राजनीतिविशेष

जब जनसागरले “बालेन ! बालेन !!” मात्र चिच्याइरह्याे

0

यसपाला इन्द्रजात्राको औपचारिक समारोह धेरै अर्थमा साेचमग्न थियाे । सदाझै इन्द्रजात्राकाे औपचारिकमा राष्ट्रप्रमुख र प्रधानमन्त्री दुवै उपस्थित थिए। तर, यसपल्ट त्यहाँबाट बुझिने गरी एउटा अभूतपूर्व राजनीतिक सन्देश पनि आयो। इन्द्रजात्रामा उपस्थित भीडले मात्र मेयर बालेन शाहलाई चिन्यो, सम्मान र हर्षमा चिच्यायो। राष्ट्रपति र प्रधानमन्त्रीलाई उसले स्वीकारेनमात्र हैन चिनेन । आउँदो चुनावमा इन्द्रजात्राको यो सन्देश कसरी प्रतिविम्बित नहोला भन्न सकिन्न। तर, नेपालको राजनीति, संस्कृति र राजनीतिक होला भन्न सकिन्न । तर, नेपालको राजनीति, संस्कृति र राजनीतिक संस्कृतिमा इन्द्रजात्राको महत्व अझै स्थापित हुन सक्छ भन्ने संकेत हो यो।

राज्यको चौतर्फी असफलता र नेतृत्व तहमा आसीनहरूको भ्रष्ट अनुहारबाट आम जनतामा विकर्षण बढेकाले वर्तमान नेताहरू र उनीहरूले आफ्नो स्वार्थका लागि बोकेको यो राजनीतिक व्यवस्था धराशयी हुनै पर्छ भन्ने सन्देश पनि हो यो। यसलाई कुनै राजनीतिक पद्धतिका सिद्धान्त, आदर्श या मान्यताका आधारमा हैन, मुलुकमा यसै साताका केही घटनाको आलोकमा विवेचना गरी राजनीति बुझ्न सहज हुनेछ।

चीनका नेसनल पिपुल्स कांग्रेसका अध्यक्ष तथा मुलुकका तेस्रा वरिष्ठ नेता ली चान्सु नेपालको चार दिने भ्रमणमा आए, फर्किए। घोषित आमनिर्वाचनभन्दा १० साताअघि आएका चान्सु यात्राको सन्देश नेपालका लागि के थियो र चीनका लागि के थियो, त्यो तत्कालै नबुझिएका तर उनको चारदिने बसाइमा कमसेकम काठमाडौँबासीले बुझ्न र प्रत्यक्ष अनुभव गर्न सके कि नेपाल सरकारमा एउटा भीभीआईपी भ्रमणलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने क्षमता छैन। दुई/दुई वटा क्षेत्रीय सहयोग संगठन (सार्क) र दर्जनौँ ‘हेड अफ द स्टेट’ को राजकीय यात्रालाई आतिथेय प्रदान गरेको मुलुकमा एउटा प्रभावशाली पाहुना आउँदा सबै उत्पादकत्वसँग सरोकार राख्ने गतिविधि र निर्धारित कार्यक्रमहरू अस्तव्यस्त हुन पुग्छन्। सरकार महारानी एलिजावेथ द्वितीयको निधनमा कर्मकाण्डी राष्ट्रिय शोक घोषणा गर्छ र अर्को भीभीआईपीको सम्मानमा राज्यको व्यवस्थापिका प्रमुख भोज दिन्छन्, अनि त्यसको बहिष्कारको सार्वजनिक घोषणा व्यवस्थापिकाकै एउटा सदनले अभ्यास गर्छन्।

अर्को एउटा घटना लिऊँ। आगामी असोज ८ गतेदेखि ५ कात्तिकबीच नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको पहिलो नेपाली टी–२० फ्रेन्चाइज लिग स्थगन भएको छ। कारण, गृह मन्त्रालयले खेलाडी तथा खेल सञ्चालन र व्यवस्थापनका लागि सुरक्षा दिन असमर्थता जनाएको छ। यसबाट अन्तराष्ट्रिय जगत्‌मा मुलुकको क्षमतासँगै यहाँको शान्ति सुरक्षाको स्तरबारे के सन्देश जाला, त्यसले आर्थिक लगानीलगायत पर्यटकको आवागमनमा पार्ने असरबारे सोच्ने क्षमता हाम्रा राज्य सञ्चालकहरूसँग छैन। त्यसैले जनता अब राष्ट्रपति र प्रधानमन्त्रीलाई हैन, एउटा युवा मेयरले के अर्थ राख्छ, त्यता फर्कन थाकेका छन्।

बालेन शाह पक्कै पनि काठमाडौँ महानगरपालिकामा सीमित नेतृत्व हुने र अझै पनि उनी राजनीतिक या प्रशासनिक ‘प्रोवेशन’मा छन् तर अहिलेको व्यवस्था र त्यसलाई प्रतिनिधित्व गर्ने उच्चतम संस्था र व्यक्तिहरूप्रतिको बढ्दो अस्वीकृति आशंकाभन्दा बढी यथार्थ बनेको छ। आउँदो निर्वाचनमा थुप्रै युवा स्वतन्त्रमा रूपमा चुनाव लड्दैछन् खासगरी संघीय संसद्‌मा। तर, मौजुदा व्यवस्थाका नेताहरूको असफलताभन्दा आफ्ना चरित्र र मान्यतामा जनताको अनुमोदन खोज्नपट्टि उनीहरू लागेनन् भने, उनीहरूले मुलुकको राजनीतिक स्वास्थ्य र अहिलेको गिर्दो छविलाई सुधार्न सक्ने छैनन्।

नेपालको आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेपलाई स्विकार्ने १२–बुँदे ‘लोकतन्त्र’ सँगै अहिले द्वन्द्वकालका हत्यालाई सामान्य घटना मानी द्वन्द्व व्यवस्थापन र संक्रमणकालीन न्याय सुनिश्चित गर्न लागेको सत्ता गठबन्धनलाई वैकल्पिक राजनीतिका योद्धाहरूले कसरी हेर्छन्, स्पष्ट पार्नु जरुरी छ। यसमा सवाल गोविन्द बन्दी, प्रचण्ड या शेरबहादुर देउवाविरुद्ध मात्र हैन, गगन थापा, विश्वप्रकाश शर्मा, सुवास नेम्वाङविरुद्ध पनि तेर्सिनेछ। के उनीहरूको नजरमा हत्या क्षम्य र सामान्य घटना नै हो त?

राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वले पनि ‘पछि आममाफी’हुने आश्वासनका साथ शान्ति प्रक्रिया र राजनीति पद्धतिमाथि बाहिरी शक्तिको आडमा ०६३को माओवादीलगायतका परिचालित शक्तिहरूको नियन्त्रण स्थापित गरिएको तथ्यलाई बाहिर ल्याउन आवश्यक छ। गणतन्त्र र धर्मनिरपेक्षता ती अवधारणाका समर्थक जनताको विधि र प्रक्रियासम्मत अनुमोदनबाट नभएर इयान मार्टिनदेखि श्याम सरणसम्मका षड्यन्त्र र धोखाधडीबाट लादिएको थियो नेपालमा। त्यो परिवर्तनका ‘बाइप्रोडक्ट’ मुलुकको भोगाइ बनेको छ आज जहाँ भ्रष्टहरू शासन गरिरहेका छन्, कुनै जवाफदेहीता बिना। जहाँ राज्यका संवैधानिक अंगहरूबीच अन्तरकलह छ र ती अंगहरू पतनका अवश्यंभावी क्रममा छन्।

चोलेन्द्रशमशेर राणा प्रकरण त्यो पतनको सायद अन्तिम र स्वाभाविक परिणिति हो, यद्यपि यो प्रकरणमा तटस्थ या उनीविरुद्ध लागेकाहरू यसको सुरुवाती बिन्दुलाई सम्बोधन नगरी राणालाई तिकडम या महाभियोगको अस्त्रले हटाएमा न्यायपालिकाको शुद्धीकरण हुन्छ भन्ने भ्रममा थिए। वास्तवमा त्यो भ्रम पाल्नेहरू स्वयं नै आफ्नो स्वार्थका कारण द्वैध मान्यता र चरित्र प्रदर्शन गर्दै आएका व्यक्ति र समूहहरू नै हुन्।

प्रकृतिमैत्री पूर्वाधार विकासबाट टाढिँदै नेपाल

Previous article

च्यानेखाेलामा अबैध उत्खनन् र वासिङ जारी, राेकिएन बुढानिलकण्ठमा प्रकृति दाेहन

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *