- प्रा.डा. कमल गौतम
गगन थापा अहिले एउटा परिपक्व राष्ट्रिय व्यक्तित्व(नेता)को रुपमा देखापरेका छन् । उनी अध्ययनशील छन्, बिषयबस्तु ग्रहण गर्ने, बिश्लेषण गरी प्रस्तुत गर्ने अलौकिक क्षमता उनमा छ । विपक्षीलाई धारे हात लगाएर निम्नस्तरको टिप्पणी गरेको अनुभब मेरो स्मरणमा छैन । उनमा उच्च राजनीतिक संस्कार छ, सबैभन्दा ठुलो कुरा उनमा अरुको कुरा सुन्ने धैर्यता छ, आलोचना पचाउने क्षमता छ अनि निराशालाई आशामा रुपान्तरण गर्ने क्षमता छ । उनको प्रस्तुतिले विपक्षीलाई मसला मिल्छ कहिलेकाहीं तथापि उनको अबिचलित अडान रहेको पाइन्छ आफ्नो प्रस्तुतिप्रति ।
थापामा आफुले बोलेको कुरामा इमान्दारितासाथ प्रतिबाद गर्ने र त्यसलाई स्थापित गर्ने क्षमता छ संसदमा कतिपय राष्ट्रिय तथा अन्तराष्ट्रिय मुद्दामा उनको प्रस्तुतिले बहस खडा गर्दछ तर त्यसमा उनको अडान अविचलित देखिन्छ । उनको गौरबपूर्ण बिगतको जगमा बर्तमान सफलता हात लागेको छ । व्यक्तित्वको बिकासमा अपरिहार्य मानिने बिबिध पक्षहरुको सन्दर्भबाट गगन थापा एउटा परिपक्क राजनीतिक व्यक्तित्वको रुपमा स्थापित भएको पाइन्छ ! व्यक्तित्व बिकासमा अपरिहार्य मानिने तत्वहरुको बारेमा संक्षिप्तमा चर्चा गरौँ:
संचार शिप सम्बन्धि सक्षमता :- यस प्रकारको सक्षमताले व्यक्तिलाई सहि सूचना प्राप्त गर्न, संस्लेषण गर्न, पृष्ठपोषण प्राप्त गर्न र आफ्नो धारणा बनाउन मद्दत गर्दछ । यस सन्दर्भमा गगन थापा सक्षम पात्र हुन् ! उनमा भिन्न भिन्न स्रोतबाट प्राप्त हुने सूचनालाई ग्रहण गरी आबश्यकता अनुसार सम्पादन गरी प्रस्तुत हुने क्षमता देखिन्छ ।
योजना निर्माण र प्रशासनिक सक्षमता :- व्यक्तित्व बिकासमा निपुर्णता ल्याउन यस प्रकारको क्षमता अपरिहार्य रहन्छ । गगन थापाले स्वास्थ्यमन्त्रीको छोटो कार्यकालमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बढाउन अनेकौं अल्पकालीन र दिर्घकालीन योजनाहरु बनाए जुन कल्याणकारी राज्यको लागि अपरिहार्य थिए, छन् ।
बहु सांस्कृतिक क्षेत्र समेट्ने सक्षमता:- युवाबस्थामै पार्टीको कार्यकारी हैसियतमा पुग्नु सहज छैन, गगन थापामा सबैलाई समेट्ने क्षमता छ । उनी युबामैत्री छन्, अग्रज प्रति सम्मानपूर्ण ब्यबहार प्रदर्शन गर्छन, बालबालिकाका लागि प्रेरणाका स्रोत बनेका छन् भने दलित, जनजाति, अल्पसंख्यक र लैङ्गिक मैत्री छन् ! व्यक्तित्व बिकासको यो अर्को अपरिहार्य पाटो उनमा रहेको देखिन्छ ।
समूह परिचालन शीपको सक्षमता:- व्यक्ति आफै जतिसुकै सक्षम किन नहोस उसमा समुहलाई परिचालन गर्ने क्षमता छैन भने उसलाई सफलतामा पुग्न सहज हुँदैन । बिद्यार्थी कालखण्डको नेतृत्व गर्दा, नेविसंघको कार्यकारी हैसियतमा रहंदा र पार्टीको कार्यकारी हैसियत सम्मानजनक मतबाट प्राप्त गर्दै गर्दा गगन थापामा समूह परिचालनको बिशिष्ट क्षमता रहेको बुझ्न गार्हों छैन ।
आफु स्वयंलाइ ब्यबस्थित गर्ने क्षमता:- व्यक्तित्व बिकासको यो अर्को महत्वपुर्ण पाटो हो । एउटा व्यक्ति बिबिध भूमिकामा रहेको हुन्छ । उ जन्ती हो, मलामी हो, परिबारको संरक्षक हो र अन्य कैयौं भूमिकामा बाँधिएको व्यक्ति हो । जबसम्म व्यक्तिले आफैलाई ब्यबस्थित गर्दैन, उसको व्यक्तित्व बिकास सन्तुलित हुँदैन । गगन थापामा स्वयं ब्यबस्थित हुने क्षमता देखिन्छ । उनमा अध्ययनबाट आफुलाई अध्याबधिक राख्ने, अनुभबबाट सिक्ने, भिन्न परिवेशलाई सूक्ष्म अध्ययन गर्ने र आबश्यक लाभ लिन सक्ने क्षमता छ जसले उनलाई राजनीतिक उचाई प्राप्त गर्न सघाएको छ ।
कार्य सम्पादन सक्षमता :- माथि उल्लेखित समाई प्रकारका सक्षमताको समष्टिगत स्वरूपनै कार्य सक्षमता हो । सुचनाको प्राप्ति र बिश्लेषण गर्ने, योजना निर्माण गर्ने, भिन्न परिबेशमा कार्य गर्न सक्ने, समूह परिचालनमा निपुर्णता प्राप्त गरेको व्यक्तिमा कार्य सम्पादन क्षमताको बिकास हुन्छ जसले परिपक्क राष्ट्रिय व्यक्तित्वको रुपमा स्थापित गर्दछ । गगन थापा कार्य सम्पादन सक्षमताको हिसाबले समेत अब्बल देखिएका छन् !
सारांशमा भन्नु पर्दा, गगन थापा अध्ययन, अनुभब र बिबिध कालखण्डमा आरोह अबरोह व्यहोर्दै सफलता हासिल गरेका ब्यक्तित्व हुन् , उनमा स्रोतपुर्णता छ र विज्ञता छ जसको आधारमा उनले मुलुकको कार्यकारी हैसियत प्राप्त गर्दा सफलताकासाथ पुरा गर्ने क्षमता राख्छन् । काठमाडौं क्षेत्र नं ४ बाट यस्तो खारिएको व्यक्तित्वले निर्बाचनमा विजय हासिल गर्नु पर्दछ जसबाट निर्वाचन क्षेत्रले मात्र नभैं समग्र मुलुकले नै सफल रा सक्षम नेतृत्व प्राप्त गर्न सक्छ ।
(लेखक गाैतम त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन्)
Comments