प्रकृतिराष्ट्रियवातावरणसमसामयिक

पाटन त्रिवेणीमा पर्यटक तान्ने कसरत, संरक्षित क्षेत्र बनाउने तयारी

0

चारैतिर हरियाली नै हरियाली ।  बुकी फूलले ढपक्क ढाकेका पाटन । बीचबाट तीन वटा सुसाउँदै गरेका खोला । तीन खोलाको संगममा बनाइएको मन्दिर । याे प्राकृतिक सुन्दरताकाे सुगन्धमा चराको चिरबिर आवाज र बेलाबेलाको घाम र कुहिरोको लुकामारीले यहाँ पुग्ने जोकोहीलाई ‘धर्तीमै स्वर्ग’ भेटिएको आभास मिल्छ। यस्तो ठाउँ हो कालीकोटको त्रिवेणी पाटन।

त्रिवेणी पाटनलाई संरक्षित क्षेत्र बनाउने तयारी स्थानीय सरकारको छ। सान्नी त्रिवेणी गाउँपालिकाले संरक्षित क्षेत्रको रूपमा विकास गर्न लागिएको जनाएको हो। यहाँ कस्तुरी, मृग, हिउँचितुवा, हिमालयन थार, हिमाली भालु, वनकुकुर, नायरलगायत विभिन्न किसिमका वन्यजन्तु पाइने भएकाले यसलाई संरक्षित क्षेत्रको रूपमा घोषणा गर्ने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष महेश केसीले बताए। भने, ‘त्रिवेणी पाटन देशकै सम्पदा हो, यहाँ पाइने दुर्लभ वन्यजन्तुको संरक्षण गर्नु आवश्यक छ। पर्यटनको विकासका लागि पनि हामीले यसलाई संरक्षित क्षेत्र बनाउने तयारी गरेका हौं।’

डाँफे, मुनाललगायतका दुर्लभ पन्छीहरू पनि यहाँ पाइन्छन्। पछिल्लो समय यहाँका व्यवसायीहरूले विकासका लागि व्यक्तिगत र संस्थागत प्रयास थालेका छन्। प्रदेश सरकारबाट गत वर्षमा १ करोड ४५ लाख बजेट खर्चेर तीन ठाउँमा धर्मशाला निर्माण गरेको छ। यो वर्ष प्रदेश सरकारबाट त्रिवेणीमा धर्मशाला, खानेपानी धारा र शौचालय निर्माणका लागि झन्डै ७ करोड बजेट विनियोजन भएको छ। गाउँपालिकाबाट त्रिवेणीसम्म जोड्ने सडक करिब १० किलोमिटर पहिले नै ट्र्याक खोलिएको छ। अझै ५० किलोमिटर जति सडकको ट्र्याक खोलेर त्यसको स्तरोन्नति गर्ने गाउँपालिकाको योजना छ।

त्रिवेणी पाटनमा हाल आन्तरिक पर्यटक मात्र पुग्ने गरेका छन्। प्रचारको अभावमा विदेशी पर्यटकहरू भित्रिन सकेका छैनन्। तर अब स्थानीय पर्यटन व्यवसायीले पर्यटक तान्नका लागि प्रयास गर्न थालेका छन्। सान्नी त्रिवेणी गाउँपालिका—७ का पर्यटन व्यवसायी मनराज सिम्खडाले त्रिवेणीमा पर्यटन व्यवसायको सम्भावना रहेको बताए। उनले त्रिवेणी एड्भ्यान्चर फर्म र त्रिवेणी सामुदायिक होमस्टे सञ्चालन गरेर त्रिवेणीलाई पर्यटकको गन्तव्य बनाउने योजनामा जुटेका छन्। उनले हाल कर्णालीमा सिम्रिक एयरसँगको सहकार्यमा हरेक वर्ष साउन पूर्णिमाको बेला हेलिकोप्टरमार्फत पर्यटकलाई त्रिवेणी घुमाउने कार्य सुरु गरेका छन्।

यो सुरुवातसँगै त्रिवेणी घुम्न आउने पर्यटकहरूको संख्या निकै बढेको छ। त्रिवेणीमा चिया खुवाउनेदेखि साइकिलिङ गर्ने कार्यले त्यहाँ जाने मानिसमा थप उत्साह बढेको छ। सिम्रिक एयरबाट त्रिवेणी भ्रमणमा गएका कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले त्रिवेणी नेपालकै सुन्दर भूमि भएको आफूले अनुभुति गरेको बताए। उनले भने, ‘त्रिवेणी कल्पना गरेभन्दा फरक र निकै आनन्दित छ, मैले पनि नेपालका धेरै पर्यटकीय गन्तव्यहरू घुमेको छु। तर त्रिवेणी पाटनमा जस्तो आनन्द अन्यत्र भएन।’ उनले यसलाई आन्तरिक तथा बाह्य पर्यटकहरूको गन्तव्य बनाउन तीन तहका सरकारहरूले सहकार्य गर्नुपर्ने बताए। यसले युवाहरूले पनि रोजगारी पाउने उनको भनाइ छ।अन्नपुर्णकाे समाचारमा आधारित ।

सिन्धुपाल्चाेकमा वार्षिक २१०० मेट्रिक टन लप्सी उत्पादन हुँदै

Previous article

बाँझाे जमिनमा खेतीपाती गर्ने किसानलाइ प्रतिराेपनीका दरले भत्ताकाे कार्यक्रम

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *