प्रकृतिवातावरणसमसामयिक

नेपाली किसानमा छैन पन्क्षीप्रेम, किसान चरामैत्री नहुँदा खेतबारीमा आउने चराहरू समस्यामा

0

चरा मन नपर्ने को नै होला र ! सबैलाई मन पर्ने र खेती किसानीको काममा सहयोगी भूमिका निर्वाह गर्ने चराको आयाम खोतल्ने प्रयास गरेका छन् पन्छी अनुसन्धानकर्मी हेम कटुवालले। उनले कपिलवस्तु, चितवन, सर्लाही र सुनसरीका ७४३ किसानसँग वार्ता गरी चरा सम्बन्धी ज्ञानको उजागर गर्ने जमर्को गरेका हुन्।

कटुवालले १६ देखि ८७ वर्षसम्मका किसानसँग विभिन्न चराबारे जिज्ञासा राखेका थिए। उनीहरूले चरा चिने पनि त्यसको प्रजातिको नाम भने थाहा नपाएको हेमको अनुभव छ।  साधारण लेखपढ गर्न सक्ने किसानलाई चरा मार्नु हुँदैन भन्ने जानकारी नभएको अध्ययनका क्रममा पाइएको कटुवाल बताउँछन्। कतिपय किसान भने चराको रूपरङ र आवाजले मोहित हुने गरेका रहेछन्।

धेरै किसानलाई खेतबारीमा आउने चराको संख्या घट्नुमा चोरी शिकारी, विषादीको अनियन्त्रित प्रयोग, बारीका डिलमा चरालाई गुँड लगाउने ठूला रूख नभएकाले हो भन्ने लाग्दो रहेछ। नेपालको परम्परागत खेती गर्ने अभ्यास चरामैत्री छ। चराले बालीनालीमा लाग्ने किरा खाएर सघाउँछ भन्ने केही किसानले बुझेका छन्। तर, आम किसान चराप्रति नकारात्मक धारण राख्छन्।

“चरा जोगाउने हो भने किसानहरूलाई चरा सम्बन्धी ज्ञान तथा जानकारी दिन जरुरी छ,” कटुवाल भन्छन्, “पर्यावरण र चराको महत्त्वबारे जानकारी प्रसार गर्न जरुरी छ।”

विकसित मुलुकमा पर्यावरणमैत्री कृषि कार्यक्रम लागू भए पनि विकासोन्मुख मुलुकमा भने त्यस्ता कार्यक्रम छैन। “नेपालमा त खेतबारीमा आउने चरा जोगाउनुपर्छ भन्ने सूचना, जानकारी कहीं कतैबाट प्रसार हुन सकेको छैन। चरा जोगाउने कुरा त झन् परको कुरा,” कटुवाल भन्छन्।

नेपालमा संरक्षण प्रयास ठूला प्रजातिमा केन्द्रित छ। ती प्राणी संरक्षण क्षेत्रमा हुन्छन्। संरक्षण क्षेत्रबाहिरका क्षेत्र र खेत खलियानमा संरक्षणका जानकारी र सूचना पुग्न सकेको छैन। वन विभागले वन क्षेत्र हेर्छ भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले संरक्षित क्षेत्र। अन्य क्षेत्रका लागि संरक्षण क्रियाकलाप गर्ने कुनै निकाय छैन।

खेतबारीमा चरा मात्र होइन‚ कृषि जैविक विविधता जोगाउन किसानहरूको ठूलो महत्त्व हुन्छ। पुस्तौंदेखि देखेको चराबारे किसानहरूलाई ज्ञान हुने गर्छ। चराको प्रजनन‚ जोखिम र स्थानीय पर्यावरणको ज्ञान उनीहरूलाई हुन्छ। नेपालमा खेती र बालीसँग सम्बन्धित कृषि अनुसन्धान भए पनि कृषि क्षेत्रको चराबारे अध्ययन नभए बराबर नै छ। “खेतबारीका चराबारे अध्ययन विश्वव्यापी प्राथमिकतामा पनि परेको छैन‚ नेपालमा भने आधारभूत सूचना पनि नभएको अवस्था छ,” कटुवाल बताउँछन्।

भूमि व्यवस्थापन र चराको विविधताबारे दक्षिणएशियमा नै कम अध्ययन भएका छन् भने नेपालमा त यसबारे अध्ययन नै भएको छैन। दक्षिणएशियामा पाइने चरामध्ये २०-२५ प्रतिशत प्रजातिले खेतबारीमा पाइन्छन्। नेपालमा पाइने कुल चरा प्रजातिमा २५ प्रतिशत चरा खेतबारीमा पाइन्छन्, तीनमा २० प्रजाति विश्वव्यापी जोखिममा परेका चरा प्रजाति छन्। त्यस्ता चरामा बगाले बगेडी, भुँडीफोर गरुड र सारस लगायत पर्दछन्।

“नेपालमा चरा घटेको भनिन्छ तर के कति घट्यो भने अध्ययन भएको छैन‚” कटुवाल भन्छन्‚ “खेतबारीमा आउने चराको संख्याबारे पनि यसै हो भन्न सकिने अवस्था छैन।”

यद्यपि‚ कटुवालले कपिलवस्तु, चितवन, सर्लाही र सुनसरीमा गरेको अध्ययनले किसानको चरा सम्बन्धी ज्ञान, चराले दिने पर्यावरणीय सेवा सम्बन्धी ज्ञान, चराको प्रवृत्ति, चरालाई भइरहेका चुनौतीबारे बुझ्ने आधार दिएको छ। कटुवाल भन्छन्‚ “हामीले पश्चिममा कपिलवस्तु, मध्य क्षेत्रमा चितवन र सर्लाही र पूर्वमा सुनसरीमा गरेका थियौं।” अध्ययन क्षेत्रमा दुईवटा संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्ष छन् भने अन्य दुई जिल्ला कपिलवस्तु र सर्लाहीमा संरक्षित क्षेत्र छैनन्। यी क्षेत्रको मौसम उष्ण प्रदेशीय छ। मुख्य वनस्पतिमा साल, सिसौ, सिमल, खयर छन्।

अध्ययनका क्रममा किसानहरूलाई चराको फोटो देखाएर त्यसबारे सोधिखोजी गरेको उनी बताउँछन्। “चराबारे किसानको ज्ञानको परख गर्न हामीले १५ चरा प्रजातिको पोस्टकार्ड आकारको फोटो किसानहरूलाई देखायौं। त्यसमा पाँच प्रजाति आइयूसीएनको विश्वव्यापी जोखिम (ग्लोबल थ्रिटेन्ड) मा परेका प्रजाति थिए,” उनी भन्छन्, “जसमा  बगाले बगेडी (यल्लो ब्रिस्टेड बन्टिङ) पनि थिए।”

बगाले बगेडी हिउँदे आगन्तुक चरा हो। बसाइँसराइको क्रममा नेपालमा आउने यो चरा ५० देखि एक हजारसम्मको बथानमा आउँछन्। यी चरा नेपालमा कात्तिकदेखि जेठसम्मको झन्डै ६ महीनासम्म देखिन्छन्। अध्ययनमा समावेश अन्य १३ प्रजाति तराई क्षेत्रमा बच्चा कोरल्न आउने चरा थिए। किसानहरूले ती चरा देखेका छन् कि छैनन्, गुँड बनाउने चराको आनीबानी थाहा छ कि छैन, तिनको संख्या र संरक्षणको अवस्थाबारे थाहा छ कि छैन भन्ने अध्ययन गरिएको कटुवाल बताउँछन्।

अध्ययन क्रममा कपिलवस्तुमा १९७, चिवनमा २१०, सर्लाहीमा १६५, सुनसरी १८० जनालाई प्रश्न सोधिएको थियो। तीमध्ये ७२ प्रतिशत पुरुष थिए जसमा ६६ प्रतिशतले औपचारिक शिक्षा हासिल गरेका थिए। अध्ययनमा के देखियो भने जोखिममा परेको प्रजातिमा भुँडीफोर गरुड (लेसर एडजन्ट) धेरै देखिएको र चिनिएको चरा प्रजाति थियो। त्यस्तै, सुगा प्रजातिमा ‘प्लम्प हेडेड पाराकेट’ धेरै देखिने र सबैले चिन्ने प्रजाति थियो।

खेतबारीमा आउने चरा त किसानहरूले देख्ने नै भए। देखिएको चराहरूको गुँड देख्नुभएको छ भनी प्रश्न गर्दा ३० प्रतिशतले मात्रै देखेको बताएका थिए। चराको फोटो देखाउँदै अध्ययन गरिहँदा एक ठाउँमा त किसानले उनीहरूलाई चरा खोज्न आएको भन्ठाने छन्। तपाईंलाई चाहिएको चरा ल्याइदिन्छौं भनेर प्रस्ताव गरेछन्। यसबाट संरक्षणको सूचना जहाँ पुग्नुपर्ने हो, त्यहाँ पुग्नै सकेको रहेनछ भन्ने देखिएको कटुवाल बताउँछन्।(फाेटाेः सत्यम पाठक)  -महेश्वर आचार्य, हिमालखबर

 

“हिजाे खाेला मास्नेहरू नै आज कतिखेर बाढी आउला र गाली गरूँला भनेर बसेका हुन्छन्”

Previous article

डा. भट्टराइका प्रमुख चुनावी क्याम्पेनर तथा मिडिया काेर्डिनेटर नै किर्ते मतदाता

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *