प्रकृतिफोटो ग्यालरीविशेष

रूपवती ढाेरपाटनः चित्रकारले कुशलतापूर्वक कोरेको क्यानभास जस्तै

0

ढोरपाटन, जहाँ वन्यजन्तु शिकार गर्न पाइन्छ । किनभने यो नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र हो । यहाँ शिकार खेल्नका लागि देशी-विदेशी पेशेवर शिकारीको ओइरो लाग्छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समयमा, तोकिएको क्षेत्रमा जनवारको शिकार गर्न पाइन्छ । शिकारमा सौखिन विदेशी पर्यटकका लागि यो एक चर्चित गन्तव्य हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समय समयमा शिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वाषिर्क कोटा निर्धारण गर्छ र प्रतिस्पर्धाको आधारमा शिकार गराउँछ ।

ढोरपाटन अर्थात वन्यजन्तुको साम्राज्य, जहाँ ३२ थरीका स्तनधारी वन्यजन्तु छन् । १ सय ६४ प्रजातिका चराचुरुंगी । नाउर, झारल थार र हिमाली भालुलगायत दुर्लभ एवं संरक्षित पंक्षीहरु डाँफे, मुनाल, चिर आदिले यसलाई आफ्नो आश्रयस्थल बनाइरहेको छ ।

ढोरपाटन शिकार आरक्ष रुकुम, बाग्लुङ र म्याग्दी जिल्लाको केही भागमा फैलिएको छ । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ, घुस्तुङ गरी ७ वटा ब्लगमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था मिलाइएको छ ।

रुपवती ढोरपाटन

त्यसो त प्राकृतिक सौन्दर्यको कोणबाट पनि ढोरपाटन कम्ता रुपवती छैन । वषर्ायाममा अनन्तसम्म देखिने फाँट बनफूलले ढकमक्क हुन्छ । त्यही फाँटमा आफ्नै सुरले चरिरहेका घोडाहरु देख्दा कुनै चित्रकारले कुशलतापूर्वक कोरेको क्यानभास जस्तै देखिन्छन् । यहाँको मौसम पनि बडो बिचित्रको छ । क्षणमै छ्याङ्ग आकास खुल्छ, क्षणमै बादलले ढम्म ढाक्छ ।

उत्तरगंगा ढोरपाटनमा रहेको ढोर बराह मन्दिर धार्मिक हिसाबले प्रसिद्ध तीर्थस्थल हो । जनै पुणिर्मा, शिवरात्रिलगायत विभिन्न पर्वमा यहाँ तीर्थालुको भीड लाग्छ ।

ढोरपाटन आरक्षको हेटक्वाटरबाट ३ किलोमिटर पूर्वमा रहेको छ्यान्टुङ गुम्बा र तिब्बती बस्ती ढोरपाटनको अर्को आकर्षण हो । तिब्बती शरणार्थीका जनजीवन, संस्कृति र रहनसहन बुझ्न छ्यान्टुङ पुग्नैपर्छ ।

बुकी : एक रोमाञ्चक यात्रा

बुकी यात्रा नगरी ढोरपाटन घुम्नुको के अर्थ ? वर्षायाम सुरु भएपछि फाँटमा गाईबस्तुका लागि पर्याप्त चरण क्षेत्र हुँदैन । त्यसैले ढोरपाटनका गोठालाहरु वर्षायाम सुरु हुनुअघि नै गाइबस्तु धपाउँदै लेकतर्फ उक्लन्छन् । यसैलाई रैथाने भाषामा ‘बुकी उक्लनु’ भन्छन् ।

वैशाखमा लेकतिर उक्लिएका गोठालाहरु असोजमा मात्र ढोरपाटन र्फकन्छन् । बुकी परम्परा, गोठाला जनजीवनलाई नजिकबाट नियाल्न बुकी यात्रा एक रोमाञ्चक अवसर हुनसक्छ ।

ढोरपाटन प्रवेशअघि त्यहाँको मूख्य कार्यलयमा रहेको सूचना केन्द्र, संग्राहलयमा भने पुग्नु उपयुक्त हुन्छ ।

कुन याममा ढोरपाटन पुग्ने ?

हरेक याममा ढोरपाटन पुग्दा फरक फरक स्वाद भेटिन्छन् । रंगीचंगी फाँटमा घोडा चरिरहेको सुन्दर दृश्य हेर्नका लागि मनसुनमा ढोरपाटन उक्लनुपर्छ । शरद ऋतुमा माथि डाँडाहरु उक्लेर सुन्दर धौलागिरी, गुर्जा र चुरेन हिमालहरु नियाल्न सकिन्छ । जाडो याममा हिउँले ढाकिएका सुन्दर फाँटहरु झन् लोभलाग्दा देखिन्छन् ।

ढोरपाटनका कहाँ बस्ने ?

ढोरपाटनमा विभिन्न गाउँहरुमा होमस्टे र होटलहरु सञ्चालनमा छन् । दि ब्लुसिप होटल, स्याउबारी थकाली भान्छा घर, सामुदायिक होटल, पाँखाथर होमस्टे आदिमा अर्गानिक खाना, आतिथ्य सत्कार र सुविधा सम्पन्न कोठाको व्यवस्था छ । सिजनको समयमापहिले नै खबर गरेर पुग्दा धेरै सजिलो हुन्छ ।

ढोरपाटन कसरी पुग्ने ?

देशका मुख्य शहरहरु काठमाडौं, पोखरा लगायत विभिन्न ठाउँहरुबाट ढोरपाटन सजिलै पुगिन्छ । पोखराबाट मध्यपहाडी राजमार्गलाई पछ्याउँदै बस, गाडी वा बाइकमा पाँच घण्टामा बुर्तिबाङ पुगिन्छ । बुर्तिबाङबाट ढोरपाटनको ३० कि.मी. कच्चीबाटो जीप वा बाइकमा करिब दुई घण्टामा पुगिन्छ ।अनलाइनखबरबाट

नेपालकाे कृषि विकासकाे माेडलमै गम्भीर समस्या

Previous article

“हिजाे खाेला मास्नेहरू नै आज कतिखेर बाढी आउला र गाली गरूँला भनेर बसेका हुन्छन्”

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *