राजनीतिस्थानीय

क्षेत्र नं ४ लाई लिएरै एमालेभित्र राजनीति : घनचक्करमा डा. भट्टराई !

0

काठमाडौं । शनिबार सकिएको नेकपा एमाले केन्द्रीय कमिटी बैठकले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ । २२ भदौभित्र उम्मेदवारको नाम सिफारिस गरिसक्न पार्टीका तल्ला कमिटीहरुलाई निर्देशन दिएको एमालेले यसपालिको चुनावमा केही नयाँ प्रावधानहरू पनि राखेको छ ।

एमालेले पछिल्लो प्रतिनिधि सभा, प्रदेश सभा वा स्थानीय तहको निर्वाचनमा पराजित उम्मेदवारलाई यसपालि टिकट निदिने गरी मापदण्ड तय गरेको हो । एमालेले पार्टीको नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता र निर्वाचन कानुन बमोजिमको योग्यतालाई छनोट मापदण्ड बनाएको एमालेले जनाएको छ ।

एमालेले यसरी उम्मेदवार छनोटको मापदण्ड बनाइरहँदा काठमाडौं क्षेत्र नं ४ का एमाले उम्मेदवार डा. राजन भट्टराईले टिकट नपाउने अवस्था देखिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार गगन थापासँग पराजित भट्टराईले यो मापदण्ड अनुसार टिकट नपाउने भएपछि यो क्षेत्रमा कसले बाजी मार्ला भन्ने भन्ने चर्चा सुरु भएको छ ।

एकाथरीले राष्ट्रपति पुत्री उषाकिरण भण्डारीको सम्भावना रहेको तर्क गर्ने गरेका छन् भने अर्काेतिर बुढानीलकण्ठकै स्थानीय नेताहरु वा पार्टीको केन्द्रीय कमिटीका नेताहरुलाई पनि यहाँ उम्मेदवार बनाउन सक्ने अवस्था रहेको बताइएके छ । तर सम्भावना बोकेका नेताहरु गगन थापासँग चुनाव लड्न डराउने भएकोले थापासँग चुनाव लड्ने उपयुक्त पात्र नभेटिरहेको एमालेले जनाएको छ ।

यता उम्मेदवारीको मापदण्डमा फेल भएका भट्टराईलाई शनिबारसम्पन्न बैठकले नै नियमावलीको बनाउने एउटा समितिमा दोस्रो तहको जिम्मेवारी दिएको छ । बैठकले भारत प्रवासको कामलाई व्यवस्थित गर्न नियमावली निर्माण गर्ने समितिमा भट्टराईलाई सदस्यको जिम्मेवारी दिइएको छ । सांसद खगराज अधिकारी संयोजक रहेको यो समितिमा भट्टराईसँगै रमेश बडाल र हरि अधिकारी सदस्य रहेका छन् । यसरी एकातिर चुनावमा पराजितलाई निर्वाचनमा अवसर नदिने निर्णय गरेको एमालेले पार्टीकै काममा उनीहरुलाई थप जिम्मेवारी दिने निर्णय गरेको हो ।

लुपहोल टेकेर टिकट दिने सम्भावना 

त्यसो त शनिबार सकिएको बैठकले गरेको निर्र्णयमा पार्टीको केन्द्रीय कमिटीले चाहेको खण्डमा जोकोहीलाई पनि टिकट दिन सक्नेगरी केही लुपहोल राखिएको छ । अध्यक्ष केपी शर्मा ओलीसँग निकट रहेका भट्टराईले चाहेको खण्डमा त्यही लुपहोल टेकेर टिकट दिने सम्भावना रहेको एमाले अधिकारीहरु बताउँछन् ।

पछिल्लो पटक भएका कुनै पनि तहको निर्वाचनमा पराजित उम्मेदवारलाई प्रदेश वा प्रतिनिधिसभाको प्रत्यक्ष वा समानुपातिकतर्फ उम्मेदवार बनाउन नहुने निर्णय एमालेले गरेको छ । बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै एमाले प्रचार विभागप्रमुख पृथ्वीसुब्बा गुरुङले जनाधार भएका र निर्वाचन प्रयोजनलाई समेत ध्यानमा राखी अन्य पार्टीबाट प्रवेश गराइएकाहरुको हकमा भने विशेष निर्णय लिइने’ बताए । प्रत्यक्षतर्फ कति पटक उम्मेदवार भन्ने तर्क व्यवहारिक नहुने भन्दै एमालेले जित्ने सम्भावना बढी र संसदीय भूमिका प्रभावकारी भएकालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

निर्णयमा भएको यही लुपहोललाई टेकेर भट्टराईलाई टिकट दिने सम्भावना भने रहेको एमाले नेताहरुको विश्लेषण छ । यो निर्णयमा भएको ‘जित्ने सम्भावना रहेका’ र ‘जनाधार भएको’ भन्ने दुई अमूर्त शब्दावलीलाई टेकेर उनलाई टिकट दिन सक्ने सम्भावना पनि उत्तिकै देखिन्छ । तर, २०७४ मा सबैतिर नेकपा एमालेले जितेर काँग्रेस जम्मा २३ सिटमा सीमित भएको समयमा समेत नजितेका भट्टराई यो क्षेत्रमा साँच्चिकै कमजोर छन् भन्ने बुझेर पनि यस्तो नियम बनाइएको हुन सक्ने बताइएको छ ।

राष्ट्रपतिको चासो र सक्रियता 

एमाले नेताहरु एमालेले यस्तो मापदण्ड बनाउनमा राष्ट्रपति विद्यादेवी भण्डारीको समेत चासो र सक्रियता रहेको विश्लेषण गर्ने गरेका छन् । राष्ट्रपति भण्डारी आफ्नी छोरी उषाकिरण भण्डारीलाई यो क्षेत्रमा स्थापित गराउन चाहन्छिन् । त्यसको लागि उनले राजन भट्टराईको विकल्प खोज्न यस्तो मापदण्ड बनाउन आफैं पनि सक्रिय भएको बताउने गरिएको छ । भण्डारी क्षेत्र नं ४ मा राजन भट्टराई नउठ्दा निर्विकल्प उम्मेदवार रहेको बताउने गरेकी छन् । त्यसैले भट्टराईलाई उम्मेदवार नै बन्न नपाउने गरी मापदण्ड बनाएर आफ्नी छोरीलाई उम्मेदवार बनाउन भण्डारी सक्रिय रहेको एमाले अधिकारीहरु नै बताउँने गर्छन् ।

त्यसो त छोरीलाई यो क्षेत्रमा स्थापित गराउन राष्ट्रपति भण्डारीले पहिलेदेखि नै कोसिस गर्दै आएकी हुन् । यसअघि ४ नं क्षेत्रको क्षेत्रीय कमिटी विदुर विक्रम खड्कालाई कमिटीका संयोजक नियुक्त गराउनेदेखि अनेक गतिविधिमा यस क्षेत्रबारे चासो राख्नुले भण्डारी आफ्नी छोरीलाई यो क्षेत्रमा उम्मेदवार बनाउन चाहन्छिन् भन्ने मतलाई बलियो बनाएको छ ।

धेरैलाई लाग्न सक्छ यो क्षेत्रमा हार्ने चुनावको लागि भण्डारीले यति चासो दिन्छिन् ? भण्डारी छोरीले चुनाव हारे पनि राजनीतिक उचाइ बढोस् भन्ने चाहेर छोरीलाई गगन थापासँग चुनावमा लडाउन चाहन्छिन् । काँग्रेसका प्रभावशाली नेता एवं महामन्त्री समेत रहेका थापासँग उषाकिरणलाई चुनावी मैदानमा उतार्न पार्टीमा यस्तो मापदण्ड बनाइएको हुन सक्ने आकलन गर्ने गरिएको छ ।

एमाले सूत्रका अनुसार भट्टराईलाई अमेरिका, जस्ता शक्तिशाली मुलुकमा राजदूत बनाएर पठाउने वा अन्य यस्तै लाभको पदमा लैजाने भनेर उम्मेदवारी नदिन पनि पार्टिले आग्रह गर्ने तयारी गरिरहेको बताइएको छ ।

क्षेत्र नं ४ मा भाग्योदयको सम्भावना

उता केन्द्रीय राजनीतिमा लागेकाहरुले यो क्षेत्रमा टिकट नपाएको बेलामा यहीँका स्थानीयलाई भाग्योदय हुने सम्भावना समेत देखिएको छ । राजन भट्टराई र उषाकिरण भण्डारी नआउको खण्डमा यो क्षेत्रको उम्मेदवारीको लागि २ वटा विकल्प आउन सक्छन्, एउटा केन्द्रीय कमिटीका कोही चर्चित अनुहारलाई यो क्षेत्रबाट चुनाव उठाउने र अर्काे यही क्षेत्रका कुनै व्यक्तिलाई चुनावमा उठाउने । यही क्षेत्रको व्यक्तिलाई टिकट दिँदा एमालेबाट उद्धव खरेलको भाग्योदय हुने सम्भावना देखिन्छ । यद्यपि खरेल आफ्ना सहयोगीहरुसँग गगन थापा हुन्जेल यो क्षेत्रबाट आफू प्रतिनिधि सभामा उम्मेदवारी नदिने बताउँदै आएका छन् । तर, पार्टीमा उम्मेदवारी दिने योग्य व्यक्ति नहुँदा खरेलको भाग्योदय हुने सम्भावना समेत रहेको बताइएको छ ।

मन्त्री छँदा गण्डकी एमाले सांसद बस्नेतले सरकारी स्रोतबाट आफ्नै खेतमा सिँचाइ योजना बनाए

Previous article

डुबान नियन्त्रणका लागि दीर्घकालीन हल खाेजियाे, चाडपर्वकाे मुखमा कपनवासीलाइ उपहार

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *