लाग्छ, मान्छे अब अतिक्रमण केन्द्रित छ, विनाश केन्द्रित छ । आफ्नाे लाभका लागि जे पनि गर्छ । मान्छेले भ्याएसम्म सार्वजनिक जमिन हडपेर आफ्नाे बनाउँछ । मान्छे सम्पदा, जंगल, जिवजन्तु बचाउन हैन मास्न उत्सुक छ । नाफा हुन्छ आफूलाइ भने जे पनि गर्छ मान्छे ।
काठमाडाैँकाे चाबहिलहुँदै जयबागेश्वरीबाट गाैशालतिर जाँदा दाहिनेपट्टि एउटा जंगलजस्तो देखिने ठाउँ छ । याे भण्डारखाल बगैँचा हो । याे त्यही ठाउँ हाे कुनै समय पशुपतिनाथ मन्दिरमा हुने ठूलाठूला भोज र सामूहिक प्रसाद कार्यक्रमका लागि आवश्यक अन्नपातको भण्डारण गरिन्थ्यो । फूलहरुका बगैँचा थियाे भण्डारखालमा । स्मरणहाेस्, राणाकालमा राज्यसत्ताका लागि भएकाे भण्डारखाल पर्व भएकाे ठाउँ भने हैन । कतिपयले यही भण्डारखाल बगैँचालाइ राणाकालमा भण्डारखाल पर्व भएकाे ठाउँ भनेर बुझ्ने गरेका पाइए पनि भण्डारखालपर्व भएकाे ठाउँचाहि हनुमानढाेकामा रहेकाे भण्डारखाल बँगैचामा हाे ।
यी दिनहरूमा पशुपति क्षेत्र विकास कोषले चर्चिरहेकाे बगैँचाको अबस्था हेर्नुहुन्छ हामी प्रकृतिप्रेमी हाैँ भने रून मनलाग्ने अबस्थामा पुगेकाे छ । पशुपति क्षेत्र विकास काेषले डा गाेविन्द टण्डन सदस्य सचिव हुँदा बगैँचा संरक्षण गर्ने भन्दै कतिपय स्थानमा कंक्रिट प्रयोग गर्याे । यसरी कंक्रिट ट्रयाक खाेल्दा कतिपय बनस्पति नासमात्र भएनन् बाँकी रहेका विरूवालाइ पानीकाे अभाव निम्त्यायाे । त्यतिखेर नै कतिपय वातावरणविद् तथा वनस्पतिप्रेमीहरूले याे बँगैचामा फुट ट्रयाकका नाममा कंक्रिट नहाल्न अनुराेध गरेका थिए । तर क्षेत्र विकास समितिले विकासविराेधी भनेर बिराेधकाे आवाजलाइ निस्तेज बनायाे ।
क्षेत्र विकास समितिले जथाभावि खाेलेकाे कंक्रिटकाे ट्रयाकले कुरूप बनेकाे बँगैचाकाे बाँकी खाली क्षेत्रलाइ स्थानीयवासीले अतिक्रमण गरे । ऐतिहासिक बँगैचालाइ खेल्ने ठाउँ बनाए । ऐतिहासिक र सांस्कृतिक पक्षको बेवास्ता गरी स्थानीयवासीले बगैँचामा क्रिकेट, ब्याटमिन्टन र टेनिस कोर्ट बनाएका छन् । बिहान ४ बजेदेखि नै प्रभातकालीन यात्रा र शारीरिक अभ्यासका लागि आउनेहरुको यहाँ भीड नै लाग्छ । अपरान्ह र साँझ पनि चहलपहल उस्तै छ । यहाँका बाँदरहरू यतिखेर मानवरूपी बाँदरका कारण समस्यामा परेका छन् ।
काठमाडौँमा खुला स्थान धेरै नभएकाले पनि बगैँचामा भिड देखिनु स्वाभाविक भन्ने तर्का लागे पनि यसरी मानव अतिक्रमणका कारण रुखबिरुवा तथा अरू सम्पदा नासिँदै गएका छन् । पछिल्ला केही वर्षयता २०० भन्दा धेरै रूख नासिएका छन् । यस बँगैचालाइ प्राकृतिक बनाउन पर्ने आवाज निकै झिनाे छ भने यत्रतत्र सर्वत्र नाश गर्नतिरमात्र लालयित देखिन्छन् । भण्डारखाल बगैँचाभित्रका कतिपय पुरातात्विक महत्त्वका धराेहरू पनि संरक्षणकाे अभावमा जीर्ण बनेका छन् । संरक्षणको जिम्मा लिएको वा पाएकाे पशुपति क्षेत्र विकास कोषको याे विषयमा यसप्रति पूरै बेवास्तामात्र हैन विनाशतिर लक्षित छ ।
Comments