वातावरणविकाससमसामयिक

सार्वजनिक जमिनमा हुर्कँदै बढ्दै गरेकाे वन

0

विराटनगर महानगरपालिका–८, सिङ्घिया खोला किनारमा रहेको स्वस्थानेश्वर महादेव मन्दिरअगाडिको जग्गा दुई वर्षअघिसम्म गाईबस्तुको चरनक्षेत्र थियो । मन्दिरआसपासको जग्गा अहिले वन भएको छ ।विराटनगरस्थित सब–डिभिजन वन कार्यालयले गौरचणमा रोपेको बिरुवा हुर्किएपछि अहिले वन बनेको हो । वनमा खरायोलगायतका जनावर पनि भेटिन थालेका छन् । सोही वर्ष विराटनगर महानगरपालिका–१८, सिङ्घिया खोलाको किनार जतुवामा रोपिएका बाँसका बिरुवा पनि हुर्किएका छन् । दुई वर्षअघि ग्रामथान गाउँपालिका–१ को आदिवासी हरियाली क्षेत्रमा रोपिएका बिरुवा पनि हुर्किएका छन् ।

मोरङको दक्षिण क्षेत्रको दुई सय ३२ हेक्टर सार्वजनिक जग्गामा रोपिएका बिरुवा हुर्केर वन बन्दै छ । मन्दिर, विद्यालय, मसानघाट, नदी किनारमा लगाइएका बिरुवा हुर्किएर वन बनिरहेको सब–डिभिजन वन कार्यालय प्रमुख परमेश्वर पासवानले बताए । ‘समुदायको सहभागितामा रोपिएका बिरुवा हुर्केका छन्,’ उनले भने, ‘वनको उपभोग समुदायले नै गर्छ ।’

पासवानका अनुसार ऐलानी जग्गामा समुदायको सहभागितामा वृक्षरोपणको अभियान चलिरहेको छ । मोरङको दक्षिणी क्षेत्रमा वन छैन । दक्षिणी क्षेत्रमा वन विस्तारका लागि खाली रहेका सामुदायिक जग्गामा बिरुवा  रोप्ने अभियान सुरु गरेको उनले बताए । ‘मोरङको उत्तरी क्षेत्रमा मात्रै ठूला वन छन्, दक्षिणी क्षेत्रमा वन छैन,’ उनी भन्छन्, ‘प्रदेश हरित अभियानअन्तर्गत ऐलानी जग्गामा वृक्षरोपण गरेर साना–साना वन बनाउने अभियान सञ्चालन गरिरहेका छौं ।’ सन् २०१५ मा गरिएको  सर्वेक्षणमा मोरङमा ४४ हजार पाँच सय ४० हेक्टरमा बन थियो । जुन, मोरङको क्षेत्रफलको २४ प्रतिशत हो ।

निजीको  योगदान  बढी,  किसानलाई बिरुवा निःशुल्क  

वन अधिकृत पासवानका अनुसार मोरङमा निजी वन पनि बढ्दोक्रममा छ । नगदे बालीबाट भन्दा राम्रो आम्दानी हुने भएपछि निजी वन लगाउन आकर्षण बढेको हो । उनका अनुसार मोरङमा छ  सय ५८ हेक्टरको निजी वन दर्ता भएका छन् । बिनादर्ता धेरै वन रहेको उनले बताए । ‘सबै निजी वन दर्ता भएका छैनन्,’ उनले भने, ‘दर्ता भएका छ सय ३८ छन्, नभएका दुई गुणाभन्दा बढी छन् ।’

मोरङमा उपभोक्तालाई आवश्यक पर्ने काठ ८० प्रतिशत निजी वनबाट आपूर्ति भइरहेको उनको भनाइ छ । वनले जीविकोपार्जनमा पनि मद्दत पुगेको उनले बताए । मोरङ ग्रामथान गाउँपालिका १, तेतरलाल माझीले आफ्नो १.२२ हेक्टर जग्गामा बिरुवा लगाएका छन् । ‘खेती गर्दा जन (कामदार) पाइँदैन, सिँचाइ गर्न पनि गाह्रो छ,’ उनले भने, ‘बिरुवा लगाउँदा जन र सिँचाइको झन्झट परेन, आम्दानी पनि राम्रो हुन्छ ।’

ग्रामथान गाउँपालिका–४ मा धनीराम चौधरीले दुई हेक्टर क्षेत्रमा निजी वन लगाएका छन् । वनसँगैै लगाएको कागतीले आम्दानी दिइरहेको उनले बताए । वनसँगै उनले भैंसीपालन पनि गरेका छन् । धान उब्जनी नहुने खेतमा लगाएको वनले राम्रै आम्दानी दिइरहेको उनले बताए ।

वन विस्तारका लागि वन कार्यालयले मोरङका १९ स्थानमा नर्सरी राखेको छ । नर्सरीबाट सर्वसाधारणलाई निःशुल्क बिरुवा वितरण गरिरहेको उनले बताए ।  बिरुवा लैजाने किसानलाई वन प्राविधिकले प्राविधिक सल्लाह पनि दिएको उनले बताए ।

व्यावसायिक रूपमा बिरुवा लगाउन पूर्व–पश्चिम लाइन बनाएर रोप्नुपर्छ । वन बाली लगाउँदा लाइनदेखि लाइनको दूरी १२ फिट र बिरुवादेखि अर्काे बिरुवाको दूरी आठ फिटको हुनुपर्छ । यसरी लगाउँदा घुसुवा बालीका रूपमा अन्य कृषि बाली लगाउन सकिने पासवान बताउँछन् । बिरुवा रोपेको चार वर्षसम्म तोरी मसुरो, केराउजस्ता घुसुवा बालीको खेती गर्न सकिने उनले बताए ।

संखरापुर, कागेश्वरी र गाेकर्णेश्वरका ८ वटा वडाकाे जमिन एकिकरण गरेर नयाँ सहर बनाइने

Previous article

नेपाली चिया किन्ने तयारीमा चीन

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *