राष्ट्रियविशेषसमसामयिक

तीजमा घर–माईती सम्झिदैँ द्रविभूत हुन्छन् देवघाट वृद्धाश्रमका आमाहरू

0

तीज आउने एक महिना अघिदेखि गाउँघरदेखि शहरसम्म दर खाँदै रमाईलो गरिरहेका छन् आमा दिदी बहिनीहरु । नारायगढ बजार आपपासका शहरी क्षेत्रका होटल रेष्टुरेन्टमा तीजका कार्यक्रमहरु धुमधामले चलिरहेको बेला नजिकै रहेको देवघाटधामको बृद्धाश्रममा रहेका आमाहरु भने तीज सम्झेर मात्रै बसिरहनु भएको छ ।

अरु समयमा भन्दा ती आमाहरुले तीजले निरस बनाउने गर्छ । तीजमा घरमा चेलिबेटी बोलाएर रमाईलो गरेको र आफै पनि माईत गएको स्मरण उनीहरुलाई भईनै रहन्छ । आज दरखाने दिन विगतलाई सम्झँदै उनीहरुलाई थप भावुक बनाउने गर्दछ ।

देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको देवघाट समाजकल्याण केन्द्र (बृद्धाश्रम) मा आश्रित भईरहेकी मकवानपुरको भीमफेदीकी ८८ वर्षिया सुभद्रा पुडासैनीले अरु बेलाभन्दा चाडपर्वको बेला बढी पोल्ने गरेको दुखेसो गरिन् । उनले भनिन् “दुःख पर्दा र चाडपर्व आउँदा आफन्त कोही हुँदैन । सम्झेर मात्रै बस्ने हो ।” पहिले पहिले छोरी र ईष्टमित्रलाई बोलाएर दर खुवाएको सम्झँदै उनले भनिन् “अहिले त मलाई तीज सुन्दा पनि नरमाईलो लाग्छ ।”

कान सुनेपनि आँखा नदेख्ने भएकाले संसार अध्यारो भए जस्तै लाग्ने दुखेसो गर्दै पुडासैनीले भनिन् “अब मैले जे भोगिरहेको छु, मेरा सन्तानले यस्तो भोग्न नपरोस् ।” एक छोरी मात्रै भएकी पुडासैनीका श्रीमान् पहिल्यै बितेपछि रेखदेख नपाएर उहाँ बृद्धाश्रममा आईपुगेकी हुन् । छोरी र नातीनातिनाले भेट्ने त कुरै छोडौं फोन समेत नगर्ने दुखेसो छ ।

सोही बृद्धाश्रममा रहेकी सिन्धुलीकी ७२ वर्षिया लक्ष्मीमाया श्रेष्ठ विगत नौ वर्षदेखि चाडपर्वलाई निरस बनाएर यही बसिरहेकी छिन् । उनले विगतको स्मरण गर्दै भनिन् “हाम्रो जातिले तीज नमनाउने भए पनि रमाईलो हेर्न गईन्थ्यो ।” खानपिनमा रमाउने गरेको विगतलाई सम्झँदै उहाँले अहिले कारागारमा बसेजस्तै भएको गुनासो गरिन् । उनले थपिन् “अरु बेला जेनतेन ठिकै हुन्छ, चाडपर्वमा निकै नरमाईलो लाग्छ ।”

श्रीमान् सानैमा बितेपछि दाजुभाउजुले नहेरेर विरक्तिदै बृद्धाश्रम आईपुग्नु भएकी श्रेष्ठ तीजसँगै पर्वहरु आउने भएकाले अबका दिनले घर सम्झाउने गरेको बताइन् । उनले भनिन् “यहाँ जे छ, त्यसैमा रमाउनु बाहेक केही छैन ।”

लम्जुङकी ७१ वर्षिया शान्ति घिमिरे श्रीमानसँगै आश्रममा बस्दै आएकी छिन् । सन्तान नभएका उनीहरुको बुढेसकालसँगै बृद्धाश्रममा बितिरहेको छ । उनले भनिन् “हरेराम भन्दै भगवानको नाम जपेर चाडपर्व मनाउँछौं । आफन्त कोही छैनन् ।” उनले थपिन् “तीजमा रमाईलो गर्ने र रमाईलो हेर्ने हाम्रा दिन गए ।”

पाल्ने मान्छे नभएर बृद्धाश्रम आएका आफूहरुलाई पर्वको खासै मतलब नहुने गरेको उनको भनाई छ । सँगसँगै रहेका एक अर्काले विगतका पीडालाई साटासाट गरेर चित्त बुझाउने गरेको उनी बताउँछिन् ।

पोखराकी दुर्गा लामिछाने अहिले ७३ वर्षमा हिँडिरहेकी छिन् । परिवारमा कोही नभएपछि आठ वर्षदेखि उहाँ यहाँ छिन् । अविवाहित लामिछानेको बुबाआमा बितेपछि साहाराविहिन भएर यहाँ आईपुगेकी हुन् । उनले गहँभरी आँसु पारेर भनिन् “तीज भन्ने वित्तिकै आमा, आफन्तहरुलाई सम्झना हुन्छ ।” उनले थपिन् “अब त मिठो चोखो खान पनि स्वास्थ्यले साथ दिंदैन, चाडपर्व नआईदिए हुन्थ्यो भन्ने लाग्छ ।”

बृद्धाश्रममा ३३ जना बृद्धबद्धा रहेका छन् । नेपाल सरकारले सञ्चालन गरेको भए पनि बृद्धाश्रममा रहेकाहरुलाई वर्षभरी नै दाताहरुले विभिन्न अवसरमा सहयोग गर्ने गरेका छन् । जन्मदिन, विवाहको दिन, पुण्य तिथि पारेर खान खुवाउने, कपडाहरु दिने गरेका छन् ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरे पर्वको अवसरमा घर सम्झना नआउने गरी विशेष खानपानको व्यवस्था गर्ने गरेको बताउँछन् । उनले भने “बृद्धबृद्धाहरुको स्वास्थ्यलाई हेरेर पर्वमा विशेष खानाको व्यवस्था गर्दछौं ।” यहाँ जतिसुकै राम्रो गरे पनि तीजमा आमाहरुलाई घर र माईतीको सम्झना भने आईनै रहने गरेको उहाँको भनाई छ । राससकाे समाचार

काठमाडाैँ चक्रपथभित्रकाे एक्लाे सामुदायिक वन रानीवारीमा ६७ प्रजातिका चरा पाइन्छन्

Previous article

४०० राेपनीमा स्याउ खेति गर्दै कर्म गुरूङ, वर्षकाे ३ कराेडकाे व्यपार

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *