- यशराज गाैतम
२०४६ सालको जन आन्दोलनले एकदलिय पञ्चायती शासनलाई विस्थापित गरी बहुदलीय शासन प्रणालिलाई स्थापित गर्यो । राजाको एकदलीय प्रत्यक्ष शासन अन्त्य हुँदै सिमित अधिकारसमेतको सम्वैधानिक राजतन्त्रको उदय भयो । देश भनेको जनताको घर हो । जनताले आफ्नो घरको संरक्षण, सम्वर्धन, बिकास गर्छु भन्दा नराम्रो लाग्ने कुरै थिएन । शासन सत्ता फेरिए पनि असन्तुष्टिको क्रम थामिएन । थिचो मिचोमा परेका जनतालाई अवसर र अधिकार दिलाउँछौ भन्दै दश वर्षे माओवादी जनयुद्ध र ०६२/६३ को आन्दोलनको जगमा नेपालमा राजतन्त्रको अन्त्य भइ गणतन्त्र नेपालको प्रादुर्भाव भयो ।
राजाको पारिवारिक शासन पद्दतिको अन्त्य गरि जनताद्वारा, जनताका लागि शासन गर्ने लोकतान्त्रिक पद्धतिको बिकास भयो । ०४६ सालमा अंकुराएको बहुदलीय ब्यबस्थाको बीउ राजनितिक दलका भातृ संगठन हुँदै आज गाउँ टोल छिमेकदेखि हरेक नागरिकको चुल्होसम्म पुग्यो । कर्मचारी राजनितिक दलको, शिक्षक राजनितिक दलको, पत्रकार राजनितिक दलको, न्यायालय राजनितिक दलको, विद्यार्थी, व्यापारी, चिकित्सक, श्रमिक, क्लब, टोल, इकाई, ब्यक्ति सबै राजनितिक दलको ।
फलस्वरूप नागरिक नागरिक रहेनन । सबै पाटिका कार्यकर्ता बने । फलाना त हाम्रो संघठनको मान्छे हो । उसलाई जे गरे पनि छुट छ । शासककै संरक्षकत्वमा नियम मिच्न छुट छ । भ्रष्टाचार गर्न छुट छ । आज दलिय भागबण्डाले गर्दा हरेक बर्ग, हरेक निकाय, हरेक अंगमा राजनितिक दलको संरचना खडा भएका छन् । बहुदलीय ब्यबस्थाले के गर्न खोजेको थियो ? संगठनको संरचना टोल टोलसम्म, घर घरसम्म, चुल्हो चुल्होसम्म फैलाउने संस्कृतिले समाजको संरचना धुजाधुजा भएको महशुस हुन्छ ।
ब्यक्ति-ब्यक्ति मिलेर समाज बन्छ तर त्यहि ब्यक्ति-ब्यक्ति छुट्याएर कस्तो समाजको परिकल्पना गर्ने ? बहुदलीय शासन आएको पनि तीन दशकभन्दा बढी भयो । जनताका छोराछोरी प्रधानमन्त्री भए । जनताका छोराछोरी राष्ट्रपति भए ।बहुदलीय ब्यबस्थाको वकालती खुबै भए तर त्यसले सार्थकता पाउन सकेको महशूस भएको छैन । ब्यबस्था फेरियो अवस्था फेरिएको छैन । हिजो एउटा शासक हुन्थ्यो । आज जताततै शासक नै शासक छन् तर पनि बेथिती यत्रतत्र देखिएका छन् । जनतामा असन्तुष्टिका आवाजहरु छरप्रष्ट देखिन्छ । जनता रनभुल्लमा छन् कि “त्यो ब्यबस्था ठीक थियो कि, यो ब्यबस्था ठीक हो ?” राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्र, एकल शासन, जहाँनिया शासन, कर्मचारी शासन संसारभरी प्रचलनमा रहेको सबै शासन व्यवस्था परिक्षण भए तर कुनै पनि शासन नेपालको निमित्त सुखद भएको देखिदैन ।
यी सबै शासन ब्यबस्था किन बिफल भएका हुन ? संसारका सबै प्रकारका प्रचलित शासन व्यवस्थाहरु हाम्रो देश नेपालमा बिफल हुनुको कारणको अब समिक्षा गर्नुपर्ने दिन आएको छ । हाम्रो देश नेपालमा प्रयोग भएका सबैखाले शासन ब्यबस्थाको एउटा साझा कमजोरी के हो भने “बिधिको शासन” को स्पष्ट अभाव । यहाँ शासन ब्यबस्था, प्रणाली सबै प्रयोगमा आए तर बिधिको शासन आउन सकेन । यहाँ दोस व्यवस्था, तन्त्र या बादको होइन, दोस शासकको हो । जसले बिधिलाई भन्दा आफ्नो र आफ्नाहरुको स्वार्थलाई केन्द्रमा राखे । कुनै पनि ब्यवस्था आफैमा खराब छैनन । खराब भए हाम्रा शासकहरु ।
यहाँ ब्यक्तिले शासन गरे, दलले शासन गरे, समुहले शासन गरे तर बिधिले शासन गर्न सकेनन । उनीहरुको नजरमा गरिव र धनी, बलियो र निर्धो, आफ्ना र पराई, ठुला र साना बिच कहिल्यै एकसमान ब्यबहार हुन सकेन । बिधिको शासनमा कानुनी सर्वोच्चता कायम हुन्छ । कानुन भन्दा माथी कोहि हुँदैनन । बरु ब्यक्ति स्वेच्छाचारी हुन सक्छ तर कानुन स्वेच्छाचारी हुँदैन ।
बिधिको शासनमा कानुन नै सर्वोच्च हुन्छ । विधि सबैको लागि समान हुन्छ । स्वयं राष्ट्रपति, प्रधानमन्त्री पनि विधिद्वारा निर्मित, विधि द्वारा परिचालित र बिधिद्वारा नियन्त्रित हुन्छन् । यदि शासन ब्यक्तिले होइन, कानुनले गरेको भए हामीले आर्जेको व्यबस्था सफल हुन्थे होला । हामिले बिकसित देशको तन्त्र नक्कल मात्र गर्याैँ तर मन्त्र बुझ्न सकेनौ । हाम्रा व्यवस्था तथा पद्धति समस्या होइन, बेथिती समस्या हो ।
Comments