विकाससमसामयिक

बल्ल तुइनमुक्त भयाे नेपाल

0

नेपाल बल्ल तुइनमुक्त भएको छ । भौगोलिक विकटताले गर्दा खोलाखोल्सी तथा ठूला नदी तर्न देशभरका विभिन्न स्थानमा बनाइएका तुइन विस्थापित गरी ती स्थानमा झोलुङ्गेपुल निर्माण गरिएका छन् ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागका अनुसार देशभर १४३ वटा तुइन रहेकोमा अहिलेसम्म १४२ वटा विस्थापित भएका छन् । ती ठाउँमा अहिले झोलुङ्गेपुल बनाइएका छन् ।  झोलुङ्गेपुलद्वारा तुइन विस्थापित गर्नुपर्ने नेपाल–भारत सिमानामा बैतडीको पञ्चेश्वरघाटमा रहेको अन्तिम तुइन पनि हटाइएको छ तर झोलुङ्गेपुल भने बनिसकेको छैन । भारत सरकारद्वारा निर्माण सहमति प्राप्त हुनेबित्तिकै झोलुङ्गेपुल निर्माण गरिने विभागले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार २८ वर्षयता तुइनबाट खसेर दार्चुलामा मात्र २५ जनाको मृत्यु भइसकेको छ । तुइनबाट दुर्घटनाको जोखिम बढी हुने र धेरै जनको क्षति पनि भएपछि तुइन हटाउन थालिएको हो । २०६७ सालमा इन्जिनियर राजेन्द्र न्यौपानेको मृत्यु भएपछि यसको तातो बढेको थियो । पछिल्लो पटक गत वर्ष ३३ वर्षीय जयसिंह धामी नेपाल–भारत सीमामा महाकाली नदीको तुइनबाट महाकालीको भेलमा पर्नुभएको थियो । सरकारले गत दुई वर्षअगाडि नै तुइन विस्थापित गरी कठिनपूर्ण यात्रा गर्नुपर्ने अवस्था अन्त्य गर्ने लक्ष्य लिएको थियो तर लक्ष्य पूरा हुन सकेको थिएन ।

२०७२ असोज २५ गते केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा देशभरका तुइन विस्थापित गरी सो स्थानमा झोलुङ्गेपुल निर्माण गर्ने निर्णय भएको थियो । तर उनको दोस्रो कार्यकालमा पनि सबै तुइन विस्थापित हुन सकेनन् ।  तैपनि यसको जसका लागि केपी ओलीको नाम अगाडि सारिन्छ र त्यसको विरोध पनि हुने गर्छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भई बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनाल र केपी ओलीबीच मनमुटाव हुँदा ओलीको पालामा भएका कामको आलोचना भएको थियो ।

त्यसैबेला नै झलनाथ खनाल प्रधानमन्त्री भएका बेला गरिएका कामको विवरण सार्वजनिक गरी तुइन विस्थापनको काम आफूले थालेको दाबी झलनाथ खनालले गरेका थिए । ‘प्रधानमन्त्री झलनाथ खनाल सरकारका प्रमुख काम र उपलब्धिहरू (२०६७ माघ २०–२०६८ भदौ ११ गते)’ शीर्षकमा प्रकाशित पुस्तिकामा पृष्ठ ७४ मा उल्लेख भएअनुसार ‘देशभरका तुइन सरकारले खरिद गरी त्यस्ता ठाउँमा झोलुङ्गेपुल निर्माण गर्ने कार्य अभियानका रूपमा सुरु भएको’ हो ।

तर त्यसरी काम सुरु भएको चार वर्षपछि २०७२ मा केपी ओलीले आफू प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै फेरि दुई वर्षभित्र तुइन विस्थापन गरिसक्ने भनी गर्नुभएको थियो । तर उनी दोस्रो पटक प्रधानमन्त्री भएको तीन वर्षमा पनि विस्थापन हुन नसकी बल्ल अहिले आएर १४२ वटा तुइन विस्थापन भएका हुन् ।

स्थानीय पूर्वाधार विभागका उपमहानिर्देशक एवं प्रवक्ता महेश अर्यालले बल्ल अहिले आएर पहिचान भएजति सबै स्थानमा तुइन विस्थापित गरी सो स्थानमा झोलुङ्गेपुल निर्माण भइसकेको बताए । तर कतिपय स्थानमा अझै पनि तुइन रहेको भन्ने कुरा पनि आउने गरेको छ । प्रवक्ता अर्यालले भने त्यसलाई अस्वीकार गर्दै भने, “तुइन विस्थापित गरिएका कतिपय स्थानका दायाँबायाँ तुइनका लठ्ठा हुन सक्छन् । तुइन बाढीले बगाएर खोलाकिनारमा लठ्ठा अड्किएको पनि हुन सक्छ । त्यस्ता लठ्ठालाई स्थानीयले अस्थायी तुइन बनाएर चढ्ने गरेका पनि हुन सक्छन् । तर ती तुइन होइनन् ।”

उहाँका अनुसार सर्वसाधारणलाई पुलसम्म हिँडेर जान बाटो घुम्नुपर्ने भएकाले कतिपय स्थानमा स्थानीयले अस्थायी तुइन बनाएर खोला तर्ने गर्ने गरेको हुन सक्छ । तर कहाँ–कहाँ अस्थायी तुइन बनेका छन् भन्ने विभागसँग यकिन तथ्याङ्क उपलब्ध छैन ।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका सिनियर डिभिजनल इन्जिनियर गौरी श्रेष्ठले बल्ल आएर पहिचान भएका सबै तुइन विस्थापित भइसकेको बताए । उनले भने “अझै पनि कहीँ कतै तुइन विस्थापित गरी सो स्थानमा झोलुङ्गेपुल बनाउनुपर्ने भए विभागलाई जानकारी गराउन आग्रह गरेका छौँ ।”

उहाँले अस्थायी तुइन बनाएका स्थानमा सम्बन्धित स्थानीय सरकारले अनुगमन गरी जोखिमपूर्ण यात्रा गर्नमा रोक लगाउनुपर्ने सुझाव दिनुभयो । तुइन विस्थापित गरी झोलुङ्गेपुल निर्माण हुँदा नदी,  खोल्साखोल्सी तरितराउका लागि सहज भएको, स्थानीय नागरिकका लागि यातायात सुविधा उपलब्ध भएको, हाटबजार, शिक्षा, स्वास्थ्य, प्रशासनिक सेवा, सामाजिक र सांस्कृतिक केन्द्रमा पहुँच अभिवृद्धि भएको छ । बालबालिकालाई तुइन तरेर विद्यालय जानुपर्ने परिस्थिति अन्त्य भई पुलबाटै आवतजावत गर्न सकिने अवस्था बनेको विभागले जनाएको छ । गाेरखापत्र

कपिलवस्तुमा किलाेकाे लाखाैँ पर्ने बहुमुल्य अगरउडकाे खेेती

Previous article

प्रदीप गिरिः जसले केपि ओलीलाइ पनि आर्यघाट पुर्याए !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *