- दिपेन्द्र अधिकारी
जान्दा नजान्दा समयदेखि नै अभिव्यक्त नगरे पनि कता-कता मलाई प्रकृति र प्राकृतिक मानिस मन पर्थ्यो। पर्छ पनि। हामी ढुक्क, आनन्द, रहन सक्दा मात्र हाम्रो स्वास्थ्यलाई सन्तुलित राख्न सकिन्छ, आजकल महसुस गर्दैछु। मलाई लाग्थ्यो, चेतनशील मानव भएकाले प्रकृतिसँग जसरी भर परिन्छ त्यसरी नै मानिस मानिससँग पनि भर पर्नु पर्छ। धोका प्रकृतिले पनि दिएको महसुस गर्छौं। हैन र ? जस्तै – लटरम्म फलेको फलमा एक्कासी असिना पर्दा सबै मेहनत नष्ट भयो भन्दै प्रकृतिले धोका दियो भनेर भगवानसँग दुःख पोखिरहेका हुन्छौं।
यसरी नै मानिसले पनि दिन्छन् कहिलेकाहिँ तर सधैं हैन। बुझ्न जरूरी छ हामी मानवले। प्रकृतिले पनि, मानिसले पनि धोका दिनुमा केही न केही कारण पक्कै हुनुपर्दछ। पहिला यसको कारण बुझ्नतिर लागियो भने पुरै अन्त्य नभए पनि धेरै हदसम्म सामाजिक समस्या न्यूनीकरण गर्न सकिन्छ। साँच्चै प्रकृतिले को सोझो र फटाहा भनेर रोज्दैन भने मानिसले सोझो मानिसलाई प्रायः धोका दिने, चिट गर्ने गर्छन् तर नगर्नु पर्ने हो। चेतनशील मानवहरूबीच एकपटकको सम्वन्ध सदियौं टिकिरहन पर्ने हो तर टिक्न सक्दैन किन भने त्यहाँ भोक, रोग, शोक, लोभ, लाभ, प्राप्ति, ऐस, आराम, प्यास, तृष्णा केही न केही गुण (अवगुण?) हरेकमा हुन्छ जसले मानव चेतनशील मानवबीच प्रतिस्पर्धी भावना या शत्रुता पैदा हुन्छ।
नेपालको वर्तमान समयमा वातावरण वा पर्यावरणलाई अनि देशको अस्वस्थ अवस्थालाई अति महत्वका साथ हेर्नुपर्ने हुन्छ। विशेष आजकल विश्वमा हरेक देशका योजनाकार र नीति निर्माताहरू पर्यावरणलाई असर पार्ने तत्वहरूको पहिचान गरेरमात्र निर्णय लिने तथा विकास योजना बनाउन सुरू गरिसकेका छन्।
पक्कै पनि विगतमा मानिसले पर्यावरणप्रति गरेको बेवास्ताको परिणाम आज विभिन्न समस्या बढिरहेको छ। यो विभिन्न अध्ययनहरुले पुष्टि गरेका छन्। आधुनिकीकरणको क्रममा तिनीहरूबाट उत्पन्न प्रत्युत्पादक अनि नकारात्मक परिणाम तथा त्यसले मानिसको जनजीवनमा पारेको नोक्सानी बुझ्दा जैविक वस्तुको संरक्षण र पर्यावरणको दिगो विकास पनि दीर्घजीवी हुँदैन भन्ने कुरा वैज्ञानिकले पनि बुझेका छन्। वास्तवमा भन्ने हो भने मानव जातिको समुन्नति एवं अस्तित्व विकासका लागि पर्यावरणको महत्व प्रष्ट भइसकेको छ।
अतः पृथ्वीका सम्पूर्ण जातिको सुख समृद्धिका लागि आर्थिक तथा सामाजिक क्रियाकलापको जे–जति महत्व छ त्योभन्दा बढी पर्यावरणको संरक्षण पनि अपरिहार्य छ। हुन त राम्रा कुराहरूको विकास हुने क्रममा नराम्रा कुराहरू पनि धेरथोर जोडिएर आउँछन्। नेपालमा जे भइराखेको छ त्यो सबै नराम्रो भएको छ भन्ने पनि हैन। राम्रो गर्ने हरेकको प्रयास भने रहेको देखिन्छ। तर पनि चेतनाको अभावमा भइरहेको विकास हेर्दा एक माथि दुई तल झरेजस्तो लाग्छ।
दोष दिएर विकासै हुने भए म पनि यो लेखमा अरूलाई दोषै दिएर लेख्थें तर मलाई मेरो सोचले दोष दिएर लेख्न दिदैन। दोष दिएर गाली गरेर टक्टकिएर हिंडेपछि महान बनिन्छ भन्ने पनि होइन। अरुलाई दोष थोपर्दैमा समस्या निमिट्यान्न हुन्छ भन्ने त झन् हुँदै होइन। यस्तो सोचाइले अधोगतितिरको यात्रा मात्र सम्भव छ।
कतिपय अवस्थामा हामी अरु नयाँ मान्छे देखे हास्छौं तर के खोजेको हो यो मान्छेले हामीले सोच्दैनौ। यो नै हाम्रो कमजोरी हो। चेतना, भावना सबै भए पनि पूर्ण प्राकृतिक बन्न सकेनौं। प्रायः विदेशमा ढिलो काम गरे पनि, अकस्मात विदामा बसे पनि, अकस्मात काम छाडेर हिंडे पनि नेपाली मन पराउँछन्। खासगरी मेरो अहिलेको कर्म देश जापानका नेपाली। अरु देशको अवस्था पनि यस्तै हुन सक्छ। कारण हो– नेपालीको सितलपन, मिलनसार, न्यानो भावना। विश्वमा यस हिसाबले हामी नेपालीको पहिचान छ। यो पहिचान हामी आफैंले आफूभित्र पनि गर्न सक्नुपर्छ।
यसो भनिरहँदा नेपालमा किन विकासको काममा अलमल छ? के नेपाल विकासको गतिमा हिंडिसकेको छ? यसमा विचार पुर्याउनुपर्छ। आधुनिक पूर्वाधारका पक्षहरुमा ध्यान नदिइ अबको विकास पूरा हुँदैन। परम्परागत सोचले विकासको गति अघि बढ्न कठिन हुन्छ। यसरी हेर्दा अब नेपालमा वास्तवमै सानादेखि ठूला रेल आवश्यक छ। विकास विरोधीहरू पनि छन्। भिजन हुने नेताहरू, जनताहरू जुन पार्टीमा भए पनि बुझिराखेका छन्। बुझ्न जरूरी पनि छ। विशेष हामी देशभित्रै होस् या विदेशमा बस्ने सबै नेपालीले बुझ्न जरूरी छ।
आजकल काठमाडौंको त के कुरा पोखरा पनि दिनानुदिन धमिलिएको छ। प्रदूषण बढ्दो क्रममा रहेकाले नाक, मुख, छालाको रोग बढ्दै जाँदैछ। एक त माटो बालुवाको धुलो, आवश्यकभन्दा बढी मोटरसाइकल र गाडी, ट्रकहरूको धुवाँ, ध्वनि प्रदुषण व्यापक छ। बिहानै न्यानो पाहार ताप्न मिल्थ्यो पोखरामा आजकल त ९–१० बजेसम्म सूर्यको ताप धुलो तुवाँलो, हुस्सुले छेकेको हुन्छ। हुस्सु र तुवाँलो प्राकृतिक भए पनि मानवीय गतिविधिबाट उत्पन्न धुलो अप्राकृतिक हुन् यो बढ्दो क्रममा छ।
गाउँगाउँमा प्लाष्टिक जलाउने चलन रहेछ। यसबाट झन् कति वातावरण प्रदुषण होला? यो चेतनाको अभावमा भएको हुनुपर्छ। अब यसरी कसरी पोखरा सुन्दर रहला अबको १० वर्षमा? कुरा पोखराको मात्र हैन अन्य सुन्दर ठाउँ सुदूर पूर्वमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ्ग, सुदुर पश्चिम, सम्पूर्ण सुन्दर नेपालकै रूप कस्तो होला चिन्ताको बिषय भएको छ। किन अकस्मात काठमाडौंको अन्तराष्ट्रिय विमानस्थलमा हुस्सुले गर्दा उडानहरु अवतरण रोकिनपर्छ? के यो प्राकृतिक कारणले मात्र हो त? मौसम मात्र यसको जिम्मवार हो त? यसमा अब गम्भीर भएर सोच्न ढिला हुन लागेको छ।
हुन त यहाँ पूर्वपश्चिम रेलभन्दा, नेपाललाई रेल चाहिँदैन भन्ने पुराना नेताहरू पनि थुप्रै छन् देशमा। नेपालमा वातावरण प्रदूषण कम गर्ने बित्तिकै यसै स्वर्ग बन्छ देश। भन्नै पर्दैन स्वीजरल्याण्ड जस्तै बनाउँछु भनेर। आफैं सुन्दर नेपाल बन्छ। समुद्र त छैन तर समुद्रको बन्दरगाहरूमा पहुँच बढाउन सके आफ्नै पानी जहाजहरू भए सरल तरिकाले स्वदेशी उत्पादन विदेशको बजारमा पुर्याउन सकिन्छ। अन्यत्रबाट आवश्यक सामान ल्याउन सहज हुन्छ।
समुद्रले ठगे पनि आकास, हिमाल, पहाडको र नदीनालाहरूको बरदान मिलेको छ हामीलाई। स्याटेलाइटमा नेपाल सरकारले व्यापक बिकास गर्न पर्छ। स्पेसमा नेपाली वैज्ञानिक, विज्ञ जाने र धेरै हाम्रै विभिन्न च्यानलहरू स्थापना गर्न नेपाल अग्रसर हुन पर्छ। नदीनालाहरूमा साना ठूला धेरै जलाशयहरूको ब्यवस्था गर्न पर्छ। जलविद्युत त एक नम्बर भयो नै सँगै माछा पालनमा ब्यापकता, कृषि, र्याफ्टिङ्ग, साना पानीजहाजको व्यवस्था गरी मज्जाले आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ। सकेसम्म सबैतिर बिद्युतको मात्र प्रयोग आगामी १० वर्षमा गर्न प्रयास गर्ने हो भने वातावरणमा पक्कै सुधार आउँछ।
सपना देख्नेलाई उल्लु बनाउन छाडेर सब नेपाली एक भएर सुन्दर नेपाल, समृद्ध नेपाल, सुखी र खुसी नेपाली बनेर संसारलाई सन्देश दिन सक्नु पर्छ। निकट छिमेकी दुई ठूला देश हाम्रो बोझ हैनन् बरदान हुन यो अवसर हामीले लिन सक्न पर्छ । यो कुरा सम्भव हुन्छ जब हामीले छिमेकीहरूलाई गाली हैन सम्मान गर्न सक्छौं, सहकार्य गर्न सक्छौं। अन्ध देशभक्तको नाममा छिमेकलाई गाली गरेर बस्न छाड्नुपर्छ।
जताततै जैविक वस्तु संरक्षण र वातावरण सुधार शब्द निकै उच्चारण गरे पनि यसले के कति कुराहरू समेट्छ भन्ने बारेमा यो सम्बन्धित विज्ञहरूसँग बसेर छलफल गर्नुपर्छ भन्ने चेतमा पुगेको पाइन्न। विभिन्न विद्वान तथा पर्यावरण विज्ञहरूका विचारमा गहिरिएर विचार गर्ने हो भने पर्यावरण वा जैविक वस्तु हामी हाम्रै वरिपरिका प्राकृतिक वस्तुहरू, जैविक तथा अजैविक भौतिक वस्तुहरू, सामाजिक तथा मानव निर्मित सांस्कृतिक संरचना तथा तिनबाट मानव पशु, तथा अन्य जीव, जन्तु, प्राणीको जैविक गतिविधिबाट सिर्जित सम्पूर्ण सजीव तथा निर्जीव वस्तुलाई असर पार्ने परिवेशले हरेक तत्वलाई एक आपसमा बाँधेको छ।
पृथ्वीमा भएका अनेकौं तत्वहरूमध्ये कुनै एकको घटी वा बढीले अरुलाई समेत प्रभाव पार्दछ। अझ भन्ने हो भने अन्य प्राणी वनस्पति तथा समग्रमा मानव जातिको अस्तित्वमा समेत प्रश्न चिह्न खडा गर्न सक्दछ। त्यसकारण पृथ्वीमा भएका विविध तत्वको आत्मनिर्भरताका कारणले गर्दा नै मानव जातिले पर्यावरणको बचावट र संरक्षणका लागि चिन्तित हुनुपर्ने अवस्था देखापरेको छ। पर्यावरणमा देखिने असन्तुलनले मानिसका आर्थिक, सामाजिक, मानसिक, अन्य स्वास्थ्य जीवनमा जैविक लगायतका समग्र प्राणीको क्रियाकलापमा प्रत्यक्ष, अप्रत्य क्षरूपमा प्रभावित पारिरहेको छ।
मेरा लागि नेपाल सधैं प्यारो। त्यसैले मातृभूमिको विकास र अवस्थाप्रति निरन्तर चासो हुने नै भयो। नेपालमा लगानी गर्न जब बिदेशीहरूलाई सहज बनाइएको थियो तब केही जापानी विज्ञहरूले विशेष भक्तपुर र धनगढीको अध्ययन गरेर स्मार्ट सिटी बनाउन सकिन्छ भन्ने प्रतिवेदन दिएका थिए। त्यसमा कत्तिको ध्यान गएको छ?
केही समयअघि नेपाल गएका बेला धनगढी जाँदाजाँदै बाटोबाटै फर्किन पर्यो। त्यसपछि जाने अनुकूल फेरि मिलेन। भक्तपुर भने जापानी टिमसँग र पछि म एक्लै पनि गएको थिएँ। भक्तपुर अत्यन्तै राम्रो भए पनि पुरानो संस्कृति पुरानै तरिकाले जबरजस्त जनमानसमा बसेकाले नयाँ आधुनिक स्मार्ट सिटी बनाउन असक्षम छ भन्ने कुराकानी चल्दै गर्दा कोरोना महामारी सुरू हुनाले अब त यो च्याप्टर पनि हाम्रो तर्फबाट बन्द भयो।
वातावरण या पानीमा लगानी गर्न खोज्ने टिमले पनि नेपालमा लगानी गर्न असमर्थ भैरहेको बेलामा हिजोआज नेपालमा ‘एमसीसी’ भुत बनेर बसेको छ। न गर्नै सके न इन्कार गर्न सक्ने। ठिक छ या गलत त्यो अध्ययनको पाटो हो पक्कै पनि तर अब कतिले राजनीतिक दाउपेचमा कस्लाई कति फाइदा आउँछ। जनता ढाँटेर भन्दै हिसाबमा कसरत गरेको देख्दा नेपालको भविष्य अझै अन्धकारमय लाग्छ।
एक दिन भक्तपुरमा रातभरी एकटकले नरोकिने भौं भौं भुस्याहा कुकुरको भुकाई रोक्न घरपालुवा कुकुर बाहेक अन्य हटाउन सक्ने हिम्मत कस्ले गर्ने? आधुनिक जस्तो मानिने बस्तीमा जहाँ भुस्याहा कुकुर पनि कम हुन्छन्, एकाबिहानै घर घरको गेटमा चरालाई खानेकुरा राख्ने, घरैघर हुनाले चरा खान आउन नपाउने, गेटमा खाना फोहोर भएर दुर्गन्ध बढ्ने, तर घरपालुवा कुकुरले नखाने। यो पनि एक किसिमले दुर्गन्ध बढाउन सहयोग गरेको जस्तो लाग्छ।
पातमा भात, दूध, फलफूल, पैसा राखेर गेटमा राख्दैमा पाइने आशिर्वाद, यसबारे ब्याख्या गर्न जरूरी छ यसै विरोध गरिए ‘धर्मविरोधी’ भनेर उल्टै दोषी ठहर्याउने समाजमा। मन्दिरमा फूल, पैसासम्म ठिक छ तर रगतदेखि अरु अनावश्यक कुरा चढाउन अब वातानरणीय समस्याले गर्दा रोक्न पर्छ, स्वच्छ मनले भगवान जोमा आस्था छ, सम्झौं फूल चढाएर पुजौं।
विकास कुरेर बसेको काठमाडौं धुलोको शहरले परिवर्तनको पनि लहर रचेको त छ। तर बुद्धजस्तो एक्लो वृहस्पति चुपचाप अपमान सहेर मन्दिरमा मात्र सजिनु भएको छ, मनमा आत्मामा हैन। भिमसेन देश भन्दा भन्दै सेरिए, बलभद्रहरू देश जिताउँदै गर्दा आफ्नैबाट घेरिए। यस्तोदेखि झसङ्ग हुन्छ घरिघरी इतिहास सम्झदा पनि।
साँच्चै अल्छी नगरी इतिहास सम्झिदा शिर उठाएर गर्व गर्ने बनायो निष्ठा बोकेका नेपाली इतिहास आज मौन शोकाकूल मलामीको फिर्ती चौतारी जस्तै गोरेटोमा कुरेर बसेको छ। गरिबको त्यो पुरानो कपडामा बारुदको गन्ध फैलिएको छ, धिक्कार छ गौतम बुद्ध किन तिमी मात्र एक्लो जन्मियौ र पवित्र बनायौ हाम्रो धर्ती?
एउटा पहाड छ हिमालयको सञ्जीवनी जडिबुटी भएको गजबको आहा…गाँजा फुक्दै संसार हाँक्ने ती गौरवशाली कैलाशपति। श्रीकृष्णको अबसानपछि युद्ध बिर्सेका भारतवंश जस्तै छन् तर पनि सुटुक्क अमेरिकाको ट्वीन टावरमा पुरिएका छन्।
म यो तीन वर्षमा कयौंपटक नेपाल गएँ। यसपटक पनि लगभग ४५ दिन जति विभिन्न ठाउँ घुमें। विकास धेरै भएको पनि पाएँ तर अधुरो। पानीले देश डुबाएको बेला पानी नपाएर मर्न पर्ने नेपाली नेपालमै भेटिए। अन्धकारमा, कठाङ्ग्रिएर बस्दा प्लाष्टिक जलाएर जिउ तताएको भेटिए। आजकल कोरोनाले मास्क सबैले लगाउँदै गर्दै बाटो भरी मास्कहरू भेटिए।
यस्तै प्रसङ्गमा पोखराको होटल ब्यवसायी नरेश भट्टराई सरले भन्नु भएको कुरा याद आयो। आजकल चरा चुरूङ्गीहरूले मास्क टिपेर गुँड बनाउन थाले। चल्ला निस्केर विकसित हुँदै गर्दा जब उड्ने उमेर हुन्छ तब दुबै खुट्टा मास्कमा बेरिएर हिंड्न सक्ने स्थिति नभएको घटना सुनाउनु भयो। यो समस्या झन् बढ्दै जाने देखिन्छ। विकास भित्र्याएर विनासको व्यवस्थापन गर्न सकेका छैनौं। हुन त सबैभन्दा पहिला राजनीतिको फोहोर व्यवस्थापन नै प्राथमिकता भन्न परेको छ।
Comments