विकाससमसामयिक

गाउँघरमा देखिन छाडे रातो माटो र कमेराेका भित्ता

0

देवचुली नगरपालिका १५ कि सीतादेवी पौडेल अहिले  ६० वर्षको भइन् । उनको जीवनकालमा ५० वटाभन्दा धेरै दशैँको प्रत्यक्ष अनुभव छ तर पछिल्ला १०–१२ वटा दशैँ भने सीतादेवीलाई दशैँजस्तो लागेको छैन । झन्डै १२ वर्षअघि माटोको घर भत्काएर कङ्क्रिट र सिमेन्टबाट नयाँ घर बनाएपछि रातो माटो र कमेरोले घर लितपोत गर्नु त परैजाओस् तिनलाई देख्नसमेत नपाएको उनी बताउँछिन् ।

‘जति नै दुःख भए पनि घटस्थापना आउनुभन्दा केही दिन अघिदेखि नै पहेँलो रङ र रातो माटो तथा कमेरो ल्याएर घर चिटिक्क पार्दा दशैँ आए झैँ लाग्थ्यो तर अहिले सुख भए पनि दशैँजस्तो लाग्दैन’, सीतादेवीको भनाइ छ । उनीजस्तै रातो माटो र कमेरोले पोतेका घर नदेख्दा ७० काट्नुभएकी हुप्सेकोट गाउँपालिका ३ कि खगिसरा काफ्ले पनि आजकालको दशैँ खल्लो लाग्ने गरेको बताउँछिन् । ‘जमानाअनुसार चल्नैपर्ने, के–के हो के–के रङ लगाएर घर त रङ्ग्याइन्छ तर रातो माटो र कमेरोजस्तो हुँदो रहेनछ’, उनी भन्छिन् ।

विगतमा दशैँ र तिहारका समयमा रातोमाटो र कमेरोले घर रङ्ग्याउने प्रचलन हराउँदै गएको छ । विशेषगरी परम्परागत शैलीका ढुङ्गा, माटो तथा काठ प्रयोग गरी बनाइएका घरमा ती सामग्रीको प्रयोग हुने गर्दथ्यो । पछिल्लो समय आधुनिकतासँगै सिमेन्टको प्रयोग हुन थालेपछि ती वस्तुको प्रचलन हराउँदै गएको हो । पितृपक्ष सकिएलगत्तै घटस्थापनादेखि दशैँ सुरु हुन्छ । दशैँ सुरु हुनासाथ सबैभन्दा पहिले आफ्नो घर, आँगन सफा गर्ने तथा रङरोगन गर्ने चलन थियो । घटस्थापनाका दिन जमरा राख्नुअघि घरलाई रातो माटो र कमेरोले चिटिक्क पारेर लितपोत गरी घरलाई चोखो पारेर जमरा राख्ने गरिन्थ्यो तर पछिल्ला केही वर्षयता गाउँ घरतिर पनि कङ्क्रिट तथा सिमेन्टको घर बन्ने क्रम बढेपछि रातो माटो र कमेरोले लिपेका घर देखिन छोडेको छ ।

केही वर्ष पहिले महाराजा सामुदायिक वनमा रहेको रातो माटोको डाँडामा दशैँ आउनु अगाडिदेखि नै रातो माटो लिन आउनेको भिड लाग्थ्यो तर पछिल्ला केही वर्षदेखि रातो माटो लिन आउने मान्छे औँलामा गन्न सकिने पुगेका सामुदायिक वनका हेरालु गणेश चन्द बताउँछन् । आधुनिकता सँगसँगै विकासको लहर गाउँमा पसेपछि रातो माटो र कमेरोले लिपेका घर आजकल निक्कै कम देखिन्छन् । कङ्क्रिट र सिमेन्टको घरमा बजारबाट कृत्रिम रङ ल्याएर घर रङ्ग्याउने चलन बढेसँगै रातो माटो र कमेराले घर पोत्ने चलन हराउँदै जान लागेको पण्डित रिमप्रसाद आचार्य बताउँछन् । कुनै बेला दशैँ आउनु पहिलै रातो माटोले घर लितपोत गरेर चिटिक्क पार्ने, बाबियोको डोरीको लिङ्गे पिङ बनाउने, सबै मिलेर गाउँका बाटाघाटा र मठमन्दिर सफाइ गर्ने गरिन्थ्यो तर आजकाल आधुनिकताका नाम यस्ता चलन हराउँदै गएको र समाज साघुँरिदै गएको उहाँको भनाइ छ ।

‘केही वर्षअघि घरमा रातो माटो र कमेरोले लितपोत गर्नु दशैँ तिहारसँगै जोएिको संस्कृतिको अर्को पाटोजस्तै बनेको थियो’, पण्डित आचार्य भन्छन्, ‘आधुनिकतासँगै विगतका प्रचलन हराउँदै गएपछि अहिलेको पुस्तालाई भने ती कुरा इतिहासजस्तै बन्ने गरेका छन् ।’ त्यति मात्रै होइन दशैँ आएसँगै दशैँका लागि आवश्यक चिउरा, चामल, तेल गाउँकै ढिँकी, जाँतो र कोलमा कुटानीपिसानी गर्ने चलन थियो । बढ्दो आधुनिकता र प्रविधिका कारण गाउँ घरमा अहिले ढिकी, जाँतो र कोल पनि हराउँदै गएका छन् । चाडबाडका बेला सुनिने ढिकी, जाँतो र कोलको आवाज सुनिन छाडेको छ ।

आधुनिकता र प्रविधिको बढ्दो प्रयोग र विकाससँगै दशैँ, तिहारलगायत चाडपर्वको मौलिकता घट्दै गएको छ । दशैँलगायतका चाडपर्व सुरु हुनु अगाडि रातो माटो, कमेराले घर आँगन लितपोत गरेर रङ्ग्याउने र लिङ्गेपिङ हाल्ने, चलन हराउँदै जाँदा चाडपर्व खानपान र आधुनिकताको रमाइलोमा मात्रै सीमित हुँदै गएकामा संस्कृतिविद्ले चिन्ता व्यक्त गरेका छन् ।

 सक्षमता र गगन थापा

Previous article

नेपालमा कफि संस्कृतिकाे रूपमा माैलाउँदै, उत्पादन र उत्पादकत्वमा भने ठूलाे समस्या

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *