काराेवार/अर्थतन्त्रप्रकृतिराष्ट्रिय

ढाेरपाटनमा सिकार पर्यटन सुरू

0

ढोरपाटन सिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो सिकार पर्यटन सुरु भएको छ । सिकारको लागि नेपाली सहयोगीका साथ विदेशी व्यावसायिक सिकारीहरू ढोरपाटन सिकार आरक्षको सिकार ब्लकमा पुग्न थालेका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिकार असोज र कात्तिकको लागि आठ नाउर र पाँच झारलको सिकार अनुमति दिएको ढोरपाटन सिकार आरक्ष केन्द्रका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।

सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्गनिर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित ब्लकमा पठाइसकेको छ ।

विभागले हरेक वर्ष दुई याममा गरी वार्षिक २० नाउर र ११ झारलको सिकार अनुमति प्रदान गर्छ । प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार पहिलो याममा नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज नेपाल, हिमालयन सफारिज र टपाक्स एण्ड टे«ल्स कम्पनीमार्फत अमेरिकन, मेक्सिकन र क्यानेडियन नागरिकले सिकारका लागि अनुमति पाएका छन् ।

सिकारको लागि आरक्षको क्षेत्रलाई सात ब्लकमा विभाजन गरिएको छ । पहिलो याममा सेड, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा सिकार हुनेछ । ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मङ्सिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।

पेशेवर विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत् सिकार खेल्न आरक्षमा पुग्ने गर्छन् । गतवर्ष दुई सिजनमा १८ नाउर र नौ झारलको सिकार भएको थियो ।आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, र सुनदह गरी ६ ‘ब्लक’मा सिकार गर्न अनुमति दिइएको छ ।

पहिलो यामका लागि सुर्तिबाङ ब्लकमा कुनै पनि सिकारीले सिकार गर्ने छैनन् । खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुचि राख्ने गरेको सिकार आरक्ष कार्यालयको अनुभव छ । सिकारीसहितको टोलीले १५ दिन जङ्गलमै समय बिताउँछन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजश्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । नाउर झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना सिकारीले करिब २० देखि २२ लाख रुपियाँ खर्च गर्ने सिकार अमृत थापाले बताए ।

यो वर्ष नाउरको न्यूनतम १५ लाखदेखि अधिकतम २१ लाख ४० हजार प्रतिगोटा र झारलको न्यूनतम एक लाख १० हजार देखी अधिकतम ६ लाखसम्म राजश्व तिरेर सिकारीहरू सिकारका लागि तयार भएको कँडेलको भनाइ छ । नेपाल ट्राभल एक्पिडिसन प्रा.लि काठमाडौंमार्फत पहिलो याममा अमेरिकन नागरिकले एउटा नाउरको सिकार गर्नेछन् । सिकार आरक्ष कार्यालयकाअनुसार उहाँलाई सिकारका लागि गुस्तुङ ब्लक तोकिएको छ ।

ग्लोबल सफारिज नेपालमार्फत तीन जना सिकारीले दुई नाउर र एक झारलको सिकार अनुमति पाएका छन् । क्यानेडियन नागरिकले नाउर र अर्का दुई जना अमेरिकी नागरिकले एक नाउर र एक झारलको सिकार अनुमति पाएका हुन् । फागुनेमा एक नाउर र वर्षेमा एक नाउर एक झारलको सिकार गर्न उहाँहरूले अनुमति पाएका छन् ।

सिकारीहरूले हिमालयन सफारिजमार्फत् तीन नाउर र दुई झारलको सिकार अनुमति पाएका छन् । उनीहरू मेक्सिकन र अमेरिकन नागरिक हुन् । दोगडी, सुनदह र सेङ ब्लकमा अनुमति दिइएको छ । टपाक्स एण्ड टे«ल्स कम्पनीमार्फत दुई जना अमेरिकन नागरिकले दुई नाउर र दुई झारलको सिकार अनुमति पाएको सिकार आरक्ष कार्यालयले जनाएको छ ।

‘‘यो वर्षदेखि नेपालीका लागि समेत सिकारको अवसर हुने गरी बँदेलको सिकार खुल्ला गरिएको थियो तर अहिले प्राप्त जानकारीअनुसार कसैलाई पनि अनुमति दिइएको छैन ।’’ प्रमुख संरक्षण अधिकृत कँडेलले भने, ‘‘केही आवेदन परेको जानकारी आएको थियो, थप प्रक्रियाको विषयमा विभागले जानकारी गराउनेछ ।’’ सिकारको माग बढी हुँदा राजश्वको दर पनि बढ्ने र माग घट्दा राजश्व पनि घट्ने गरेको छ । प्रतिस्पर्धामा बढी बोलकबोल गर्ने कम्पनीले सिकार गराउने अनुमति पाउने गरेका छन् ।

तिहारकाे फूलसमेतमा आत्मनिर्भर छैन नेपाल !

Previous article

दराैँदी किनारामा धान पाक्दै गरेका खेत

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *