काराेवार/अर्थतन्त्रप्रकृतिवातावरण

सामुदायिक वनले आयआर्जनदेखि घाँसदाउरा लिन घण्टौँ भौँतारिनुपर्ने बाध्यताको अन्त्य

0

हिमाली जिल्ला म्याग्दीमा विगत डेढ दशक अघिसम्म उजाड देखिएका डाँडापाखाहरु अहिले घना जङ्गलमा परिणत भएपछि उपभोक्ताहरुले वनबाटै आयआर्जन गर्नाका साथै वातावरण सन्तुलनमा पनि सहयोग पुगेको छ । विगतमा मानवीय लापरबाही, अनियन्त्रित वन फँडानी, खडेरी र डढेलोका कारणले उजाड बनेका वन जङ्गल पस्टाएर हराभरा भएपछि उपभोक्ताहरुले घाँस, दाउरा, जडीबुटी र अन्य वन पैदावरको उपयोग तथा बिक्री गरेर आयआर्जन गर्न सफल भएका बगरफाँट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिलबहादुर घिमिरेले बताए ।

वन फँडानी रोकिएर जङ्गल हराभरा हुन थालेपछि सुक्दै गएका पानीका मुहान तथा जरुवाहरुमा पनि पानी देखिन थालेको र पानीको मुहानसमेत बढेर गएको स्थानीय बासिन्दाको भनाइ छ । स्थानीय उपभोक्ताकै स्वामित्वमा रहेका सामुदायिक वनलाई अझ कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने उद्देश्यका साथ जिल्लाका सामुदायिक वन समूहरु बेलाबेलामा सामूहिक छलफलमा जुट्ने गरेका सामुदायिक वन उपभोक्ता महासङ्घले जनाएको छ ।

सरकारी स्वामित्वमा रहेको वन तीव्ररुपमा विनास हुन थालेपछि सरकारले स्थानीय उपभोक्तलाई नै वन संरक्षणमा सहभागी गराउने उद्देश्यले सामुदायिक वनको अवधारणा ल्याएपछि उपभोक्ताहरु पनि यसरी सक्रिय हुन थालेका हुन् । गाउँमा सामुदायिक वन गठन भएपछि घाँसदाउरा लिन घण्टौँ भौँतारिनुपर्ने बाध्यताबाट मुक्ति मिलेको गोश्वारा सामुदायिक वन उपभोक्ता समूहका कृष्ण रिजालले बताए ।

जिल्लामा तीन सय ६७ वन समुदायमा हस्तान्तरण भएपछि हजारौँ उपभोक्ताहरु त्यसबाट प्रत्यक्ष रुपमा लाभान्वित भएका सामुदायिक वन उपभोक्ता महासङ्घका पूर्वअध्यक्ष सीता गुरुङले बताए । सामुदायिक वनका उपभोक्ताहरु आफ्नो वनमा समयसमयमा वनका अनावश्यक बोटबिरुवा काँटछाँट गर्दछन् र त्यसैबाट उपभोक्ताहरुलाई आवश्यक काठ दाउरासमेत आउँछ ।

डिभिजन वन कार्यालयका अनुसार उपभोक्ता समिति गठन भएपछि स्थानीय उपभोक्ताहरुलाई घाँसदाउरा मात्र नभएर घर फर्निचर बनाउन आवश्यक परेको काठ पाउनका लागि पनि सजिलो भएको छ । सामुदायिक वन समूहरुले बढी भएको काठदाउरा बेचेर सामुदायिक वनको आयआर्जनमा समेत लागेका छन् । जिल्ला भित्रका कतिपय सामुदायिक वन समितिहरुले त स्थानीय विकासका लागि महत्वपूर्ण कार्यसमेत गर्दै आएका छन् ।

काठदाउरा बिक्रीबाट आम्दानी भएको सामुदायिक वन समितिको कोषको रकमबाट ग्रामीण सडक निर्माण, सामुदायिक सङ्घसंस्थाहरुलाई सहयोग, विपन्न तथा दलितवर्गलाई सहुलियत दरमा ऋण प्रवाहलगायत कामसमेत गरिएका छन् । जिल्लाका कतिपय सामुदायिक वन समूहले आफ्नो आम्दानीबाट कतिपय स्थानमा भौतिक पूर्वाधार विकासमा सघाउ पुयाउँदै आएका छन् ।

आफ्नो क्षेत्रमा खानेपानीको समस्या समाधान गर्नका लागि आफ्नै स्रोतले खानेपानी योजना निर्माणका कामसमेत सञ्चालन हुँदै आएका छन् । त्यसैगरी केही सामुदायिक वनले आफ्नो क्षेत्र भित्रको सामुदायिक वनमा उद्यानसमेत बनाएर पर्यटक आकर्षित गर्न थालेका छन् ।

राजधानी नजिक प्रकृतिदाेहनकाे विनाशकारी धन्दा !

Previous article

स्थानीय तह र प्रकृति दोहनकाे ‘कनेक्सन’

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *