हिन्दुहरूको विश्वासर मान्यताअनुसार भगवान विष्णुको दशौँ अवतारमध्येका एक हुन्– कृष्ण। मत्स्य, कुर्म, बराह, नृसिंह, वामन, बलि, परशुराम, राम, कृष्ण, बुद्ध र कलीलाई दसावतार मानिन्छ। अवतारको क्रमअनुसार कृष्ण आठाैँ अवतारमा पर्छन्।
भाद्र कृष्ण अष्टमी तिथिमा उनको जन्म भएको थियो। त्यसैको स्मरणमा यो दिनमा जन्माष्टमी मनाइने प्रचलन छ। उनको जन्मराशि वृष र नक्षत्र रोहिणी परेकाले केही वैष्णव सम्प्रयादयका अनुयायीले जन्माष्टमी रोहिणी नक्षत्र परेको रहेनछ भने जुन दिन भाद्र कृष्णमा त्यो नक्षत्र पर्छ त्यसै दिन व्रत,उपासना, जन्मोत्सव मनाउने प्रचलन पनि छ भनिन्छ। त्यसको पुष्टि र जानकारी तत् सम्प्रदाय हुनेछ भन्ने लाग्छ।
कृष्ण युगपुरुष हुन्। उनी अद्वितीय छन्। उनको जीवन संघर्षमय पनि छ। कारागारमा जन्म लिनु, बाबु आमासँग विच्छेद हुनु, यशोदा र नन्दबाबाको घरमा बाल्यकाल बिताउनु, पुतना, बकासुर, केसी, वृषासुर र कंशको बध गर्नु, सभामा हुर्मत लिएकी यदुवंशकी कुलवधू द्रौपदीको संरक्षण गर्नु, महाभारतको युद्धमा आफ्ना सखा अर्जुनको सारथि भएर लड्नु आदि उनको विविध भूमिका छ। गीतामा अर्जुनलाई देखाएको उनको जुन स्वरूप छ त्यही उनको रूप हो अर्थात् उनी विराट छन्।
निश्चय पनि जीवन र समय एउटै गतिमा हिँड्दैन। तालमेल राख्दैन। कृष्णको अन्तिम अवस्थाले यसैको पुष्टि गर्छ। त्यत्रो युद्ध कौशल र ज्ञान भएका कृष्णको अन्त्यकाल कति एकांकी ? न कुनै मित्र नाता, न कुनै परिवारजन, सब छुटेका छन्। नितान्त एक्लो। आफ्नै यादववंश र पुत्रको विनाशलाई उनले रोक्न सकेनन्। अन्त्यमा महाभारत युद्ध समाप्त भएको ३६औँ वर्षपछि जरा नामको सिकारीको वाण पैतालामा लागेर उनको अन्त्य हुन्छ।
धर्मशास्त्रका ज्ञाताहरूले यो हुनुको कारण धृतराष्ट्र पत्नी गान्धारीको श्राप वा उत्तङ्क ऋषिको कोप आदि–इत्यादिलाई लिने गर्छन्। जीवनको एउटै ताल र लय कसैको पनि हुँदैन। बलशाली पनि असहाय हुन सक्छन्, असहाय पनि बलशाली बन्छन् भन्ने कुराको बोध कृष्णको जीवनले दिएको छ। यसको बोध गराउन सक्यो भने जन्माष्टमी मनाउनुको सार्थकता अझ बढ्नेछ ।
Comments