विकासका संरचनाका कारण देशभरका रहेका सिमसार क्षेत्रहरु मासिदै जान थालेका छन् । जनसंख्या बृद्धिसँगै अव्यवस्थित बसोबास, विकास निर्माणलगायतका कारण जिल्लाका सिमसार क्षेत्र मासिदै जान थालेका हुन् । सिमसारका जग्गा अतिक्रमण, अव्यवस्थित विकासको होड, जलवायु परिवर्तनलगायतका कारण सिमसार क्षेत्र सुख्खा र उजाड बन्न थालेका हुन् ।
सिमसार क्षेत्र मासिदै जान थालेपछि त्यहा पाइने जलप्राणी समेत लोप हुँदै गएका छन् । केही वर्ष पहिलेसम्म कछुवा पाइने सल्यानकाे कालीमाटी गाउँपालिकामा रहेको कछुवा दहमा आजभोलि कछुवा पाइँदैनन् । कछुवा पाइने भएकाले कछुवा दह नाम राखिएको यस दहमा मानिसको जनसंख्या बढ्दै जानु, कछुवाको चोरी शिकार गर्नु, बढ्दो जंगल फडानी, जथाभावी सडक निर्माण गर्नुलगायत कारणले कछुवा पाइन छोडेको स्थानीयको भनाइ छ ।
विगतमा यस दहमा दर्जन बढी कछुवा देखिने भए पनि अहिले कछुवा देखिन छोडेको स्थानीय इन्द्रलाल पौडेलले बताउनुभयो । ‘यो दह सिमसार क्षेत्र हो । यहाँ कछुवा, माछा, जलचरा प्रशस्त पाइन्थे । अहिले संरक्षणमा कसैको चासो र चिन्ता छैन, कछुवा पाइने यहाँको ठूलो दह हेर्दाहेर्दै गाईभैंसी आहाल बस्ने पोखरीमा परिणत भएको छ’– उनले भने । पहिले घाँस दाउरा, गाई चराउन गएको बेलामा कछुवा देखिने भए पनि विगत १०÷१५ वर्षयता दहमा कछुवा देखिन छोडेको उनको भनाइ छ ।
जिल्लाको मुख्य सिमसारको रूपमा रहेका कुपिण्डे ताल, कछुवा दह, शारदा नदी, बनगाड खोला, मर्म खोला लगायत रहेका छन् । सिमसार क्षेत्र मासिदै जान थालेपछि त्यहाँ आहारा नपाइने गरेकाले चरा तथा अन्य प्राणी समेत लोप हुँदै जान थालेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । बढ्दो शहरीकरण, यातायात, अव्यवस्थित विकास निर्माणलगायतका कारण सिमसार क्षेत्र व्यवस्थापनमा चुनौती थपिएको कार्यालयको भनाइ छ ।
कार्यालयका निमित्त डिभिजनल वन अधिकृत रमेशकुमार गिरीले सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन गर्न सके कृषि, सिंचाई, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता, जनावरको संरक्षण, स्थानीयवासीको लागि आयआर्जनको माध्यम, स्थानीय तह अर्थतन्त्रमा आत्मनिर्भर हुने बताउनुभयो । नदी तथा खोलाबाट अव्यवस्थित ढङ्गले ढुंगा बालुवा गिट्टी निकाल्ने कार्य गर्दा सिमसार क्षेत्र पुरिदै र नासिदै जान थालेको उहाँको भनाइ छ ।
‘सिमसारले पानीको भण्डारण र सफाइ, जैविक विविधताको आश्रयस्थल, खाद्यान्न र जडीबुटी, सांस्कृतिक, धार्मिक र ऐतिहासिक पर्यटकीयस्थल आदिको उपयोगिता प्रदान गर्दछ’– उनले भने– ‘सिमसार क्षेत्रको संरक्षण एवं प्रवद्र्धन गर्न वृक्षारोपण, रिचार्ज पोखरी निर्माणलगायतका कार्य वन कार्यालयले गर्दै आएको छ ।’ भौतिक विकासको तीब्र माग र अदूरदर्शी योजना कार्यान्वयनले गर्दा पोखरी, दह, खोला, कुवाको महत्व घट्दै, पुरिदै, सुक्दै र अन्य उपयोगमा जाँदै मासिदै जाँदा समस्या भएको कार्यालयले जनाएको छ । जसका कारण एकातिर दैनिक आवश्यकताका लागि पानीको स्रोत मासिदै गएको छ भने अर्कोतर्फ जलस्रोतले प्रदान गर्ने फाइदा सदाका लागि लोप हुँदै जान थालेका छन् ।
Comments