार आवाज, ढुंगा बोकेर गुड्ने टिपरका कारण यो टोलको अवस्था नै भिन्न छ । टोल हुँदै जाने कच्ची सडकले काभ्रेको पनौती, काभ्रेभन्ज्याङ जाड्ने वडाध्यक्ष टीकाबहादुर केसीले बताए ।
क्रसरबारे सोध्न खोज्दा ७१ वर्षीय गोपीकृष्ण न्यौपाने तर्किए । अरुलाई नै सोध्न आग्रह गरे । उनको घरको नजिकैको पँधेरो सुकेको छ । स्थानीयले पँधेरोबाट आउने पानी खेती गर्न प्रयोग गर्थे । ‘पँधेरोको पानी सुकेपछि सिञ्चाइ गर्न एकदमै समस्या छ,’ ४० वर्षीया माइली लामाले भनिन् ।ब्लु साइन रोडा ढुंगा उद्योगले यही टोलमा आफ्नो क्रसर रोखेको छ । क्रसरमा खानीबाट ल्याइएका कच्चा पदार्थ प्रशोधन गरेर स–सना ढुंगा,गिटी,बालुवा उत्खनन् भइरहेको छ । शनिबार बिहान उक्त क्रसरमा ढुंगागिटी प्रशोधन भइरहेका थिए ।
क्रसरका मेसिन राखिएका स्थानको पारिपाट्टि रोशी गाउँपालिका पर्छ । धेरै नै खोस्रिएको डाँडा छ । कतिबेला पहिरो जान्छ र नदी थुनिने हो ठेगान छैन । डाँडाबाट ढिस्को खस्ने जोखिम उच्च देखिन्छ ।नमोबुद्धका वातावरण अधिकृत सन्तोष काफ्ले पनि उक्त क्षेत्रमा खानी सञ्चालनका क्रममा डाँडामा धेरै उत्खनन् गरे पनि क्षति न्यूनीकरणका विकल्प सञ्चालन नगरिएका कारण जोखिम देख्छन् ।
न्यौपाने टोल हुँदै ५० मिटर उकालो लागेपछि बेल्बोटटार पुगिन्छ । पिपलको बोटमुनि एउटा चौतारो छ । चौताराको दायाँपट्टि भगवती प्राथमिक विद्यालय र नमोबुद्ध–६को वडा कार्यालय छन् भने बायाँपट्टि रोशी गाउँपालिका–७को थानसिंह बेंसी ।
चौतारा अगाडि एउटा ‘नांगो डाँडा’ देखिन्छ । यो डाँडा ब्लु साइन उद्योगको ढुंगा खानी हो । हरियाली डाँडा हेर्दाहेर्दै खोस्रिएर पहिरो जाने जोखिम बनाइएको स्थानीयको भनाइ छ । यो ढुंगाखानीबाट दैनिक दुई सयभन्दा बढी टिप सामग्री निकालिने गरिएको स्थानीयको दाबी छ । ती सामग्री उक्त क्रसरमा प्रशोधन गर्ने गरिएको छ ।
डाँडाबाट ढुंगा लगायत अन्य सामग्रीहरू उत्खनन् गर्दा आउने धुँवा र धुलोले बेल्बोटटार पूरा प्रभावित छ । यस्तै, पहिरो खसेर सडक र नदी थुनिने सम्भावना छ । दुईवटा डाँडामा धेरै खेस्रिँदा पहिरो जाने जोखिम उच्च छ तर स्थानीयले यस बारेमा आवाज उठाउन सकेका छैनन् ।
स्थानीय बबिता खनालले भनिन्, ‘हाम्रो कुरा कसैले पनि सुन्दैन, हामी कुरा गर्यौं भने विकल्प नै हुँदैन । बोल्यो कि पोल्यो । सुरक्षा केही छैन, यसविरुद्ध आवाज उठायो भने ज्यानको खतरा छ ।’
गाउँपालिकाका प्रमुख कुन्साङ लामाले सञ्चालन गरेको यो क्रसरका कारण निम्त्याएको जोखिम र समस्याको बारेमा बोल्ने आँट कसैले गरेको छ । गाउँपालिकासँग यसबारे बुझ्न खोज्दा पहिला गाउँपालिकाका अध्यक्षको नाममा भए पनि हाल नभएको जनाएको छ । वातावरण अधिकृत काफ्लेले भने,‘पहिलाचाहिँ यो क्रसर अध्यक्षज्यूको थियो, अहिले उहाँले छाडिदिनुभयो । धेरै नै लगानीकर्ताहरू हुनुहुन्छ, कोको हुनुहुन्छ त्यो त हेर्नैपर्छ ।’
अवैज्ञानिक र जथभावी रुपमा भइरहेको उत्खननले जनजीवनलाई मात्रै हैन,पर्यावरणलाई समेत प्रभावित बनाएको छ । ४० वर्षीय पेमा लामा केही वर्षयता खेती गर्नका लागि सिञ्चाइका लागि समस्या भएको बताउँछन् ।
असापासका कुवा/पँधेरो/खोल्साखोल्सीमा पानी सुकेपछि खेती गर्न गाह्रो भएको बताइन् । ‘हाम्रो नजिककैका पानीको मुहान सुक्न थालेका छन् । भस्मे खोलामा पनि कम हुन थालेको छ । क्रसर नजिकैकको कुवाको पानी पनि सुकेको छ,’ उनले भनिन् ।
वडा नम्बर ६ मा भइरहेको जथाभावी ढुंगा उत्खननले जोखिम ल्याएको नगरपालिकाले जनाएको छ । वातावरण अधिकृत काफ्ले पनि सो क्षेत्रमा जोखिम रहेको बताउँछन् । तर खानी सञ्चालनका लागि अनुमति लिँदा उद्योग जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामहरू नगर्दा यो अवस्था आएको उनको भनाइ छ ।
नगरपालिकामा पशुपति रोडा ढुंगा उद्योग, मनकामना एग्रोभेट ले १५ वर्षसम्म खानी सञ्चालन गर्ने अनुमति पाएका थिए । म्याद सकिएर बन्द भएपछि पुन: खानी तथा भू–गर्भ विभागबाट दुई वर्षको म्याद थप गरेर सञ्चालन गर्ने तयारी गरिरहेको काफ्लेले जानकारी दिए । यस्तै, नगरपालिकामै रहेको तिरुपति रोडा ढुंगा हाल सञ्चालनमा नरहेको उनको दाबी छ ।
यस्तै, नमोबुद्धको वडा नम्बर ४ मा रहेको पशुपति क्रसर उद्योग पनि अवैधानिक रहेको भन्दै उक्त उद्योगलाई स्थान्तरण गर्न माग गरेको थियो । अख्त्यिार अनुसन्धान दुरुपयोग आयोगले उक्त उद्योगलाई २०७७ साल असार ५ गते जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय काभ्रेलाई पत्र पठाउँदै क्रसर उद्योग प्रालि सञ्चालनका लागि पालना गर्नुपर्ने दुरी सम्बन्धी मापदण्ड विपरीत सञ्चालन रहेका भन्दै उक्त नगरपालिकालाई एक वर्षभित्र वातावरणीय अध्ययन गर्न लगाएर स्थान्तरण गर्न लगाउन भन्दै पत्र पठाएको थियो ।
सो सम्बन्धी २०७७ साल साउन १२ गते काभ्रेको जिल्लास्तरीय नदीजन्य तथा खानिजन्य पदार्थको उत्खनन्, संकलन र बिक्री सम्बन्धीको प्रक्रियाको अनुगमन गर्न गठिन समितिको बैठकले निर्णय गर्दै अख्त्यिारको पत्र अनुसार कार्यान्वयन गराउनका लागि नमोबुद्ध नगरपालिकालाई जिम्मेवारी दिएको थियो ।
सरकारले ढुंगा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ ल्याएको छ । यसको पहिलो संशोधन २०७९ मा गरिएको छ । जसमा खानी तथा क्रसर सञ्चालन गर्दा राजमार्गको राइट अफ वेबाट, खोला वा नदी किनारबाट तराईको हकमा ५ सय मिटर र पहाडमा २ सय मिटर टाढा हुनुपर्ने, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक महत्त्वका स्थानबाट तथा सुरक्षा निकायबाट तराईको हकमा १ किलोमिटर र पहाडमा ५ सय मिटर टाण हुनुपर्ने व्यवस्था छ ।
यस्तै, यस्ता उद्योग तथा खानीहरू पहाडको हकमा बस्तबाट ५ सय मिटर र तराईमा एक किलोमिटर टाढा हुनुपर्ने व्यवस्था छ । सिमसारबाट एक किलोमिटर, चुरे पहाडबाट १५ सय मिटर टाढाको दुरीमा स्थापना गर्नुपर्ने व्यवस्था छ ।
उक्त मापदण्डको दफ ८को उपदफा ४ मा मूल बाटोबाट संकलन तथा उत्खनस्थलतर्फ सवारी साधान प्रवेश हुने मार्गमा धुलो उड्न नदिन नियमित पानी छर्कने प्रबन्ध उत्खननकर्ता र ढुवानीकर्ताले समेत मिलाउनुपर्ने व्यवस्था छ । तर, दुरी सम्बन्धी लगायत अन्य विविध मापदण्डहरू त्यहाँको खानी उद्योगले नअपनाउँदा स्थानीयले सास्ती खेप्नु परेको छ ।
प्राकृतिक अवस्थाको पर्यावरणलाई जथभावी रुपमा खोस्रिँदा त्यसले असर गर्ने विज्ञहरू बताउँछन् । उनीहरू क्रसर, नदीजन्य पदार्थ उत्खनन, खानी सञ्चालन, सडक तथा ठूला भौतिक संरचना निर्माण गर्दा पानीको प्राकृतिक बहावलाई असरगर्ने बताउँछ । पाटन क्याम्पसका वातावरणका उपप्राध्यापक राजु चौहान भौगोलिक अवस्थितिलाई बिगारेर जथाभावी उत्खनन गर्दा पानीको भूमिगत सतहलाई असर गरिदिने बताउँछन् । उनी भन्छन्, ‘पानीको एउटा भूमिगत सतह हुन्छ र भित्रभित्र हिँडिरहेको हुन्छ । जथाभावी उत्खनन् गर्दा प्राकृतिक बहावलाई असर गर्ने र पानी नआउने हुन सक्छ ।’
डाँडामा जथाभावी उत्खनन गर्दा पहिरो जान सक्ने जोखिम पनि उच्च हुने हुन्छ । जसका कारण तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरू प्रभावित हुन्छन् । स्थानीयको भनाइ अनुसार क्रसर र खानी सञ्चालनका लागि कुवा सुकेको छ ।
स्थानीय प्रेमध्वज लामाले पनि हेर्दाहेर्दै आसपासका डाँडाहरू खानी सञ्चालनको नाममा खोस्रिएर नांगो बनाइएको बताउँछन् । डाँडाहरू खोस्रिँदा पहिरोको उच्च जोखिम भएको उनले बताए । ‘डाँडा खन्नेहरू माथि केन्द्रबाटै दर्ता गरेर आएको भन्छन्, हामीलाई थाहा पनि हुन्न । डाँडा यसरी खेस्रिँदा भूक्षय र बाढीको समस्या बढ्छ, पहिरो गयो भने के गर्ने ? क्रसरबारे हामीले बोल्यौं भने द्वन्द्व हुन्छ,’ उनले भने ।
बेल्बोटका कृषकहरू ढुंगा खानी र क्रसरका कारण असर गरेको बताउँछन् । ढुंगा खानी खोस्रँदा आउने धुवाँ र बोटाको धुलो बिरुवामा लाग्दा गाईभैंसीलाई घाँस खुवाउन कठिन हुने स्थानीय पेमा लामाले बताइन् । उनले भनिन्, ‘बालीमा किराले त्यसै पनि सास्ती दिइरहेको छ, खानीबाट आउने धुवाँधुलोले धेरै नै असर गरेको छ । अन्नबाली सबै माटैमाटो हुन्छ ।’ गाेविन्द पाेखरेल/कान्तिपुर
Comments