काराेवार/अर्थतन्त्रविकासविशेषसमसामयिक

बृद्धाश्रमझैँ बनिसकेकाे पौवादुङ गाउँ बन्याे अकबरे खुर्सानीकाे हब 

0

  • बसन्त अर्याल

भोजपुरका गाउँ केही वर्षयता रित्तिनथालेका थिए। युवापुस्ता विदेशिँदै गर्दा जमिन बाँझै सुक्नथालेका थिए। परिवार छिन्नभिन्न हुँदै थियो। घरमा वृद्धवृद्धा एक्लिँदै गएका थिए। तर यो उराठलाग्दो माहोल अब बदलिन थालेको छ। झण्डै झण्डै वृद्धाश्रमझैँ लाग्ने ती गाउँमा नयाँ उत्साह थपिएको छ। धमाधम विदेश जाने युवा कोभिड महामारीपछि गाउँमै रोकिएका छन्। सहर झरेका पनि गाउँ फर्किएका छन्। परिवारसँगै बसेका छन्।

यो खुसीको कारण भने अकबरे खुर्सानी हो। शिक्षा, स्वास्थ्य, व्यापारलगायतको कारणले भइरहेको बसाइसराइ रोकिएपछि परिवार नै यसको खेतीमा लागेका छन्। बाँझा जमिनमा लटरम्म अकबरे फल्न थालेका छन्। अकबरे उत्पादनको लागि केहीले फर्म नै स्थापना गरेका छन्।

गाउँमा यस्तो बदलाव ल्याउनमा जीवन राउतले महत्वपूर्ण भूमिका खेलेका छन्। उनकै पहलमा बाँझा हुँदै गएका गाउँका जमिन अकबरेले भरिएको छ। व्यवसायी र समाजसेवीको पहिचान बनाएका राउत कोभिडअघि ट्राभल व्यवसायमा आबद्ध थिए। कोभिडको कारण काम बन्द भएपछि उनी पनि गाउँ पसेका थिए। सहरबाट गाउँमा फर्किएकाले परम्परागत कृषि कर्म गर्नसक्ने अवस्था थिएन। गाउँमा मकैलगायतका बाली लगाउँदा बाँदरले हैरान परिरहेको थियो।

राउत छिटो, सहज र हावापानीअनुसार व्यावसायिक रुपमा के उत्पादन   सकिन्छ छलफल गरे। गाउँमा केही किसानले अकबरे खुर्सानी लगाएका थिए। ठूलो मात्रामा थिएन।नेपालमा विदेशबाट खुर्सानी आइरहेको अवस्थामा अकबरे खुर्सानी व्यवसाय गर्न सकिने नसकिनेबारे सोधखोज गरे। गाउँलेहरुसँग सरसल्लाह गरे। काम अघि बढ्ने भयो। तर उनीहरुलाई खेतीमा प्रोत्साहन गर्न सजिलो थिएन। अधिकांशले छिमेकीले अकबरे लगाएको देखेर आफैँ लगाउन थालेका हुन्।

‘तपाईंहरू जति उत्पादन गर्न सक्नुहुन्छ गर्नु। बजारको जिम्मा मेरो भयो।’बजारको सुनिश्चितता भएपछि किसानले पनि बारीभरी अकबरे लगाए। राउतले सुरुवाती अवस्थामा आफैँले किनिदिने र राम्रो बजार पाए आफैँ बिक्री गर्नसक्ने सुझाएका थिए। सोसँगै उत्पादन हुनथाल्यो।

‘नगदेबाली भएकाले अकबरेबाट किसानले ३ महिनामै नगद आम्दानी गर्न सक्छन् सहजै कमाउन सक्छन्’, राउत भन्छन्, ‘मकै २ कोठा फल्ने ठाउँमा खुर्सानी ३ लाखको फल्न थाल्यो। त्यसअघि भोजपुरमा थोरै मात्र उत्पादन भइरहेको थियो। आफूले व्यावसायिक रुपमा उत्पादन र बजार प्रवद्र्धन गर्न प्रोत्साहन गरेको राउतको भनाइ छ।

त्यसो त राउतले पनि अकबरे उत्पादन गर्न जेबी एग्रो फर्म दर्ता गरे। अहिले उनी आफैँ पनि यसमा सामेल छन्, गाउँलेलाई प्रोत्साहन गरिरहेका छन्। भोजपुरका ३ पालिकामा व्यावसायिक रुपमा अकबरे उत्पादन हुनथालेको छ। ‘समुदायमा आधारित कृषि व्यवसाय गरिरहेका छौँ’, राउत भन्छन्, ‘खाद्यान्नबाट छिटो आम्दानी गर्न सकिँदैन। त्यसैले नगदेबालीतर्फ लागेका हौँ।’

उत्पादनको लहर नै चलेपछि पौवादुङमा गाउँपालिका अकबरे हब बनेको छ। यसका ६ वटै वडा अकबरे खुर्सानीले ढाकेको छ। त्यस्तै अरुण गाउँपालिकामा र भोजपुर नगरपालिकाका वडामा व्यावसायिक रुपमै अकबरे खुर्सानी उत्पादन भइरहेको छ। कतिपय परिवार सबै अकबरे खुर्सानी उत्पादनमा लागेका छन्। भोजपुरका ४–५ किसानको अकबरे खुर्सानी साह्रै लोभलाग्दो रहेको उनी बताउँछन्।

१०० रोपनीसम्म किसानहरू अकबरे लगाएका छन्। भोजपुरका यी पालिकाले वार्षिक २५० टनदेखि ३०० टन अर्थात् ३ लाख किलो अकबरे उत्पादन गर्छन्।‘सबैभन्दा ठूलो हामी व्यक्तिभन्दा पनि सामुदायिक रुपमा काम गरिरहेका छौँ’, उनी भन्छन्, ‘विदेश जाने युवालाई रोक्ने भनेको व्यावसायिक कृषि नै हो।’

अकबरे खुर्सानी गाउँको रैथाने बाली भएको राउत बताउँछन्। भोजपुरमा रोपिएका अकबरे पहिलादेखिकै निरन्तरता हो। अकबरे खुर्सानीको लागि भोजपुरसँगै इलाम, धनकुटा, सिन्धुली, रामेछाप, दोलखा, पाल्पा, गुल्मी, अर्घखाँची र दैलेखमा बढी उत्पादन हुने गरेको छ।

अकबरेको लागि पहिला इलाम जिल्ला परिचित थियो। भोजपुरको हावापानीको कारण अहिले इलामभन्दा पनि भोजपुरमा बढी उत्पादन हुनथालेको छ। भोजपुरे खुकुरीले पहिचान बनाउँदै आएको भोजपुर अब अकबरे खुर्सानी उत्पादनमा प्रख्यात बन्नथालेको छ।

भोजपुरमा करिब ३५ सय परिवारले अकबरे उत्पादन गरी बिक्री गर्छन्। कसैले आफूलाई धेरै भएको बिक्री गर्छन् भने केहीले व्यावसायिक ठूलो परिमाणमै अकबरे लगाएका छन्। काँठ क्षेत्रमा अकबरेलाई ‘राय’ र पश्चिमतिर ‘ज्यानमारा’ खुर्सानी भन्ने गरेको उनले पाए।

‘अकबरे खुर्सानीलाई व्यावसायिक उत्पादन गर्दा बाहिरबाट बीउ ल्याएका छैनौँ’, उनले भने, ‘यहीँ आफैँ बढाउँदै गएका हौँ।’पश्चिमको उत्पादकले भैरहवाका उद्योगमा सप्लाई गर्छन्। राउत अकबरे उत्पादकलाई धेरै उत्पादन गर्ने सुझाव दिइरहेका छन्।

‘धेरै उत्पादन हुँदा पाउडर बनाउन सम्भव हुन्छ’, उनी भन्छन्, ‘पाउडर नेपालमा खपतसँगै विदेशमा निर्यात गर्न सहज हुन्छ।’अघिल्लो वर्ष व्यावसायिक रुपमै बेलायत, अमेरिका र क्यानडा अकबरे खुर्सानी निर्यात समेत गरेका छन्। व्यक्तिगत पार्सलको विदेशमा बस्ने नेपालीले भोजपुरे अकबरे लैजाने गरेका छन्। यो वर्ष भारतमा निर्यात सुरु भएको छ।

‘अमेरिकाको कम्पनीले अकबरे खुर्सानीको खरिद गर्न खोजेका छन्’, उनले सुनाए, ‘उनीहरूले आफ्नै स्पोन्सरमा अमेरिका आउनको लागि प्रस्ताव पठाएका छन्।’ अमेरिकामा प्याकेजिङ गरेर काँचो खुर्सानी नै पठाउँदै आएका छन्। अकबरे खुर्सानीको अचार बनाएर निर्यात गरिरहेका छन्।

वर्षमा ४ करोड ५० लाखको अकबरे बिक्री 
तरकारीहरूमा अकबरे खुर्सानी महंगो हुन्छ। तर अकबरे खुर्सानीमा कुनै ‘साइड इफेक्ट’ नहुने राउत बताउँछन्।  ‘अरु खुर्सानीजस्तो अकबरे खुर्सानी खाएर पेट बिग्रिने, पोल्ने समस्या हुँदैन’, राउत भन्छन्, ‘केही महंगो भए पनि स्वास्थ्यलाई हानि नगर्ने र अरुभन्दा छुट्टै स्वाद छ।’

अकबरे खुर्सानी उत्पादन गर्दा अन्य तरकारीमा जस्तो धेरै केमिकल प्रयोग हुँदैन। फागुनमा बीउ राख्ने चैत वैशाखमा बिरुवा रोप्दा साउन भदौमा अकबरे उत्पादन हुन थाल्छ। साउनदेखि मंसिरसम्म बढी उत्पादन हुन्छ। तुसारो लाग्ने थालेसँगै उत्पादन हुन छाड्छ।  ६ सयदेखि १५ सय मिटर उचाइसम्म अकबरे उत्पादन हुन्छ। १२ सयदेखि १५ सय मिटरसम्म राम्रो हुन्छ। उचाइमा फलेको अकबरे बाक्लो बोक्रा र कम दाना हुन्छ। त्यो बढी पिरो र स्वादिलो हुन्छ। अहिले अकबरेजस्तै हाइब्रिड आएको छ। तर धेरै पिरो हुँदैन।

गत वर्ष भोजपुरका ३ पालिकाबाट मात्रै साढे ४ करोड रुपैयाँको अकबरे खुर्सानी बिक्री भएको राउत बताउँछन् । ‘४ करोड ५० लाख रुपैयाँ गाउँकै उत्पादनबाट हुनु ठूलो कुरा हो’, उनले भने, ‘त्यहाँको हावापानीअनुसार खाद्यान्न बालीबाट त्यति उत्पादन गर्न सकिँदैन।’

आम्दानी बढ्न थालेसँगै यो वर्षको लागि ५ लाख अकबरे खुर्सानीका बिरुवा रोपेका थिए। ठूलो वर्षा र कृषकमा चेतनाको कमीले केही बिरुवा मरेका छन्। एकपटक रोपेको बिरुवा २ वर्षसम्म राम्रो उत्पादन दिन्छन्। तेस्रो वर्षबाट उत्पादन कम हुन थाल्छ। २ वर्षपछि किसानले फेरि रोप्नुपर्छ। अहिले गत वर्षभन्दा पनि बढी उत्पादन भइरहेको छ। तर अकबरेको मूल्य घट्दा आम्दानी धेरै बढ्नेछैन।नेपालखबर

च्यानेखाेलामा अबैध उत्खनन् र वासिङ जारी, राेकिएन बुढानिलकण्ठमा प्रकृति दाेहन

Previous article

खोला मास्ने निर्णय गर्ने जनप्रतिनिधि कारबाहीकाे भागिदार हुनु नपर्ने ?

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *